३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खुद्रे योजनामा रोक

सहिद लखन गाउँपालिकाले २ लाखभन्दा कम लागतका योजना कार्यान्वयन नगर्ने भएको छ 

गोरखा — सहिद लखन गाउँपालिकाले चालु आर्थिक वर्षबाट २ लाख रुपैयाँभन्दा कम लागतका योजना कार्यान्वयन नगर्ने भएको छ । गाउँ कार्यपालिका बैठकबाट खुद्रे योजनामा रकम नछुट्टाउने निर्णय गराएको अध्यक्ष रमेश थापाले बताए ।

खुद्रे योजनामा रोक

‘खुद्रे याजनाले उपलब्धि देखिएन,’ उनले भने, ‘परिणाममुखी काम गर्न बजेटको सीमा निर्धारण गरेका हौँ ।’ दुई लाखभन्दा कम रकमका योजना आवश्यक रहे समपूरक कोषको रकमले सम्पन्न गरिने उनले बताए ।


चालु वर्ष प्रायः वडाले २० योजना मात्र छनोट गरेका छन् । गत वर्ष ४०/५० योजना एउटै वडाको हुन्थ्यो । वडा २ ले त जम्मा १२ योजना मात्र छनोट गरेको छ । ठूला योजनालाई स्टिमेट र अनुगमन गर्न सजिलो हुने गाउँपालिकाको तर्क छ । शनिबार गाउँपालिकाले गत आर्थिक वर्ष गरेको कार्यक्रमको समीक्षा तथा चालु आवका कार्यक्रमका बारेमा जानकारी दिन आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष थापाले स्थानीयको आवश्यकताको आधारमा बजेट विनियोजन गरेको बताए ।


कार्यक्रममा सहभागी गाउँपालिकावासीले एम्बुलेन्स सेवा प्रभावकारी नभएको गुनासो गरे । सडक पहुँच नपुगेको ग्रामीण भेगमा स्ट्रेचरबाट बिरामी बोक्ने बाध्यता रहेको शोभा नेपालीलले बताइन् । पछिल्लो वर्षमा स्ट्रेचर खरिद गर्न रकम नछुट्टिएकोमा उनले चिन्ता जनाइन् । भनिन्, ‘सडकसम्म ल्याउन स्ट्रेचर अति आवश्यक छ, भएका पुराना स्ट्रेचर बिग्रिएसकेका छन् ।’


विकासको काम गर्दा स्थानीयसँग रायसुझाव लिन नाम्जुङका बुद्घिबहादुर खड्काले माग राखे । ‘पानी जहाँ बग्छ त्यहा कल्भर्ट राख्ने हो, तर जहाँ मन लाग्यो त्यहाँ कल्भर्ट राख्दा पानी कल्भर्टबाट बगेन, बस्तीमा भल पस्ने समस्या थपियो,’ उनले भने ।


जथाभावी डोजरले बाटो खन्ने क्रम बढ्दा खानेपानीको मूल सुक्ने र भूक्षयको खतरा बढेको स्थानीयले बताए । बर्खाले सडक बिगार्दा जोखिम मोलेर आउजाउ गर्नुपरेको मनकामनाका बलबहादुर थापाले गुनासो गरे । ‘बाटोको अवस्था कहिले सुध्रन्छ,’ उनले भने, ‘सानो पानी परे हिलाम्मे छ गाउँपालिकासम्म आउने बाटोको अवस्था हेर्नुस्, अन्यत्रको झनै कस्तो होला ।’ गाउँपालिका केन्द्र जोड्ने ढुंगगाढे–बुंकोट–नाम्जुङ–घैरुङ सडककै अवस्था नाजुक रहेकोमा सहभागीले चिन्ता जनाए ।


चुनावको वाचा नभुल्न उनले जनप्रतिनिधिलाई सचेत गराए । ‘बाटो बनाइदिन्छु, भवन बनाइदिन्छु भनेर चुनावमा भोट मागेको नबर्सिनुस्, पारदर्शी तवरले काम होस् भन्ने हामी जनता चाहन्छौँ,’ उनले भने ।


कच्ची सडक मर्मतको आवश्यकता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताए । गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘गाउँपालिकाभर पक्की सडक छैनन्, कच्ची सडकमा बाह्रै महिना गाडी चल्न गाह्रो छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा मुख्य सडकलाई सुधार गरेर बाह्रै महिना गाडी चल्ने बनाउन सडक सुधारको काम गरिनेछ ।’ चाडबाड नजिकिँदै गर्दा बर्खाको बेला खसेका पहिरो पन्छाएको र पानी बन्द भएपछि सडक मर्मत गर्ने उनले बताए । साथै गाउँपालिकाभित्रका मुख्य सडकको डीपीआर तयार भएको पनि उनले बताए ।


सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले कृषि क्षेत्रमा कम रकम विनियोजन हुने गरेकोमा असन्तुष्टि जनाए । कृषि र पशुको अनुदान एकै व्यक्तिले दोहोर्‍याएर पाउने गरेकोमा पनि सहभागीले विरोध गरे । स्वास्थ्य चौकीमा पर्याप्त औषधि नभएको तथा पर्याप्त स्वास्थ्यकर्मी नभएको गुनासो पनि गरे ।


योजनाको काम पारदर्शी नभएको, टोल विकास संस्थाको भूमिका स्ष्पट नहुँदा अन्योलमा परेको गुनासो गरे । योजना कार्यान्वयन प्रभावकारी नहुँदा गत आवमा विकास बजेट फिर्ता हुने गरेको भन्दै चालु वर्ष बेलामै काम सक्न सहभागीले गाउँपालिकालाई सचेत गराए । बाँदर आतंकले कृषि बालीमा नोक्सान पुर्‍याएको भन्दै यसको रोकथामको माग पनि स्थानीयले गरे ।


गाउँपालिकाभरि ६ हजार २ सय २५ पुनर्निर्माण लाभग्राहीमध्ये ५ हजार १ सय १५ ले घर निर्माण सकेर तेस्रो किस्ता लगिसकेको कार्यक्रममा जानकारी गराइएको थियो । प्रवलीकरणका आठ सय २९ मध्ये ३१२ ले पहिलो किस्ता लगे पनि दोस्रो किस्ता एक जनाको पनि सिफारिस भएको छैन । प्रवलीकरण लाभग्राहीले घर मर्मतमा चासो नराखेको तथ्यांकले देखाएको छ । प्रवलीकरणबाट पूर्ण लाभग्राहीमा ८ जना परिवर्तन भएको पनि गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले विपन्न महिलाहरूलाई प्रोत्साहनस्वरूप जनही पाँच हजारका दरले पोषण भत्ता प्रदान गरेको, एक गाउँ एक कृषि उत्पादनलाई जोड दिएको, केरा, च्याउ र माछाको पकेट क्षेत्र विस्तार गरी कृषकलाई प्रोत्साहन गरेको पनि गाउँपालिका अध्यक्ष थापाले बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?