३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लमजुङमा रेबिज ‘त्रास’

आश गुरुङ

लमजुङ — केही दिनयता लमजुङमा रेबिज ‘आतंक’ फैलिएको छ । एक स्कुले बालकको मृत्युपछि बेंसीसहर लगायत वरपर यसको सन्त्रास फैलिएको छ । कुकुरले टोकेपछि रेबिज भएको पुष्टि भएका १२ वर्षीय सोवित तामाङको उपचारका क्रममा केही दिनअघि मृत्यु भएको थियो । 

मर्स्याङदी गाउँपालिका ८ भुस्मे घर भई बेंसीसहरको अर्थली प्याराडाइज इङ्लिस स्कुलमा अध्ययनरत तामाङको गत आइतबार साँझ काठमाडौंस्थित टेकु अस्पतालमा मृत्यु भएको थियो । बिहीबार लमजुङ जिल्ला सामुदायिक अस्पताल लगिएका उनलाई अस्पतालले रिफर गरेको थियो ।


करिब १ महिनाअघि कुकुरले टोकेको बताइएको र रेबिजको लक्षण देखिएपछि टेकु अस्पताल रिफर गरिएको थियो । ती बालकलाई रेबिज लागेको टेकु अस्पतालले प्रमाणित गरेको थियो । रेबिजबाट ती बालकको मृत्युपछि उनको कक्षामा अध्ययनरत ४२ जना विद्यार्थीलाई ‘एन्टी रेबिज भ्याक्सिन’ लगाइएको छ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार अहिले दैनिक ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन आउने गरेका छन् । उनका स्कुलका अन्य विद्यार्थी, उनको घरका छरछिमेक तथा गाउँका साथीसंगीले पनि ‘एन्टी रेबिज भ्याक्सिन’ लगाएका छन् ।

उनका अनुसार पछिल्लो ५ दिनको अवधिमा मात्रै अस्पताललमा १ सय १६ जनाले एन्टी रेबिज भ्याक्सिन लगाएको उनले बताए । ‘कोही आफनै घरको कुकुरले टोक्यो भनेर आएका छन् । कोही कुकुर झुन्डिएको थियो भनेर आएका छन्,’ उनले भने, ‘अस्पतालमा एन्टी रेबिज खोप लगाउन आउनेका लागि छुट्टै ओपीडी राखेर सचेतना तथा परामर्श दिइरहेका छौं,’ उनले भने । रेबिज ‘आतंक’ फैलिएपछि रेबिजको लक्षण देखिएका कुकुरहरू मार्न थालिएको छ ।


मानिस तथा पशुलाई टोक्न थालेपछि बेंसीसहर नगरपालिकाले रेबिज लागेको शंका लागेका तथा भुस्याह कुकुर हटाउने अभियान थालेको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘मानिस डराएका छन् । हिँडदा हिँडदै टोक्लान भन्ने पीर । कुकुर नजिक पर्न गाह्रो भो,’ उनले भने । पछिल्लो २ दिनमा बेंसीसहर बजारका २० भन्दा बढी कुकुर मारिएका छन् ।


ती रेबिजका लक्षण देखिएका कुकुर हुन् । स्थानीयको समन्वय र अनुमतिमा ती कुकुरलाई मारिएको नगरपालिकाका पशु प्राविधिक हरिबहादुर धितालले बताए । उनका अनुसार रेबिज लागेका कुकुर मान्छे वा पशुलाई टोकेर आफैं मर्छन् । ती कुकुर र्‍याल काढदै, पुच्छार टाङमुनि राखेर हिँडछन । मान्छे देख्नेबित्तिकै रिसाउँछन । पानी देख्ने बित्तिकै डराउँछन् ।


नगरपालिकाले रेबिजबाट बच्न ‘माइकिङ’ समेत गरेको छ । रेबिजको सन्त्रास फैलिएपछि स्थानीय घरपालुवा कुकुरलाई ‘एन्टी रेबिज भ्याक्सिन’ दिन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पुगेका छन । केन्द्र प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार पछिल्लो ५ दिनमा २१ जनाले घरपालुवा कुकुर ल्याएर भ्याक्सिन लगाएका छन ।


‘रेबिज नसार्न हामीमा बन्ध्याकरणको सुविधा पनि छ । कुकुरलाई भ्याक्सिन लगाएर लाने गरिएको छ,’ उनले भने, ‘घरपालुवा कुकुर, बिराला जस्ता जनावरलाई भ्याक्सिन लगाउनुपर्छ । जनचेतनाको कमी देखियो,’ उनले भने ।


यसअघि जिल्लाका विभिन्न गाउँमा पनि रेबिज लागेको कुकुरले टोकेर मानिसको मृत्यु भएको थियो । पशु मरेका थिए । पछिल्लो समय बेंसीसहरमै बस्ने बालकको मृत्युपछि बेंसीसहर नगरपालिकाले सचेत अपनाउन नगरबासीमा अनुरोध गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?