कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँ छाड्दै धमाधम बजारमा

नवीन पौडेल

नवलपुर — केही वर्ष पहिलेसम्म पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरका धनबहादुर पुलामीको घर गाउँमा सबैभन्दा ठूलो र आकर्षक थियो । जस्तापाताले छाएको तीनतले घर अहिले भने रित्तै छ । काठमा धमिरा लागेको छ । आँगनको झारले दैलोसम्म पुगिनसक्नु भएको छ ।

पुर्खाले बनाएको घर छाडेर धनबहादुरलाई अन्त जाने मन थिएन । तर गाँंका सबै बजार र सुविधा उपलब्ध हुने स्थानमा बसाइसराइ सर्न लागेपछि उनले २ वर्षअघि घर छाडे । ‘घरत अझै पनि बलियो छ । बाजे बज्यैको सम्झना पुर्ख्यौली घर छाडेर अन्त जाने मन थिएन् । गाउँमा सुविधा छैन,’ उनले भने, ‘छरछिमेकी सबै सहरबजारमा झरे, परिवारका सदस्य पनि बस्न मानेनन् अनि म एक्लै बसेर के गर्नु ।’


मोटरबाटोको सुविधाका लागि रुद्रपुरगढीदेखि ३ किलोमिटर तल मोटर आउने बाटोको पहुँचमा रहेको जग्गामा घर बनाएर बसेका छन् । छोराछोरीलाई स्कुल पठाउन समस्या, बिरामी हुँदा पनि झट्टै उपचार नपाइने भएपछि धनबहादुरजस्ता धैरै परिवारले पहाडको घर रित्तै छाडेर बजार पसेका छन् ।


धौवादीका सुकुमाया थापाले पनि पुर्ख्यौली घरमा ताल्चा लगाएर पूर्वपश्चिम राजमार्गको नजिकै देवचुली नगरपालिका दलदलेको मुण्डेमा बसाइ सरेकी छन् । ‘बाटो, विजुलीको सुविधा छैन् । बिरामी भए पनि एम्बुलेन्स नपुग्ने स्थानमा छोराछोरी बस्नै मानेनन्,’ उनले भनिन्, ‘पुर्ख्यौली थलो, हावापानी राम्रो भए पनि बाध्यताले बजार आउन पर्‍यो ।’


यातायातको सुविधा नहुँदा थापाले पहिलेपहिले ६ महिनालाई पुग्ने खाद्यान्न एकै दिनमा किनमेल गरेर लैजाने गर्थिन् । वर्षातको ५ महिना सडक बन्द हुँदा खाध्यान्न संकट हुने भन्दै उनले एकै पटक खाद्यान्न लगेर पनि गुजारा चलाउँथिन् । तर छोराछोरी ठूलो भएपछि गाउँमा बस्नै मानेनन् ।


गाउँमा उत्पादन हुने अदुवा, पिडालु, तरुल बेच्नका लागि बजार आउने र सोही आम्दानीले खाद्यान्न किन्ने प्रचलन थियो । सवारी नचल्दा भारी नै बोकेर बेसी झर्ने स्थानीय अहिले सवारी सुविधा पुगे पनि बजार नै बसाइसराइ सर्ने क्रम बढ्दो छ । सवारी चले पनि वर्षातको ५ महिना बन्द हुने हुँदा पुख्यौली घर छाडेर भाडामा भए पनि बजार सर्नेक्रम बढ्दो छ ।


कोही वैदेशिक रोजगारमा गएर पैसा कमाएर बजारमा घर बनाएका छन् भने कोही सुविधाकै लागि भाडामा घर लिएर बसेका छन् । सुविधाकै कारण अहिले कावासोती र दलदलेको बजार क्षेत्रमा जनघनत्व बढेको छ । बुलिङटारका २५ वर्षीय मनोज ठेगामगर पनि कामको सिलसिलामा ३ वर्षदेखि दलदलेमा छन् । आफू बजारमा आएपछि परिवारका सदस्य पनि दलदलेमा नै ल्याए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?