'तिमी जापान, हामी रुन्छौं गाउँमा’

वैदेशिक रोजगारी र बसाइँ जाने लहरले रित्तिए गाउँ
बुढेसकालमा सन्तान साथ नहुँदा दिन काट्न कठिन
प्रकाश बराल

बागलुङ — दैवलाग्यो मायाको खालमा
हजुर जापान, म रुन्छु नेपालमा ।
जापान टोकियो,
मैले चिठी पठाकै थिएँ नि कता रोकियो । 

'तिमी जापान, हामी रुन्छौं गाउँमा’

विमलराज क्षत्री र बिमाकुमारी दुराको यो गीत बागलुङ बिहुँकोटका ८० वर्षीय कृष्णलाल कँडेलको जीवनसँग मिल्दो छ । उनका १२ सन्तान जापान छन् । उनी र उनकी पत्नी गाउँमा एक्लै दिन काटिरहेका छन् । उनका सन्तान मात्र होइन, त्यहाँका करिब दुई हजार जना जापानमा छन् । अधिकांशका बाआमा मात्र नेपालमा छन् ।


अहिले हुलाकबाट चिठी पठाउने जमाना त छैन, कुराकानी गर्न सजिलो छ । बाआमाका लागि जापान बस्नेहरूले खर्च पठाए पनि उनीहरूको स्याहार गर्ने कोही छैन । गाउँमा बस्ने सबै वृद्धावृद्धको कथाव्यथा यस्तै छ । उनीहरूको पीडा छ, ‘दैव लाग्यो मायाको खालमा, तिमी जापान हामी रुन्छौं गाउँमा ।’


उनीहरू आफू जन्मे–हुर्केको र सन्तान हुर्काएको थातथलो छोड्न मान्दैनन् । उनीहरू बरु सन्तान टाढा बसुन्, गाउँलाई माया मार्न सक्दैनन् । सन्तानले राम्रै पैसा कमाए पनि सहारा नहुँदा उनीहरू कठिन दिन काट्दै छन् । भन्छन्, ‘पैसा आफैंले हाम्रो सेवा गर्दैन । सेवा गर्ने सन्तान नै चाहिने रहेछ ।’


काठेखोला गाउँपालिका–५ बिहुँकोट कर्लिमका ८० वर्षीय कँडेल बिरामी छन् । १२ सन्तान जापानमा छन् । उनको पिसाबसम्बन्धी समस्या छ । शल्यक्रिया गरेकाले दैनिक स्याहार सुसारका लागि सहयोगी चाहिन्छ । ६८ वर्षकी पत्नी नन्दकला पनि बिरामी छन् । खाना पकाउने, घरको सरसफाइजस्ता काममा उनी खट्न सक्दिनन् ।


कृष्णलालका तीन छोरा र दुई छोरी छन् । जेठा लेखनाथ र माइला दण्डपाणि जापान गएको दुई दशक भयो । विवाह गरेकामध्ये एक छोरी पनि जापान छिन् । छोरासँगै बुहारी, नातिनातिनी पनि जापान गए । कहिलेकाहीं फोनमा कुरा हुन्छ । छोराबुहारी बोल्छन् । नातिनातिनाले जापानी भाषा बढी र नेपाली थोरै जान्ने भएकाले कृष्णलाल र नन्दकलासँग खासै बोल्दैनन् ।


कान्छा छोरा नेपालमै भए पनि गाउँमा बस्दैनन् । स्थानीय वित्तीय संस्थामा काम गर्ने कान्छी बुहारी सीतादेवी सापकोटाले बिदा मागेर आमाबाबुलाई खुवाउने र स्याहार गर्नका लागि आइन् । छोरा कृष्ण कँडेल साथमा नभएको दिन बुहारीले बिदा माग्नुपर्ने बाध्यता छ ।


जीवनभर गरेको दुःखले गाउँमा धेरै जमिन जोडेर खेतीपाती गर्दै घर बनाएर बसेका कृष्णलाल यो उमेरमा निराश छन् । छोराबुहारी जापान गए । कान्छो छोरा डेनमार्क थिए । बाबु बिरामी भएपछि फर्केर आए । उनी काठमाडौंमा व्यवसायको तयारीमा छन् ।


बाबुआमालाई कान्छो छोराबुहारीले हेरिरहेका छन् । तर, अब उनीहरू गाउँ बस्ने अवस्थामा छैनन् । घर नजिकै एउटा विद्यालय छ । त्यसमा पनि बालबालिका घटेर न्यून भइसक्यो । गुणस्तरका लागि टाढाको विद्यालय जान अप्ठ्यारो र वनको बाटो हिँड्नुपर्छ । बालबालिका गाउँमा छाड्न नसकेपछि कान्छा छोरा कृष्णले छोराछोरी सदरमुकाममा पढाउन थालेका छन् ।


