श्रममा बिचौलिया

विना थापा

(कस्की) — पोखराको राष्ट्र बैंक चोकमा पुग्नसाथ ३ जना आएर हाम्रोमा फाराम भर्नुपर्‍यो भनेपछि 
स्याङ्जादेखि आएका रनबहादुर गुरुङ अन्योलमा परे । कसको कुरा मान्नु, सबैले मिलाइदिन्छु भनेका छन् । उनी दोधारमै हिँडेर सहिदचोक पुगे ।

श्रममा बिचौलिया

त्यहाँ त झन् धेरै व्यक्ति आएर श्रमका लागि हो भनेर सोध्न थाले । हातमै समात्न आए ।उनी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृतिका लागि फाराम भर्न आएका थिए । चिनेजानेको कोही नभएपछि गुरुङ एउटा अनलाइन पसलभित्र पसे । फाराम भरे र केही रकम बुझाए । ‘आफैं फाराम भर्न जानिदैन जति लागेपनि पैसा नदिई भएन,’ उनले भने ।


यसैगरी पर्वतदेखि आएका अर्का सेवाग्राही देवजंग केसीलाई पनि ३/४ जनाले सस्तोमा मिलाउने भन्दै आफ्नो पसलमा जानका लागि आग्रह गरे । ‘आफूखुसी पसलमा जान पाउने अधिकारबाट वञ्चित भइयो,’ उनले भने, ‘मजस्ता टाढाबाट आएकालाई समस्या आउन सक्छ, यसमा सरकारले सरकारले ध्यान दिनुपर्छ ।×’ उनी कतार जानका लागि श्रम स्वीकृतिका लागि आएका थिए ।


यी उदाहरण मात्र हुन् । गण्डकी प्रदेशका ११ जिल्लाका सेवाग्राही अहिले श्रम तथा रोजगार कार्यालय पोखरामा आउने क्रममा बाटोबाटै ठगिने गरेका छन । जिल्ला प्रशासनसँगै र गण्डकी प्रदेशको अधिकांश मन्त्रालय नजिकै भए पनि यहाँ सेवाग्राही दिनदहाडै बिचौलियाबाट ठगिन्छन् । यतिसम्म कि अन्य कामले बाटो हिँड्ने पनि बिचौलियाबाट पीडित हुनुपरेको छ ।


सेवाग्राही खोजेर फाराम भर्ने ठाउँमा लगेपछि पारिश्रमिक पाउने भएकाले बिचौलिया फस्टाएका हुन् । यस्तैमध्येका एक हुन सुशील आले । उनले बाटो हिँड्ने सेवाग्राहीलाई नजिकको फाराम भर्ने पसलमा पुर्‍याइदिन्छन् । खाजा घर लेखिएको सञ्चालक अमृत अधिकारीकोमा समेत अनलाइन फाराम भरिन्छ । फाराम भर्ने बेलामै सेवाग्राहीसँग आर्थिक बार्गेनिङ गरिने पीडित बताउँछन् ।


१६ भन्दा बढी पसलमा १९ भन्दा बढी बिचौलिया भएको स्थानीय बताउँछन् । सुरुसुरुमा कार्यालय जाँदा श्रमका लागि हो भनी धेरैले बाटैमा सोधेको श्रम तथा रोजगार कार्यालय पोखराका अधिकृत विन्दुकला भण्डारीले बताइन् । यसबारे सरोकारवालाको ध्यान जानुपर्ने आवश्यक रहेको उनको भनाइ छ । फाराम आफैंले भर्न सकिने भए पनि कोसिस नगर्दा समस्या भएको उनको अनुभव छ । मोबाइलबाटै भरेर आए पनि हुनेमा सेवाग्राहीले झन्झट मान्ने उनले सुनाइन् । भनिन्, ‘श्रम अनलाइन पसल नियमअनुसार दर्ता हुनुपर्छ ।’


वडा प्रहरी कार्यालय बैदामले आइतबार १४ बिचौलियालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई बिचौलियाको भूमिका निर्वाह नगर्ने सर्तमा कागज गरि छोडिएको डीएसपी कोमल

शाहले बताए ।


प्रकाशित : भाद्र २५, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?