कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बख्खु, हराउने चिन्ता

गुरुङ समुदायमा पाहुना आउँदा राडीपाखी ओछ्याउने चलन पुरानै हो । चाड–पर्व र जाडो मौसममा बख्खु ओड्ने चलन छ । तान घर–घरैमा भए पनि ऊनको अभाव छ ।
हरिराम उप्रेती

गोरखा — दुई सय ५० भेडाँ खर्कमा छन् । भेँडा बिक्री नहुने चिन्ता छैन । धार्चे गाउँपालिका–५ गुम्दास्थित लप्सीबोटका माइला गुरुङ भेँडा मात्र बिक्री गर्दैनन् । भेंडाका भुत्ला वर्षमा दुईपटक काट्छन् । गाउँ पठाउँछन् । ऊन गाउँमा हारालुछ हुन्छ । 

बख्खु, हराउने चिन्ता

भेडाको भुत्लाबाट स्थानीय बख्खु बनाउँछन् । भेँडाको ऊन बिक्रीबाट पनि राम्रै आम्दानी हुने माइलाकी श्रीमती राममायाँ बताउँछिन् । ‘असोज र चैतमा दुईपटक भुत्ला काटेर गाउँ पठाउनुहुन्छ,’ उनले भनिन्, ‘डेढ धार्नी भुत्ला एक बोरा चामल लिएर सटही गर्छौ ।’ श्रीमान्ले पठाएको भेडाको उनबाट राममाया बख्खु बनाउँछिन् ।


माइलासँग किनेको ऊन प्रशोधन गरेर गाउँका अन्य महिला पनि बख्खु बुन्न यतिखेर व्यस्त छन् । ‘घरका एक जनालाई बख्खु अनिवार्य हो,’ राममायाले भनिन्, ‘परिवारलाई चाहिने बख्खु आफैं बनाउँछौँ, धेरै भए बिक्री हुन्छ ।’ बख्खु बुन्न भने दुःख रहेको उनले सुनाइन् । यहाँका महिला नयाँ प्रविधिप्रति त्यति जानकार छैनन् । परम्परागत तवरले तान लगाउँछन् । केही घरमा बख्खुका तान छन् । एउटै बख्खु तयार गर्न एकदेखि ६ महिनासम्म लाग्छ । ‘घरको सबै काम सकेर फुर्सदको समयमा बख्खु बुन्ने गरेका छौँ,’ राममायाले भनिन् ।


६० टेकेकी बालमाया गुरुङले १४ वर्षकै उमेरमा बख्खु बुन्न सिकिन् । वर्षमा कम्तीमा एउटा बख्खु तयार गर्छिन् । ‘गाउँमा बख्खु नओडी बस्नै सकिन्न,’ उनले भनिन्, ‘बनाउन नसके बिक्री नहुने डर छैन, तर साह्रै झन्झट भने हुन्छ ।’ १५ देखि २० हजारसम्ममा एक बख्खु बिक्री हुने उनले बताइन् । ‘ऊन किन्नुपर्छ,’ उनले भनिन्, ‘दुःख धेरै छ, दुःख र खर्च गरेअनुसार आम्दानी राम्रो छैन ।’


भेडीगोठालाले ऊन काटेर पठाएपछि चिसो पानीमा पखालेर सुकाएपछि कोरेर सफा गरिन्छ । मसिनो पारेपछि धागो बनाइन्छ । ‘तानबाट तयार भइसकेपछि पनि तातोपानीमा माड्नुपर्छ,’ उनले भनिन् । तयार भइसकेपछि आगोको धूवाँमा दुई साता सुकाएर ओढ्ने प्रचलन पनि छ ।


फुर्सदको बेलामा बुन्ने भएकाले पनि समय धेरै लागेको वलमाया बताउँछिन् । उनले यो वर्ष २ बख्खु तयार गरिसकेकी छन् । ‘तुमे (कोट) पनि भेंडाकै ऊनबाट बन्छ,’ उनले भनिन्, ‘बख्खु त गाउँमा अनिवार्य हो, पाहुना आए पनि राडीपाखी ओछ्याउनुपर्‍यो, दुःख गरेर बनाएको बख्खु जाडोमा सारै न्यानो हुन्छ ।’


गोठालो जाँदा, काममा जाँदा, चाडपर्व र जाडो मौसममा बख्खु ओढ्ने चलन छ । भेडाको ऊनबाट तयार हुने राडीपाखी घरमा सजाउन र पाहुना आउँदा ओछ्याउने चलन छ । बख्खु पनि दुईथरी हुन्छ । एउटा सादा र अर्को दुई रङ मिसिएको । ‘भेंडाको रङजस्तो छ त्यस्तै कलर हुने भयो,’ उनले भनिन्, ‘दुई रङ मिसाएर बनाएको बख्खु राम्रो देखिन्छ ।’ धूवाँ लाग्ने ठाउँमा ९–१० दिन राखेको धागोबाट बनेको बख्खुले पानी पनि ओत्ने स्थानीय बताउँछन् । बख्खु मेलामा जाँदासमेत ओढ्ने गर्छन् ।


नयाँ पुस्ताले पनि बख्खु बुन्न चासो देखाउने गरेको स्थानीय गर्वु गुरुङ बताउँछन् । ‘सीप हस्तान्तरण हुन्छ,’ उनले भने, ‘आमा, दिदीहरूले गरेको देखेरै छोरीहरूले सिक्छन् ।’ ३ दशकअघिसम्म बिहे गर्दा बख्खु बुन्न सीप सिके नसिकेको हेर्ने प्रचलन रहेको उनी सम्झन्छन् । ‘बख्खु र राडीपाखी बुन्न जाने विवाह पक्का हुन्थ्यो,’ उनले भने । अहिले भने बुन्नेको संख्या कम हुँदै गएको छ ।


परम्परादेखिको सीप सिकेका पनि कच्चापदार्थ अभाव हुन थालेको गुनासो राख्छन् । ‘पहिलेजस्तो भेँडा पाल्नेहरू पनि छैन, भेडाको रौं पनि पाउन मुस्किल छ,’ लाप्राककी कान्छी गुरुङ भन्छिन्, ‘ऊन अभाव र बुन्न झन्झटिलो छ ।’ बख्खु बुन्नेको संख्या घटेको भन्दै पाका पुस्ताको चिन्ता छुट्टै छ ।


विशेष गरी पछिल्लो पुस्ताले बख्खुको महत्त्व नबुझेको उनीहरूको बुझाइ छ । कान्छी भन्छिन्, ‘यहाँ जाडो हुन्छ, तातोका लागि बख्खु चाहिन्छ, एक महिना लगाएर बख्खु बुन्ने झन्झट गर्नुभन्दा बजारका लुगा किन्न बढी रुचाउँछन् ।’ न्यानो हुने कपडा र प्लास्टिक नहुँदा भेडाको ऊनबाट बन्ने आकर्षक तथा परम्परागत घरेलु उत्पादन बख्खु र राडीपाखी प्रयोग हुँदै आएको छ । ‘अहिलेभन्दा पहिले उत्पादन धेरै हुन्थ्यो,’ उनले भनिन् ।


यहाँका उत्तरी क्षेत्रका अधिकांश गाउँमा बख्खु ओढ्ने प्रचलन छ । धार्चे र चुमनुब्री गाउँपालिकाका बस्तीका स्थानीय आफैं तयार गरेका बख्खु ओढ्छन् । भेडापालनमा आकर्षण बढाई आधुनिक प्रविधि भित्र्याउन सके बख्खु बुनेर राम्रो आम्दानी गर्न सकिने स्थानीयको तर्क छ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?