गाउँका सबै सहर पसिसकेकाले खेताला पाइँदैन । खेताला अभावले उनीहरूको बारी बाँझिएको छ । फलफूलका बिरुवा मर्न थाले । भएको अन्न र फलफूल बाँदरले सखाप पारेको छ । ‘बस्ती धेरै हुँदा बाँदर आउँथेनन्, तर अहिले मान्छेलाई झम्टन्छन्,’ कृष्णलालले भने, ‘गाउँमा भालु र चितुवाको पनि बिगबिगी बढेको छ ।’ एक्लै कोही काममा निस्कन सक्दैनन् । गाईभैंसी पाल्ने चलन हराउँदै गएपछि खरबारीमा घाँस बढेको छ । घर नजिकैसम्म जंगल बनिसकेको छ । जंगली जनावरको डरले खरबारीमा घाँसदाउरा गर्नसमेत डराउनुपर्ने अवस्था छ ।


कृष्णलाल तन्नेरी छँदा कर्लिममा १ सय ८० घर थिए । बसाइँ जाने लहरले अहिले ६० घर पनि बाँकी छैनन् । ताल्चा लगाएको घरका छानामा झार उम्रेका छन् । वरिपरि झाडीले डरलाग्दो भइसक्यो । बस्ती पातलो भएपछि गाउँसम्म नियमित गाडी पनि चल्दैनन् । ‘केही वर्षअघिसम्म जिप चल्थे, अहिले बिहुँको पोखरा र लेखानी जाने जिपले मात्र कर्लिमवासीलाई लैजान्छन्,’ स्थानीय शिक्षक लीलाधर कँडेलले भने, ‘भएको सडक पनि जीर्ण छ ।’


कोही बिरामी भयो भने बोकेर लैजाने युवा र गाडीसम्म नपाइने उनले बताए । ‘कम्तीमा ३ किमि सडक राम्रो भइदिए मध्यपहाडी लोकमार्गमा जोडिन्थ्यो र सहज यात्रा गर्न पाइन्थ्यो,’ उनले भने, ‘विदेश गएकाले बाटोमा लगानी गरे पनि राम्रो हुन्थ्यो ।’ कर्लिमबाट घोडाबाँधे, लेखानी र बिहुँपोखरा पुग्ने पुराना पैदल मार्ग पनि मासिएका छन् । कृष्णलाल र नन्दकली जापान घुम्न पनि गए । एक महिना बसेर फर्किए । ‘घुम्ने जति सबै घुमियो, अब त्यहाँ बसेर के गर्नु ? ,’ नन्दकलीले भनिन्, ‘हामीलाई गाउँघर प्यारो लाग्यो ।’ छोराबुहारीले पैसा पठाउँछन् ।


तर, समयमा उपचार गर्ने, परिवारका सदस्य सबै भेला हुने सम्भावना नभएपछि कँडेल दम्पती जस्तै धेरै वृद्धवृद्धा निराश छन् । छोराछोरीको कुरा गर्दा दम्पतीले आँसु खसाल्दै भने, ‘पैसा खान मिलेन, बुढेसकालमा छोराछोरी साथमा भएनन् ।’ सुरु सुरुमा छोराछोरी जापान गएकामा रमाइलो मानेका उनीहरू अहिले एक्लो महसुस गर्छन् । ‘गाउँमा एक महिना दुःख गरे वर्षभरि खान पुग्थ्यो, जापानमा रातदिन घोटिनुपर्ने रहेछ,’ नन्दकलीले भनिन्, ‘हातखुट्टा नचलेको दिन खानै नपाइने ठाउँमा किन गए होलान् ।’


गाउँकी ५० वर्षीया विष्णुमाया कँडेलले खेतीपाती लगाउन साथी पाउन छाडेको गुनासो गरिन् । दशकअघि १५ जनासम्म महिला मिलेर धान, कोदो रोपेको उनले सम्झना गरिन् । ‘यसपालि चार खेताली पनि भएनौं,’ उनले भनिन्, ‘पहिलाको रमाइला दिन अहिले सम्झेर उराठ लाग्छ ।’ धेरै भएको दिन चार खेतालाले काम गरेको उनले बताइन् । जापान जाने मात्र नभई बसाइँ सरेर चितवन झर्ने पनि उत्तिकै छन् । धेरैले सदरमुकाममा घर बनाएर सरे । एकाध घरमा बूढाबूढी र केटाकेटी छन् ।


