भीरभीरमा खन्दै सडक

‘भीरको बीचमा अडिएर ढुंगा फुटाउनुपर्छ । कहिलेकाहीँं एकजना साथीले समात्ने र अर्कोले काम गर्नुपर्ने हुन्छ, यहाँबाट खसेमा कोही पनि बाँच्दैन । यस्तो ठाउँमा काम गर्नु मेरो कर्ममै लेखेको होला ।’ 
आश गुरुङ

लमजुङ — पानी पर्न थालेपछि हिमाली कालो माटो बगाएर ल्याएको नार र फू खोला बढ्छ । भिरालो ठाउँमा पहिराले खोलामै पुर्‍याउँछ कि भन्ने चिन्ता उत्तिकै हुन्छ ।

भीरभीरमा खन्दै सडक

छेउछाउका भिराला ठाउँमा सडक र गोरेटो बाटो बनाउने जमात छ । उनीहरू स्थानीयबासी भने हैनन् । रुकुम, रोल्पा, सल्यानबाट आएका उनीहरू भीरभीरमा हिँड्ने बाटो बनाइरहेका छन् । नार र फु जाने बाटो कोतो नजिकै स्याउबारी भीर र हुलाकी ओडारपारि तातोपानी भीरमा सवारी गुड्ने सडक निर्माण थालिएको छ ।


कामदार डोरीको सहायताले झुन्डिएर वा काठ तेर्स्याएर सडक निर्माण गरिरहेका छन् । नार्पाभूमिको फु जाने बाटो पाँदर

क्षेत्रको भिरालो ठाउँमा गोरेटो निर्माण भइरहेको छ ।


खोलाको गड्गडाहट र पानी पर्न थालेपछि सडक तथा गोरेटो बगाउने चिन्ता उनीहरूलाई छ । खोला गहिराइमा भएकाले आवाज कम सुनिन्छ । र पनि चितवनका २२ वर्षीय विजय चेपाङ कहिले घन र गल लिएर ढुंगा फुटाउँदै छन् । एउटा खुट्टा माटो र अर्को ढुंगामा टेकेर ढुंगा फुटाइरहेका उनी हरपल आमालाई सम्झिन्छन् । किनकी उनी आङै सिरिङ हुने छंगाछुर भीरमा कुनै सुरक्षाका साधनबिना काम गरिरहेका छन् ।


बिहान ६ बजदेखि साँझ ६ बजेसम्मको उनको खटाइ छ । ‘शरीर अलि बढी चलेमा, कसैले तर्साएमा, चिप्लिएमा पनि ज्यान फू खोलामा पुग्छ’ उनले भने, ‘यहाँबाट खसे न आमा भन्न पाउँछु, न बाउ । त्यसैले आमालाई धेरै सम्झिन्छु ।’ दैनिक ७ सय रुपैयाँ ज्यालामा काम गरेको बताउने उनले खाना र खाजाको पैसा तिर्नुपर्दैन । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाईको क्याङ नजिकै काम गरिरहेका उनी हरेक क्षण आमालाई सम्झिन्छन् ।


‘भीरको बीचमा अडिएर ढुंगा फुटाउनुपर्छ । गलले ढुंगा गुल्टाउनु पर्छ । कहिलेकाहीं एकजना साथीले समात्ने र अर्कोले काम गर्नुपर्ने हुन्छ’ उनले भने, ‘यहाँबाट खसेमा कोही पनि बाँच्दैन । यस्तो ठाउँमा काम गर्नु मेरो कर्ममै लेखेको होला ।’ सल्यानका टेकेन्द्र बुढालाई भीरमा बाटो बनाउँदै गर्दा कसैसँग ठोकिन्छ कि, कसैले धकेलिदिन्छ कि भन्ने डर लाग्छ । ‘जति डराए पनि के गर्नु, पैसाको लागि काम गर्ने पर्‍यो । नत्र खान पाउँदिन ।’


रोल्पाका सुनिल मगर गत चैतमामात्रै काम गर्न आएका हुन् । २० वर्षीय उनले ७ सय रुपैयाँमा भीरभीरै बाटो बनाउने काम गर्दै आएका छन् ।


मानिस हिँड्ने बाटोलाई फराकिलो बनाउने काममा उनीहरू लागेका हुन । ‘काम त ठिकै हो । पैसा ७ सय रुपैयाँमात्र हो । काम गर्दा गाउँघरको धेरै याद आउँछ’ उनले भने, ‘भीरैभीरमा काम गरिरहँदा कहिलेकाहीं यहींबाट खस्छ कि झैं लाग्छ ।’ दसैंमा घरजाने योजना बनाएको उनले बताए । घर पुग्नमात्रै उनलाई एक साता लाग्छ ।


सल्यानका कर्णबहादुर बुढा ४४ वर्षका पुगे । श्रीमती र छोरीको पालनपोषणकै लागि उनी विकट बस्तीको भीरालो ठाउँमा काम गर्न राजी भएका हुन् । ढुंगा फुटाल्ने र भीरबाटोमा ढुंगा बिछ्याउने उनको काम हो । आएको करीब २ महिना भयो । ‘काम खोज्न कहाँ गएन । मैले धेरैचोटी भारत पुगें । पहिले ५० रुपैयाँ दिनको ज्याला । पछि डेढसय भयो । यतै (मनाङ) बढी पाइने रहेछ भनी आएँ । पैसा ठिकै हो । काम गर्ने ठाउँको के कुरा गर्नु र ।’


मनाङको चामे नजिकै कोतोबाट गोरेटो बाटो निर्माण भइरहेका पाँदरमा पुग्न डेढदिन लाग्छ । तत्कालीन राजा महेन्द्रको शासनकाल अन्त्यतिर २०२८ तिर पहिचान भएको उक्त क्षेत्रमा पहिलेको गोरेटो ट्रयाकलाई अहिले गाउँपालिकाको बजेटले केही फराकिलो बनाउने प्रयास गरिएको छ । करीब ४० जनाको टोली ठाउँठाउँमा खटिएर उनीहरूले च्याँखु नजिकैको भीरालो बाटो पहरा फोरेर बनाइसकेका छन् ।


मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले नार र फू गाउँको विकासका लागि सडक नै प्राथमिकता रहेको बताए । ‘सडकमै मात्र बजेट खन्याउँदा पनि अन्य विकास र सचेतना अभावमा पर्छ । सडकमा बजेट नहालौं विकास हुँदैन’ उनले भने, ‘हामी यसमा चिन्तनशील भएर लागेका छौं । विकासमा स्थानीय कटिबद्ध छ ।’

प्रकाशित : भाद्र २१, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?