१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैदीबन्दीलाई सुत्नै गाह्रो

आश गुरुङ

लमजुङ — २०२८ सालमा बनेको लमजुङ कारागारको छानोका टिनमा खिया लागेको छ । कतैकतै छानो चुहिएको छ । केही मर्मत गरेर पानी नचुहिने बनाइएको छ ।

कैदीबन्दीलाई सुत्नै गाह्रो

भुइँभाग सिमेन्टेड छ । पुरानो म्याट र पुरानै सामान्य डसना विछ्याएर कैदी र थुनुवा (बन्दी) सुत्छन् । कैदी र थुनुवा एकै ठाउँमा बस्छन् । छेवैमा शौचालय छ । काठको ढोका मक्किएको छ । ढोका नखोल्दै चौशालयको गन्ध सुत्ने ठाउँमै आइपुग्छ ।


शौचालयको सिधै पर्ने आफ्नो ओछ्यानमा कैदी नरेश विक सुतिरहेका छन् । सामान्य ज्वरोले सुतेका उनी शौचालयको गन्धले नाक थुन्छन् । दिउँसो सुत्न पनि असहज लागेको छ । ‘आफ्नो ओछ्यानै यही हो । जति गन्हाए पनि सुत्नै पर्‍यो,’ उनले भने ।


राइनासका राजन पोखरेलले कारागारका समस्या भनिनसक्नु रहेको बताए । ‘शौचालयको हालत बाहिरैबाट थाह हुन्छ । हामी नै पचहत्तर बढी हुन्छौं । बिहानको समय भएको एउटा ट्वाइलेट कसरी प्रयोग हुन्छ होला ?’ उनले भने । उनका अनुसार कोही पेटीमा, कोही गल्ली र कोही पाल टाँगेर सुत्नुपरेको छ । ‘कारागारमा विभिन्न ओहोदाका व्यक्ति, नेता, सरकारका मान्छे आउनुहुन्छ । हामी समस्या भन्छौं । समस्याको समाधान कहिल्यै भएन,’ उनले भने । चौकीदार शौचालय, पानी र सुत्ने ठाउँ अभावले कैदीबन्दीलाई निकै समस्या छ । ‘कहिलेकाहीं पालो मिलाएर सुत्नुपर्छ,’ उनले भने ।


सोमबार गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिका सांसद कारागार निरीक्षणमा आए । उनीहरूले शौचालय जाने ढोका खोले । गन्ध आएपछि एकैछिन पनि उभिन सकेनन् ।


अनि बाहिर निस्किए ।


‘कारागारमा शौचालय गतिलो छैन । म जेल बस्दा जस्तो थियो, अहिले पनि त्यस्तै रहेछ’ समितिका सदस्य एवं लमजुङकी सांसद मधुमाया अधिकारीले भनिन्, ‘यतिका व्यवस्था परिवर्तन भयो । कारागार परिवर्तन भएको रहेनछ ।’ माओवादी द्वन्द्वका बेला उनी २०५५ देखि ०५७ सम्म लमजुङ कारागारमा बसेकी थिइन ।


सरकारले कैदीबन्दीलाई दैनिक ६० रुपैयाँ र ७ सय ग्राम साँवा मनसुली चामल उपलब्ध गराउँदै आएको छ । गर्मी सिजनमा एकजोर कपडा बैशाखमा र कार्तिकमा जाडो सिजनको कपडा एकजोर उपलब्ध गराउने गर्छ । २ बर्षमा एकपटक सिरक डसना र चाडपर्व खर्चबापत दसैंमा ३ सय रुपैयाँ कैदीबन्दीले पाउँछन् ।


समितिका सभापति सांसद कृष्ण थापाले कैदीबन्दीलाई सरकारले दिने गरेको सुविधा अपर्याप्त भएको बताए । ‘बस्नखानै समस्या रहेछ । शौचालय, खानेपानीको अवस्था अपर्याप्तता र दयनीय देखियो । पूर्वाधार निकै कमजोर रहेछ’ उनले भने । गण्डकी प्रदेशका सवै कारागारको अवस्था बुझेर प्रदेश सरकार र संघ सरकारलाई बुझाइने उनले बताए ।


समितिका सदस्य एवं सांसद कृष्णबहादुर थापाले कारागारलाई सुधारगृहको रुपमा लानुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले सुधारगृह र खुल्ला कारागारको नीति सरकारले नल्याएसम्म लमजुङको मात्रै नभएर देशभरको कारागारलाई सुधार गर्न नसकिने बताए ।


जेलर विष्णुप्रसाद पौडेलका अनुसार ३५ जना क्षमताको कारागारमा ८६ कैदीबन्दी छ । महिलाकामा १० क्षमता रहेकामा ९ जना छन् । बाँकी सबै पुरुष हुन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?