कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारी भवनहरू भूक्षयको जोखिममा

दिप्ती सिलवाल

पर्वत — सदरमुकाम कुश्माका केही सरकारी संरचना भूक्षयको जोखिममा परेका छन् । वर्षेनी जमिन भासिन थालेपछि जिल्लाको मूख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयसमेत जोखिममा छ । 

विगत केहि वर्षयता वर्षातको समयमा जमिन भासिने क्रम बढिरहेको छ । पुरानो प्रशासन भवनको अधिकांस कोठा भासिएपछि नयाँ भवन निर्माण भएको छ । करिव २५ करोड रुपैयाँको लागतमा हालै निर्माणाधिन प्रशासन भवन नजिकै यो वर्ष पनि जमिन भासिएको छ ।


तत्कालिन जिल्ला विकास समिति, जिल्ला अदालत, राष्ट्रिय अनुसन्धान, लघु उर्जा, पशु, जनस्वास्थ्य र जिल्ला प्राविधिक कार्यालय रहेका भवन नै जोखिम हुनेगरि वर्षेनी जमिन भासिंदै गएको हो । जमिन भासिएपछि त्यसमाथिका पक्की र कच्ची संरचना धरापमा परेका छन् । करिव १४ रोपनी क्षेत्रफलमा बनेका प्रशासन, जिसस, तत्कालिन प्राविधिक कार्यालय, अदालत, उर्जा लगायत कार्यालयका सरकारी संरचनाका अधिकांस कोठा भासिएपछि केही कार्यालय अन्यत्रै सारिएको छ ।


तर, भासिएको जमिन पुर्ने र जोखिमका संरचना मर्मत गर्नेतर्फ सम्बन्धित निकायले चासो दिएका छैनन् । अघिल्लो वर्ष जमिनसहित पर्खाल र पक्की संरचना भासिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय र तत्कालिन पशु सेवा कार्यालयले नगरपालिका गुहार्नुपरेको थियो ।


भासिएको जमिन तत्कालका लागि पुर्न नगरपालिकाले केहि सहयोग गरे पनि धरापमा परेका स्थायी संरचना जोगाउनतर्फ ध्यान पुगेको छैन । कतिपय संरचना भासिएपछि बरु त्यसको विकल्प खोज्दै सरकारी निकायले कार्यालय नै सारेका थिए । जमिन भासिएपछि राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासनका कार्यालय नयाँ भवनमा सरेका छन् ।


दुई साताअघि समन्वय समितिको मुख्य कार्यालय रहेको क्षेत्र भासिएको छ । जिल्ला प्रहरी कार्यालयले बिपत व्यवस्थापनका लागि प्रयोग गर्दै आइरहेका केहि कोठा भासिएपछि बिपत व्यवस्थापन कार्यक्रमका सामाग्रि र जनशक्तिलाई अन्यत्रै सारिएको छ । जिल्लाभरका स्थानीय तहलाई डाकेर छलफल गर्दैआएको मुख्य हलसमेत जोखिममा छ ।


मुख्य हल नजिकैका कोठा भासिएपछि सर्वसाधारण आउजाउ गर्न समस्या परेको छ । अढाई वर्ष अघिसम्म सर्वसाधारणको अत्याधिक चाप हुने जिल्ला विकास र जिल्ला प्राविधिक कार्यालयका संरचनामा हिजोआज खासै चहलपहल छैन तर करोडौंका सरकारी संरचना भाँसिंदा सरोकारवाला भने गम्भिर नभएको देखिएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले भासिएको जमिन तत्काल व्यवस्थापन गर्न स्रोतको अभाव रहेको बताउँछन् । नयाँ प्रशासन भवन निर्माणपछि त्यहाँको पानीको निकास नहुँदा समन्वयको जमिन भासिएको उनको भनाई छ । ‘प्रशासनतिरको पानी पसेर भासिएको हो । दुईवटै भवनमा क्षती पुगेको छ,’ उनले भने, ‘भासिएको जमिन पुरेर पानी तर्काउने पहिलो विकल्प हो । बजेट पनि छैन ।’


भासिएपछि भएको क्षतीबारे पोखरास्थीत भवन डिभिजन कार्यालयलाई जानकारी गराइएको उनले बताए । भवन डिभिजनले जमिन पुर्ने र क्षतीग्रस्त संरचना मर्मत गर्न सहमत भएको समन्वय समितिले जनाएको छ । उनका अनुसार वर्षा रोकिएपछि मर्मत गरिनेछ । नयाँ भवन बनाउने कुरा पनि चलेको छ । समन्वय समितिका पदाधिकारी भने भासिएको जमिनभित्रकै संरचनामा जोखिमपुर्ण ढंगले बस्न बाध्य छन् ।


पहिला आधा दर्जन कार्यालय रहे पनि हाल यहाँ प्रशासन र समन्वय गरी दुई कार्यालयको मात्रै स्वामित्व छ । जमिन पनि प्रशासन र तत्कालिन जिविसको संयुक्त नाममा छ । दुबै कार्यालयको नाममा रहेको जग्गा र भवन ३ वर्षदेखि निरन्तर भासिए पनि दुबै पक्षले त्यसको व्यवस्थापनमा खासै सक्रियता देखाएका छैनन् ।


बरु, एकअर्कालाई दोषारोपण गरिरहेका छन् । प्रशासनको नवनिर्मित भवनको पानी ट्यांकी र जग भासिएको लामो समयसम्म व्यवस्थापन नगरेपछि स्थानीयले समेत आक्रोस पोख्न थालेका छन् । ‘भासिएपछि कोठा सार्दै कार्यालय चलाउँदै गर्छन्,’ स्थानीय किशोर सुबेदीले भने, ‘प्रशासन र समन्वयका संरचना जोगिंदैनन् भने अरुको के आश गर्नु ।’


प्रशासनले भासिएको जमिन व्यवस्थापनमा समन्वयले चासो दिनुपर्ने जनाएको छ । ‘जमिन पहिल्यैदेखि भासिएको रहेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले भने, ‘मर्मतका लागि प्रशासनले सहयोग गरेकै छ । अरु कार्यालय जस्तो विकास बजेट हुने कार्यालय हाम्रो होइन ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?