विदेशको संघर्षपछि स्वदेशमा तरकारी

दिप्ती सिलवाल

पर्वत — करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । 

विदेशको संघर्षपछि स्वदेशमा तरकारी

गाउँमै परिवारसँगै बसेर कतारमा जस्तै संघर्ष गर्न उनलाई जाँगर पनि चल्यो । फर्किएलगत्तै तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा साताव्यापी तालिम लिए । कतारको दुःख सम्झिँंदै व्यवसायमा तल्लीन गणेशलाई पहिलो वर्षमै उल्लेख्य सफलता मिल्यो ।


५ लाख खर्चेर ३ वटा हाइटेक टनेलमा गोलभेंडा लगाएका उनले पहिलो वर्षमै ४ लाख आम्दानी गरे । उनको जाँगरलाई गण्डकी प्रदेश सरकारले अझै हौसला दियो । गत वर्ष मोडेल फर्म साझेदारी कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ अनुदान दिएपछि उनले टनेल थपेका छन् । अहिले पाँचवटा हाइटेक टनेल छन् । चारवटामा गोलभेंडा लगाएका छन् । एउटामा मिटर बोडी ।


बेसिजनमा फलेको गोलभेंडाबाट राम्रो आम्दानी गरेको बताउँछन् । ‘एक महिना निरन्तर प्रतिकिलो सय रुपैयाँमा बेचें,’ गणेशले भने, ‘राम्रो मूल्य पाउँदा त्यसमा गरेको संघर्ष बिर्सिन्छ ।’ दैनिक ६ घण्टा तरकारी बारीमा खट्ने गणेशले मासिक ५० देखि ६० हजारसम्म तरकारीबाट मात्रै आम्दानी भइरहेको जनाए । सुरुमा कुखुरापालन व्यवसायबाट ऋण लागेपछि कतार हानिएका गणेशले ठूलै हन्डर खाएपछि मात्रै चेत खुलेको बताए ।


पकुवामा विदेशबाट फर्केर मोडेल फर्म सञ्चालन गर्ने गणेश एक्ला होइनन् । नजिकैका दीपेन्द्रबहादुर क्षत्रीले पनि विगत ११ वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएका छन् । क्षत्री पनि १३ महिना कतारमै बसेर फर्किएका हुन् । दलालले राम्रो काम लगाइदिन्छु भन्दै कतार पुगेका क्षत्री पुग्नेबित्तिकै ३५ दिन जेल परे ।


जेलपछि एक वर्ष कठिन संघर्षसाथ कतार बिताएका क्षेत्री गाउँ फर्किएलगत्तै तरकारी खेती थाले । १० टनेलभित्र गोलभेंडा लगाएका उनले गत वर्षदेखि मोडेल फर्म सञ्चालन गरेका छन् । ‘आम्दानीले ८० लाखको घर बनाएँ,’ क्षत्रीले भने, ‘तरकारीबाटै भएको आम्दानी हो । अब झन् विस्तार गर्दै छु ।’


हालसम्म ८ रोपनीमा तरकारी लगाएका क्षत्रीले ५ रोपनी थप्दै छन् । २ हाइटेक टनेल बनाइसकेका छन् । ‘अहिलेसम्म आफ्नै लगानीमा काम गरिरहेको छु,’ क्षत्रीले भने, ‘प्रदेश सरकारले सहयोग गर्ने सुनेको छु । यो वर्ष त्यहाँ प्रपोजल हाल्दै छु । सहयोग पाए खेती विस्तारमा अझै उत्साह हुन्थ्यो ।’


पकुवाकै प्रदीप तिमिल्सिना, सूर्य केसी, गोविन्द पौडेल, विश्वराज जोशीलगायत युवा व्यावसायिक तरकारी खेतीमा क्रियाशील छन् । उनीहरूलाई लगानी र प्रतिफलका आधारमा सरकारी सहयोग प्रदान गरिएको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष मात्रै पर्वत र बागलुङमा यस्ता मोडेल फर्म सञ्चालन गर्ने किसानको संख्या ८० पुगेको छ ।


सरकारले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि यस्ता फर्ममा सहयोग गरिरहेको केन्द्रप्रमुख वासुदेव रेग्मीले बताए । वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार तथा व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्न गत वर्षदेखि मोडल फर्म कार्यक्रम सुरु गरेको हो । पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ज्ञानकेन्द्र सञ्चालन भएपछि यो कार्यक्रम लागू भएको हो । एक वर्षको अवधिमा मोडल फर्म तयार गरि किसानहरूले आर्थिक लाभसमेत लिइसकेका छन् ।


कृषिको व्यवसायीककरण, यान्त्रीकरण र आधुनिकीकरण गर्न भन्दै सरकारले सुरु गरेको मोडल फर्म कार्यक्रममा युवाको उत्साहजनक सहभागिता छ । रेग्मीका अनुसार व्यावसायिक फर्म सञ्चालनका लागि आवश्यक हाइटेक टनेल, सिंचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि गत वर्षदेखि यस्तो अनुदानको कार्यक्रम सञ्चालन गरिएको छ ।


किसानको उत्साह, लगानी र प्रतिफलका आधारमा ५० देखि ७० प्रतिशतसम्म अनुदान दिइएको छ । अघिल्लो वर्ष मात्रै यसका लागि तीन करोड ४४ लाख रुपैयाँ बजेट खर्च भएको छ ।


प्राविधिकले उत्पादनको सम्भावना हेरेर मोडल फर्म बनाउन किसानलाई सहयोग गरेका हुन् । कार्यालयले विभिन्न ९ वटा बाली समेटेर नमुना फर्म सञ्चालन भएको जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?