३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विदेशको जति गाउँमै कमाइ

प्रकाश बराल

बागलुङ — उनको उमेर समूहका धेरै युवा विदेश गए । कतिले सदरमुकाममा घर बनाएर बसे । कतिपय बसाइ सरेर चितवन झरे । बागलुङ नगरपालिका–५ मालिकाका नन्दलाल सापकोटाले भने गाउँमै मिहिनेतको बाटो रोजे । बाबु टीकाराम सापकोटाले देखाएको बाटो बिराएनन् ।

विदेशको जति गाउँमै कमाइ

त्यसैले अहिले गाईभैंसी पालेर रमाएका छन् । पशुपालनमा रमाएका मात्र छैनन्, वार्षिक १० लाखभन्दा बढी कमाइ गर्न पनि सफल भएका छन् ।


परम्परागत रूपमा पालिएको गाईभैंसीलाई व्यावसायिक बनाउन मालिकाबाट बागलुङ बजार नजिकै सरे । ५१ वर्षका सापकोटा र श्रीमती गीताले २० रोपनी जमिन भाडामा लिए । भाडाको जग्गामा २ गोठ बनाएर १८ जर्सी गाई र १२ मुर्रा भैंसी पालेका छन् । सुरुमा थोरै लगानीबाट थाले पनि ९ वर्षदेखि सापकोटा दम्पतीले ४० लाखभन्दा बढी लगानी गरिसकेका छन् ।


सापकोटा भारतमा रोजगारीका सिलसिलामा ७ वर्ष बसे । विवाहपछि विदेश जाने मोह त्यागे । मालिकामा गाई पालेर दूध बेच्दा बजार टाढा भएपछि उनले बजार नजिक झर्ने निधो गरे । दम्पती दैनिक फार्ममा खट्छन् । दैनिक १ सय लिटर दूध उत्पादन हुन्छ ।

औसतमा ९० रुपैयाँ लिटरमा दूध बिक्री हुन्छ ।


दूध घरघरै पुर्‍याइदिन ४ युवालाई रोजगारी दिएका छन् । हरेकले प्रतिदिन एक हजार रुपैयाँ ज्याला पाउँछन् । ‘बिहान र बेलुकी दूधको कारोबार गरे पनि दिउसो घरमै काम गर्न पाएका छौं,’ दूध बिक्री गर्ने नारायण शर्माले भने, ‘घरमै बसेर मासिक ३० हजार कमाउने रोजगारी पाएको छु ।’ वितरकलाई मासिक ३० हजार तलब दिएको समेत खर्च कटाएर वर्षको १० लाख रुपैयाँ नाफा कमाउन सकेको सापकोटाले बताए ।


नाफाबाटै सापकोटाले बागलुङ–३ पाखाथरमा घर बनाएका छन् । छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । ‘साथीको साथ लागेर जापान नगएको ठीकै भयो । घरमै बसेर राम्रो कमाइ गर्दा सन्तुष्ट छु,’ उनले भने, ‘मिहिनेत गर्दा यहाँबाटै मनग्ये कमाइ गर्न सकिँदोरहेछ ।’ उनको मिहिनेतकै कारण पशु सेवा अस्पताल तथा विज्ञ केन्द्रले १० लाख अनुदान दिएको छ ।


मिहिनेत गरेको र उत्कृष्ट किसानको रूपमा चिनिएपछि युवालक्षित स्वरोजगार कार्यक्रमको पशु विकास अनुदान दिइएको पशु विकास अधिकृत नीलकण्ठ शर्माले बताए । ‘वास्तविक किसानलाई नगदै अनुदान उपलब्ध गराइएको छ,’ शर्माले भने, ‘अनुदान पूर्ण सहयोग भएको छ ।’ किन्नैपर्ने दानाबाहेक घाँस र अन्न भने उनले बारीमै फलाउँछन् । कतिपय स्थानीय किसानकै उत्पादन खरिद गर्छन् ।


गोठमा डेढ लाख रुपैयाँ पर्ने गाई र २ लाख रुपैयाँसम्म पर्ने भैंसी छन् । ती भैंसीले १० लिटरसम्म दूध दिन्छन् । उनले एउटा राँगो पनि पालेका छन् । गोठका भैंसीबाहेक गाउँमा समेत राँगो पुर्‍याइदिने काम गर्छन् उनले । किसानले राँगो लगाएको एक हजार रुपैयाँ दिने गरेकाले त्यसबाट पनि मनग्ये कमाइ हुने गरेको छ ।


सापकोटाका ८३ वर्षीय बाबु गाउँमा बस्छन् । बेलाबेला उनको फर्म हेर्न आइपुग्छन् र काम गरेकोमा खुसी व्यक्त गर्छन् । बाबुले जापान नगएकोमा दिएको धन्यवादले काम गर्ने प्रेरणा बढेको उनको भनाइ छ । ‘बुबाले गाउँमा बस्दा गरेको मिहिनेतजस्तै मैले पनि गरेको छु, त्यसैले मन पराउनुभएको छ,’ सापकोटाले भने, ‘घरपरिवार, पशु विकास कार्यालय र आम उपभोक्ताले मन पराएकाले आर्थिक रूपमा मात्र नभई साथीभाइमा पनि धनी बनेको छु ।’ घरमै आएर दूध लैजाने पनि प्रशस्तै छन् ।


फर्ममा सापकोटाले नयाँ प्रविधि भित्र्याएका छन् । आगो फुकेर पानी तताउन नपर्ने गरी सोलार जोडेका छन् । सोलार जोडेपछि एक जना कामदारको खर्च कटौती भएको छ । ड्रममा तातेको पानी र दाना सोझै डुँडमा पुग्ने व्यवस्थाले खर्च कम भएको हो । गाईदान गर्न खोज्नेले उनको फर्मबाट गाईका बाच्छाबाच्छी किनेर लैजान्छन् । फेरि फिर्ता दिन्छन् । ‘गाई पाल्दा गोबरदेखि पिसाबसमेत खेर नजाने रहेछ, यस्तो काम छाडेर जापान गएको भए दुःख पाउने थिएँ,’ सापकोटाले भने, ‘मिहिनेत यहीं गर्नुपर्छ ।’

प्रकाशित : भाद्र २३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?