२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

चार स्थान डेंगुग्रस्त घोषणा

कुश्मा, मोदी गाउँपालिकाको तिलाहार, जलजला गाउँपालिकाको वारिबेनी र पैयुँ गाउँपालिकाको हुवासलाई डेंगुको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ
दिप्ती सिलवाल

पर्वत — जिल्लाका ४ स्थानलाई डेंगुको प्रकोप क्षेत्र घोषणा गरिएको छ । सदरमुकाम कुश्मासहित मोदी गाउँपालिकाको तिलाहार, जलजला गाउँपालिकाको वारिबेनी र पैयुँ गाउँपालिकाको हुवासलाई डेंगुको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको हो ।

चार स्थान डेंगुग्रस्त घोषणा

देशभर डेंगुको प्रकोप फैलिइरहेका बेला जोखिमयुक्त क्षेत्र घोषणा गरी सतर्कता अपनाउन सुरु गरेको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार मुख्य राजमार्ग तथा डेंगुको बढी संक्रमण देखिएको कास्की र तराईसँग निकट सम्बन्ध रहेका क्षेत्रलाई संक्रमणयुक्त क्षेत्रका रूपमा समेटिएको हो ।


संक्रमणयुक्त क्षेत्रमा जनस्वास्थ्यको टोलीले विशेष सतर्कताका साथै लामखुट्टे नियन्त्रणका विभिन्न कार्यक्रम सुरु गरेको छ ।

बजार क्षेत्रमा टायर, बोतल, फूलका गमला तथा अनावश्यक भाँडाकुँडा र पानी जम्ने खाल्डाखुल्डी भएर डेंगु सार्ने लामखुट्टेको बासस्थान बढी हुने भएकाले ती क्षेत्रमा दैनिकजसो सफाइ कार्यक्रम सञ्चालन गरिएको भण्डारीले बताए । ‘डेंगु सार्ने लामखुट्टेको जीवनचक्र एक साताको मात्रै हुन्छ,’ भण्डारीले भने, ‘एक सातासम्म पानी जमिरहने जस्तोसुकै ठाउँमा प्रकोप फैलिन सक्छ ।’


एडिज एजेप्टी नामको लामखुट्टेको पोथी जाति १५ डिग्रिदेखि माथिको तापक्रममा सजिलै बस्ने र एकपटकमा एक हजारसम्म फुल पार्ने भएकाले टायरमा जमेको पानीमा यसको फैलावट बढी हुने बताए । डेंगुग्रस्त घोषित स्थानका व्यक्तिमा डेंगुको संक्रमण देखिएको छ । ‘अहिलेसम्म पर्वत ठेगाना भएका २५ जनामा डेंगु भेटिएको छ,’ डाक्टर विष्णु भण्डारीले भने, ‘जुन क्षेत्रमा संक्रमणको खतरा बढी छ, त्यहाँ सतर्कता अपनाउन टिम परिचालित छ ।’


जनस्वास्थ्यले गाउँका स्वास्थ्य चौकी, सम्बन्धित गाउँपालिका, नगरपालिका, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविकालगायत सबैलाई डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेका बासस्थान नष्ट गर्ने अभियान चलाएको उनले बताए ।


डेंगु सार्ने लामखुट्टे एक ठाउँबाट कम्तीमा ३ सय मिटरसम्म सजिलै ओहोरदोहोर गर्ने स्वास्थ्यकर्मीले बताए । सजिलै एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने भएकाले डेंगुग्रस्त क्षेत्र घोषणा नगरिएका र लेकाली बस्तीमा समेत यसको संक्रमण फैलिन सक्छ । हरेक बस्तीमा व्यक्ति, परिवार, समुदाय, स्थानीय तह, विद्यालयलगायत सबैले लामखुट्टेको बासस्थान नण्ट गर्ने र लामो बाउला भएको कपडा लगाउन सचेतना अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


गत सातादेखि पर्वतमै डेंगुको परीक्षण थालिएकोमा एक जनामा डेंगुको लक्षण देखिएपछि उपचार सुरु गरिएको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार डेंगु र उपचारमा केही भ्रम फैलिएको भन्दै जिल्ला अस्पतालमा अहिले उपचार निःशुल्क भइसकेको बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?