घर नछाडेकाले पनि बूढा भएका बाबुआमालाई कुरुवा जसरी राखेका छन् । कर्लिम आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाधर कँडेलका अनुसार वडा ५ बाट झन्डै २ हजार जना जापान बस्छन् । उनीहरूले बिहुँकोट समाज जापान नामक संस्था खोलेका छन् । त्यहाँ २ हजार ३ सय सदस्य रहेको तथ्यांक छ । बसाइँ सराइ नगर्नेमा शिक्षक बढी छन् । रोजगारी गाउँमा नभएकाले धेरैले छाडेर गएको स्थानीय सुन्तली शाहीले बताइन् । सडकको असुविधा, स्वास्थ्यचौकी, शिक्षा र सामाजिक सुरक्षाको अभावले धेरैले गाउँ छाडेको उनको भनाइ छ ।


जापान जाने र सहर पस्नेले आफ्ना छोराछोरी साथै लगेपछि विद्यालय सुनसान छन् । कर्लिम आधारभूत विद्यालयमा अहिले ८० विद्यार्थी छन् । ‘तीन सयसम्म विद्यार्थी पढाएका थियौं, अहिले घटे,’ प्रअ कँडेलले भने, ‘अझै घट्ने सम्भावना छ ।’ बसाइँ नजानेले पनि बालबच्चा सदरमुकाम लगेर पढाउन थालेका छन् ।’ जापान बस्नेले बर्सेनि करोडौं रेमिट्यान्स भित्र्याएका छन् । तर, गाउँको विकास र बसाइँ सराइ रोक्न लगानी नभएको उनले टिप्पणी गरे । अधिकांशको कमाइ घरघडेरीमा खर्च भएको छ ।


जापान गएका युवाले गाउँमा एक करोड रुपैयाँको अक्षयकोष बनाइदिएका छन् । यो कोषबाट गाउँमा हुने दैवीप्रकोप नियन्त्रण गर्न, शिक्षा, स्वास्थ्य सेवाका लागि खर्च हुन्छ । जापान गएर रोजगारी गर्न कम्तीमा कक्षा १२ पास भएको हुनुपर्छ । जाने मनस्थिति बनाएका युवाले पास भएको सर्टिफिकेट मात्र खोज्ने गरेको अमर माविका प्रअ भीष्म कँडेल बताउँछन् ।


जापान जाने र बसाइँ सर्ने लहरबाट बिहुँकै वडा ६ र काठेखोला–८ लेखानीमा पनि उत्तिकै प्रभावित छ । यहाँका पनि आधाजसो घरहरू खाली छन् । रित्तो बस्ती र जंगल बढेकाले चितुवाले गाईभैंसी खाइदिने समस्या थपिएको स्थानीय डिलाराम कँडेलले बताए । ‘गाउँमै बसेर भैंसी पाल्न खोज्दा पनि चितुवाको समस्या भयो,’ उनले भने, ‘एक्लैले खेतीपाती गर्न नसकिने भयो, पैसा तिरेर पनि खेताला पाइँदैन ।’


बिहुँकोटका वडाध्यक्ष शिवप्रसाद कँडेल वडामा सञ्चालित योजनाको उपभोक्ता समिति गठन गर्न नसक्दा खिन्न छन् । वडा ६ मा चालु वर्षका लागि ४५ योजना छनोट भएका छन् । एउटा उपभोक्ता समितिमा महिला र दलित सदस्यसहित ९ जना चाहिन्छ । ७ विद्यालय छन् । विद्यालय व्यवस्थापन समितिको सदस्य अन्य योजनाको उपभोक्ता समितिमा बस्न मिल्दैन । शिक्षक र कर्मचारी पनि उपभोक्ता समितिमा बस्न नमिल्ने प्रावधान छ ।


सबै समिति गठन गर्दा ४ सय जना चाहिने उनले बताए । अब बाँकी रहेका जनताबाट उपभोक्ता समिति गठन गर्दा बालबालिका र बूढाबूढी मात्र रहने अवस्था आएको उनको दुखेसो छ । ‘श्रमदान गर्न बूढाबूढीले गैंची र बेल्चा बोक्न सक्दैनन्,’ उनले भने, ‘पढेका तन्नेरी गाउँमा बस्दैनन् ।’

प्रकाशित : भाद्र २६, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?