बन्दीको एसईई दिने धोको
कास्की — ‘सानोमा पढ्ने अवसर पाइएन, आर्थिक अवस्था कमजोर थियो, मजदुरी गरेर खानुपर्थ्यो,’ बर्दियाका खुसीराम चौधरी सुनाउँछन् । परिस्थितिले २२ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा उनी कास्की कारागारमा छन् ।
बर्दियामा ४ महिना बसेका चौधरी ३ वर्षदेखि कास्की कारागारमा छन् । अहिले २५ वर्ष पुगेका चौधरी एसईई दिने धोको रहेको बताउँछन् ।
कारगारमा साउन अन्तिमदेखि सञ्चालनमा आएको प्रौढशिक्षा पढ्न थालेका छन । ‘पहिला ‘क’ पनि जानेको थिएन एक महिनाको अवधिमा आफ्नो नाम, बुबा आमाको नाम लेख्न सिक्दै छु,’ उनले भने, ‘पढाइमा निरन्तरता पाए एसईई जेलबाटै दिन सक्छु ।’ पढाइलाई निरन्तरता दिएर जेलमुक्त भएपछि जागिर खाने इच्छा उनले सुनाए । चौधरी ३ वर्ष अघि १० वर्षको जेल सजाए पाएर कारागारामा छन ।
त्यस्तै तनहुँकी २४ वर्षीया विष्णु सुनार पनि एसइइ पढ्ने धोका रहेको सुनाउँछिन् । सामान्य लेखपढ गरेकी उनी अहिले पढ्न पाउन खुशी छिन । ‘अशिक्षाले नै कारागार आउन पर्यो’, उनले भनिन्, ‘पढाइलाई निरन्तरता दिन पाए जेलबाटै एसइइ उत्तीर्ण हुने धोका छ ।’
रहर उस्तै भएको तनहुँकी नै २६ वर्षीया संगीता परियार सुनाउँछिन् । ‘घरमा अवसर नपाएकै कारण मनमा पढ्ने रहर पूरा हुने आशामा प्रौढ शिक्षा पढेकी छु’, उनले भनिन्, ‘एसईई दिने व्यवस्था कारागारले मिलाउनेछ ।’ उनीहरू दुवै जना ६ वर्ष पहिला कर्तव्य ज्यान मुद्दामा परेका हुन् । उनीहरू जेल सजाय अझै ८ वर्ष छ । ‘घरमै भए पढ्ने अवसर पाइने थिएन, यहाँ पढ्ने अवसर पाएको छु, खानबस्न पाएको छु, सीप सिके पनि पाइन्छ, जेहोस् खुसी छु,’ उनी भन्छिन् ।
प्रकाशित : भाद्र २१, २०७६ १०:३२