कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धारा ल्याउन गाउँलेको श्रमदान

प्रताप रानामगर

(दमौली) — घरघरमा धारा जडान गर्न तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङवासीले सामूहिक श्रमदानमा जुटेका छन् । खानेपानी अभाव भएपछि गण्डकी प्रदेश सरकारले सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी योजनाका लागि बजेट विनियोजन गरेको हो । 

धारा ल्याउन गाउँलेको श्रमदान

स्थानीय तिलिसरा थापाले घरमा खानेपानी ल्याउन श्रमदान गरेको बताइन् । ‘अहिले दु:ख गरे भविष्यमा राम्रो होला,’ उनले भनिन्, ‘श्रम गरेको २५ दिन पुगेछ । अझै कति दिन लाग्ने हो । जे होस् सबै जना मिलेर काम गर्दा रमाइलो भएको छ ।’ दसैंसम्ममा घरमा खानेपानी खसाल्ने गरी स्थानीय श्रममा खटिएका छन् । वितरण ट्यांकीबाट मुख्य र सहायक पाइपलाइनका लागि गाउँलेले श्रमदान गरेका हुन् । यसले काम तीव्र गतिमा भएको छ ।


मिछुर्लुङ धारादी खानेपानी उपभोक्ता समितिका सचिव राजेन्द्र थापाले धमाधम काम भइरहेको बताए । उनका अनुसार मुख्य र शाखा पाइपलाइन गाउँलेको श्रमदानबाट खनेर पाइप बिच्छाइसकेको छ । श्रमदानबाट शाखा लाइनबाट घरघरसम्म पाइपलाइन बिच्छाउने काम भइरहेको उनले बताए । गाउँमा ७४ धारा निर्माण गर्नुपर्नेमा ७२ बनिसकेका छन् । अब विद्यालय, समाज घरलगायत गरी सामाजिक धारा निर्माण गर्न मात्र बाँकी छ । उपभोक्ताले गर्नुपर्ने सबै काम अन्तिम चरणमा पुगेको छ । दसैंअगाडि योजना निर्माण सम्पन्न गरेर खानेपानी खुवाउने उनले बताए । खानेपानी योजना सम्पन्न भएपछि ७४ घरपरिवार लाभान्वित हुनेछन् ।


प्रदेश सरकारले स्थानीयको श्रमदानसहित एक करोड १४ लाख ८६ हजार ५ सय ४१ रुपैयाँको लागतमा गत आर्थिक वर्षमा ठेक्का दिएको थियो । गण्डकी निर्माण सेवाले ५४ लाख ६ हजार ५ सय ५८ रुपैयाँ ठेक्कामा काम भइरहेको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तनहुँका इन्जिनियर वासुदेव पौडेलले बताए । अहिलेसम्म ७५ प्रतिशत योजना काम सम्पन्न भइसकेको छ । खानेपानीको मुहान र वितरण गर्ने रिर्जभ ट्यांकी निर्माण भइसकेको उनले बताए । पाइपलाइन र घरघरमा धारा बनाउने काम सम्पन्न भइसकेको छ । मुहानको ट्यांकी १४ हजार र वितरण गर्न रिर्जभ ट्यांकी क्षमता २० हजार लिटर रहेको उनले बताए । खानेपानी योजना निर्माण सम्पन्न गर्ने ०७६ पुस १५ सम्म समयावधि भए पनि अगाडि निर्माण सम्पन्न हुने ठेकेदारले जनाएको छ ।


प्रकाशित : आश्विन १, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?