‘छोरो हेर्नुस्, पैसा दिनुस्’

प्रतीक्षा काफ्ले

(गण्डकी) — उमेरले वर्ष दिन कटे । हिँडडुल गर्न सक्दैनन् । न त बोल्ननै सक्छन् । अरुभन्दा फरक देखिने उनको लिटो र दूधको भरमा दैनिकी बित्ने गरेको छ । पाल्पाको रामपुरमा जन्मिएका यी बालक अनौठो छन् । उनलाई मन्दिर र मेला महोत्सवमा देखाएर पैसा उठाउने काम गरिन्छ । 

‘छोरो हेर्नुस्, पैसा दिनुस्’

आमा शुकमाया परियार मेला, महोत्सव, चाडपर्वको अवसरमा छोरा काखमा लिएर सहयोगका लागि बस्छिन् । चाडबाड त कहिल्यै नआए हुन्थ्योजस्तो हुन्छ उनलाई छोरालाई कसरी पाल्ने भन्ने एकोहोरो चिन्ता उनलाई छ । घरको आर्थिक अवस्था कमजोर छ । त्यसैले उनी सहयोग संकलनको बाध्यतामा परेकी हुन् ।


उनी यतिबेला पोखराको केदारेश्वर मन्दिर गेटमा बसेर आर्थिक संकलन गरेकी छन् । भन्छिन्, ‘साथीहरूले पोखरा आइजा तेरो छोराका लागि पैसा उठाउन सकिन्छ भनेर बोलाए । अनि आएकी हुँ । साथीहरूको सल्लाहाले नै महोत्सव र यस्तै मेलामा लैजाने गर्छु ।’


उनले छोरा अरूभन्दा फरक भएकाले पैसा उठाउन साथीहरूले सुझाएको बताइन् । शुकमायाका पति गणेश पाल्पाको रामपुरमा सिलाइकटाइको काम गर्छन् । ६५ वर्ष भएका गणेश राम्रोसँग हिँडडुल गर्न र आँखा पनि देख्दैनन् । हिँडडुल गर्न नसक्ने भएकाले नै गणेशलाई गाउँमै राखेको उनले बताइन् । शुकमाया भन्छिन्, ‘गरिरहेको काम, घरमा भएका लत्ताकपडा र सरसामग्री छोडेर हिँड्ने अवस्था थिएन । आँखा कम देखे पनि हातखुट्टाको साहाराले काम गर्नुहुन्छ । यहाँ डेरा खोजेर महँगो पैसा तिर्नुभन्दा गाउँमा बस्दा ठीक भनेर छोडेर आएकी हुँ ।’


पोखराको रत्नचोकमा बस्दै आएको बताउने उनले कोठा भाडा मासिक ४५ सय तिर्छिन् । छोरो हेरेबापत पाएको रकमले छोराको लिटो र दूधमा खर्चिने बताउँदै उनले श्रीमान्कै कमाइले अन्य खर्च टार्दै आएको बताइन् । अहिले साथमा भइरहेको छोराभन्दा जेठो शुकमायाको अर्को छोरा पनि छ । ठूलो छोरा भने सबलांग नै रहेको उनले बताइन् । जेठो छोरा भने बाबुसँग गाउँमा नै बस्दै आएको छ ।


प्रत्येक दिन सहयोग उठाउनमा नै व्यस्त रहने शुकमाया भन्छिन, ‘यो छोरा जन्मिँदा ९ सय ग्रामको थियो । तीन महिनासम्म आईसीयूमा राख्नुपर्‍यो । बाँच्ने आस मारेका थियौं । यस्तै भए पनि बाँचेको छ ।’ उनले आफ्नो छोरो मन्दिरमा र मेला, महोत्सवमा नै राख्नेजस्तो रहेको बताइन् । छोरा हेर्नेले नै सहयोग गर्ने उनको भनाइ छ ।


कतिपय मानिस छोरा हेर्नकै लागि उनको कोठामा पनि आउने गर्छन् । ‘डाक्टरले पनि खासै बच्चा सप्रिन्छ र राम्रोसँग हिँड्छ भनेका छैनन्,’ निराश हुँदै उनी भन्छिन्, ‘केही समय लाग्न सक्छ । तर, हल्काफुल्का हिँड्छ भनेका छन् । कुनै पनि डाक्टरले राम्रोसँग हिँडडुल गर्न, अन्न खान र बोलचाल गर्न सक्छ भनेर भनेनन् ।’ छोराको यो अवस्थाले उनलाई ठूलो पीडा भएको छ ।


प्रकाशित : भाद्र २५, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?