कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सारंगी जोगाउँदै गन्धर्व

सम्झना रसाइली

(तनहुँ) — गाउँघर घुम्दै सारंगीको धुनमा गीत गाउने गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो । यसरी गाउँघरमा गीत गाउँदै मनोरञ्जनका साथै एक ठाउँको सूचना अर्को ठाउँमा पुर्‍याउने परम्परागत संस्कृति भए पनि अहिले यो लोप हुने अवस्थामा पुगेको छ ।

सारंगी जोगाउँदै गन्धर्व

पछिल्लो समय प्रविधिको विस्तारसँगै गन्धर्व समुदायको परम्परागत पेसा संकटमा छ । सारंगीको धुनमा गीत गाउँदै मनोरञ्जन प्रदान गरी संकलन भएको खाद्यान्न तथा रकमले जीविकोपार्जन गर्न कठिन भएपछि यो समुदाय वैकल्पिक पेसा, व्यवसायतर्फ पनि आकर्षित हुन थालेको छ । तर, भानु नगरपालिका–१ नयाँ बस्तीका गन्धर्वले भने परम्परागत संस्कृतिको संरक्षणसँगै व्यावसायिक रूपमा सारंगी उत्पादन थालेका छन् । बढ्दो आधुनिकता र प्रविधिका विकाससँगै आफ्नो समुदायको परम्परागत पुर्ख्यौली पेसा लोपको संघारमा पुगेपछि पेसाको संरक्षणका लागि सारंगी बनाउने व्यवसाय सञ्चालन गरेको ४४ वर्षीय कृष्ण गान्धारी बताउँछन् ।


उनले भने, ‘शिक्षक, वैदेशिक रोजगारी, यातायात व्यवसाय, नेपाल सरकारको जागिरलगायतका पेसा व्यवसाय गरे पनि सोचेजस्तो सन्तुष्टि पाउन नसकेपछि पुनः आफ्नै पुर्ख्यौली पेसामै फर्किएको छु ।’


गान्धारीले घरमै सारंगी उद्योग सञ्चालन गरी आम्दानी लिन थालेका छन् । करिब ३ लाख रुपैयाँको लागतमा सञ्चालित उद्योगमा ७ जनालाई रोजगारीसमेत प्रदान गरेका गान्धारीले भने, ‘उद्योगमा दैनिक १० देखि १५ सारंगी उत्पादन हुन्छ । गन्धर्व टोलमा रहेका २५ घरधुरीका गन्धर्वले पनि सारंगी निर्माणसँगै गाउँघर, बसमा सारंगीको धुनमा मीठो गीत गाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।’


कुनै समय गाउँघर डुली सारंगीको बजाएर सर्वसाधारणलाई मनोरञ्जनका साथै सूचना प्रदान गरेर संकलित खाद्यवस्तु तथा नगदले जीविकोपार्जन हुन्थ्यो । राजमार्गमा सञ्चालन हुने यात्रुबाहक बस तथा पर्यटकीय क्षेत्रमा सारंगी र गीत गाएर पैसा संकलन गर्ने परम्परा कायमै रहे पनि गाउँघर डुल्ने क्रम भने लोप भएको छ । आर्थिक अवस्था कमजोर भएकाले आधुनिक डिजाइनका सारंगी उत्पादनका लागि मेसिन खरिद गर्न नसकेको कृष्णले बताए । मेसिन खरिद, सीपमूलक तालिम, काठको सहज व्यवस्थापन भइदिएमा पुर्ख्यौली पेसा र सारंगी उत्पादन गर्ने व्यवसाय सञ्चालन गर्न टेवा पुग्ने उनले बताए ।


सारंगी उत्पादनसँगै प्रत्येक दिन बेलुका एक घण्टा सारंगी बजाउने, गन्धर्व समुदायको पूजाआजा, विवाह चाडपर्वमा गाइने गीत पनि नयाँ पुस्तालाई सिकाएर संस्कृति संरक्षण गरिएको छ । ‘उद्योगबाट भाइभतिजालाई गाउँमै रोजगारी मिलेको छ । योसँगै सारंगी भनेको के हो र यसबाट कस्ता धुनहरू निकाल्न सकिन्छ भनी नयाँ पुस्तालाई सिकाउँदा परम्परागत पेसा संरक्षण पनि भएको छ,’ गान्धारीले भने ।


घरआँगनमा पुर्ख्यौली पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउँदा रोजगारीको खोजीमा भौंतारिनु नपरेको २३ वर्षीय विनोद गन्धर्व बताउँछन् । ‘गन्धर्व दाजुभाइ मिलेर धेरै सारंगी बनाएर अन्य ठाउँमा बेच्न जान्छौं,’ उनले भने, ‘हामीले बनाएको सारंगीको बुट्टा, बनावट मन पराएर तारिफ गर्छन् । आफैंले बनाएको सारंगी बेच्दा गौरवको अनुभूति हुन्छ ।’


सारंगी काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौरहालगायत पर्यटकीयस्थलमा खपत हुने गरेको छ । तीनवटा आकारमा सारंगी बन्ने र ठूलोलाई १५ सय, मध्यमलाई १ हजार र सानो आकारकोलाई ५ देखि ६ सय रुपैयाँमा बिक्री गर्ने विनोदले बताए । सारंगी बकाइनो, दबदबे, छतिवन, फड्के, खिरोजस्ता काठबाट बन्ने तर आजभोलि काठ पाउनै मुस्किल भएको रमेश गान्धारीले बताए ।


प्रकाशित : भाद्र २५, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?