कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिरोले कालीगण्डकी कोरिडोर ठप्प

प्रकाश बराल

बागलुङ — दुई दिनदेखिको वर्षाले पहिरो खस्दा कालीगण्डकी कोरिडोर र दक्षिण बागलुङ जाने ग्रामीण सडकहरु ठप्प भएका छन् । 

पहिरोले कालीगण्डकी कोरिडोर ठप्प

कोरिडोरको दर्जनौ स्थानमा पहिरो खसेर यातायात अवरुद्ध भएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका विक्रम पौडेलले बताए । कोरिडोरमा पुल निर्माणको क्रममा जथाभावी ढुंगा उत्खनन् गर्दा बाढी पसेर २० रोपनी बढी जमिनमा लगाएको धान पुरिएको उनले बताए ।


इन्जिनियर र ठेकेदारले पर्खाल लगाइदिने सर्तमा ढुंगा उत्खनन् गरेपछि बाढीले दिशा परिवर्तन गरेर खेत पुरेको उनले आरोप लगाए ।

पहिरोले सवारी साधन चल्न सकेका छैनन् । बानपा १२ मा खसेको पहिरोले कोरिडोर छेउको एक होटल पुरिएको छ । राजु सुवेदीको होटल पुरिँदा मानवीय क्षति नभए पनि लाखौं धनमाल नोक्सान भएको छ । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार कोरिडोरमा अहिले सवारी साधन पूरै ठप्प छन् ।


सेनाले निर्माण गरिरहेको यो कोरिडोरमा दर्जनौ सवारी नियमित चल्छन् । बलेवा र जैमिनी नगरपालिकातर्फ जाने ग्रामीण सडक निर्माणाधीन छ ।


मंगलबार बिहानैदेखि कुनै पनि सवारी दक्षिण क्षेत्रमा जान सकेको छैनन् । सवारी नचल्दा अधिकांशले पर्वत सदरमुकाम कुश्मा गएर पैदल यात्रा गर्न बाध्य भएको जैमिनी–१ का तारानाथ आचार्यले बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?