२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नासिँदै प्राचीन सम्पदा

संरक्षणको दायित्व बोकेका निकाय र स्थानीयको बेवास्ता
घनश्याम खड्का

म्याग्दी — सम्पदा र सभ्यताको महत्त्व नबुझ्दा जिल्लाका ऐतिहासिक मन्दिर तथा पुरातात्विक वस्तु मासिँदै गएका छन । संरक्षणको दायित्व बोकेका निकाय र स्थानीयको बेवास्ताले स्थापत्यकालको दृष्टिकोणले महत्त्व राख्ने सय वर्ष पुराना नेपाली प्रविधिबाट निर्मित मठमन्दिर, पाटीपौवा, पुराना घर तथा मौलिक प्रविधि हराउँदै गएका हुन् ।

नासिँदै प्राचीन सम्पदा

त्यस्ता ऐतिहासिक सम्पदाको जीर्णोद्वार र संरक्षण गर्नु पर्नेमा भत्काएर आरसीसी कंक्रिट मन्दिर बनाउन थालिएको छ ।


प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित) को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले सय वर्ष नाघेका मन्दिर, घर, देवालय, शिवालय आदि तथा सो ठाउँमा रहेका स्मारकको भग्नावशेषलाई ‘प्राचीन स्मारक’ र सो कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने अभिलेख, मुद्रा वा ऐतिहासिक विशिष्ट व्यक्ति बसेको घर र घरायसी सामग्री, मूर्ति, देवी देवताको मन्दिर, चैत्य, शालिक आदिलाई ‘पुरातात्त्विक वस्तु’ मानिएको छ ।


पूर्व सांसद तथा म्याग्दीको इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँका अनुसार स्थानीयमा सम्पदा तथा स्मारकको महत्त्वबारे जानकारी छैन । पुरानो वास्तुकलालाई दुरुस्त पुनर्निर्माण गर्ने सीप स्थानीय कालीगढमा नभएको र गुठी जग्गा, मन्दिरमा उठने भेटी रकमले मठमन्दिर आय स्रोतको केन्द्र बन्न थालेपछि स्वार्थ समूहले नियतबस सम्पदा/स्मारकको स्वरूप फर्ने वा ओझेलमा पार्ने गरिएको उनले बताए ।


‘तत्कालीन पर्वत राज्य कला, वास्तुकलाको हिसाबले विशिष्ठ स्वरूप भेटिँदैनन् । राजा रजौटाका दरबार, मठमन्दिर सबै सामान्य स्वरूपका देखिन्छन्,’ उनले भने, ‘जेजस्ता स्वरूपका भए पनि यी ऐतिहासिक सम्पदा हुन् । त्यही स्वरूपमा संरक्षण गर्नु पर्थ्यो तर त्यो सम्भव भएन ।’ राणाकालमा जीर्णोद्धार/पुनर्निर्माण गरिएका संरचना पनि नासिँदै गएको उनले बताए ।


धौलागिरि गाउँपालिका–७ ताकमस्थित कम्तीमा ५ सय वर्ष पुराना ऐतिहासिक एवं प्राचीन सम्पदा रहेको ताकमकोट मन्दिर ०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि स्थानीयले विभिन्न क्षेत्रमा आर्थिक सहयोग जुटाए । २ करोड २० लाखको लागतमा आरसीसी ढलान गरी यतिबेला मन्दिर निर्माण भइरहेको छ ।


‘भूकम्पले मन्दिर आंशिक भत्केपछि पुनर्निर्माण गर्न पुरातत्त्व विभागमा निवेदन लिएर गयौं । विभागले भित्री संरचना नबिगारी बाहिरी भाग पुनर्निर्माण गर्नु भनेकाले गुरुयोजना बनाई मन्दिर पुनर्निर्माण थालेका हौं,’ ताकमकोट मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले भने, ‘बलियो बनाउन आरसीसी संरचनामा मन्दिर बनाएका हौं ।’


तारापति थापा नेतृत्वमा जुम्लाबाट आएका रन्के मगर, जैचन छन्त्याल, भृगु सुवेदी, पर्वे दमाई, लामगाडे कामी र रमाकान्त पौडेलले स्थापना गरेको ताकम राज्यमा विस १२४६–१५४५ कालमा ताकमकोट मन्दिर निर्माण भएको थियो । ताकमकोट मन्दिरमात्र होइन, तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्म) ले १५६० स्थापना गरेको बेनीनगरपालिका–५ गाजनेस्थित जगन्नाथ मन्दिरको पनि स्वरूप परिवर्तन गरिएको छ ।


मन्दिरको स्वरूप परिवर्तन गरी २०३८ प्यागोडा शैलीमा पहिलो र २० वर्ष नपुग्दै स्थानीयले पुनः स्वरुप परिवर्तन गरी जगन्नाथको शिखर शैलीको आरसीसी मन्दिर बनाए । ‘मन्दिर बलियो हुने विश्वासमा आरसीसी गरेका हौं । पुरातात्विक महत्त्वबारे अनभिज्ञ छौं,’ जगन्नाथ गुठी सञ्चालक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘मन्दिर जीर्ण भएको र भारतको उडिसामा रहेको जगन्नाथको शाखा मानिएकाले उस्तै बनाउन स्वरूप फेरिएको हो ।’


शारीरिक अशक्त राजा डिम्मले कठोर आराधाना गरी सपनामा दर्शन पाएपछि आफ्नो दरबार नजिकै जगन्नाथको मन्दिर बनाएको किंवदन्ती छ । यिनै राजाको ढोलठानस्थित दरबारस्थल अस्तित्वमा छैन । दरबार रहेको स्थानमा खोतल्दा इट्टाका टुक्रा भेटिए पनि अरू अस्तित्व भेटिँदैन ।


दरबार नजिकैको देवीदुर्गा भगवतीको घतानकोट मन्दिर पनि स्वरूप परिवर्तन गरी आरसीसी ढलानको बनाइँदै छ । बेनी–५ पुलाडाँडामा अवस्थित हिन्दु धार्मिक ग्रन्थअनुसार पौराणिक राजा ऋषि पुलत्सको तपोभूमिलाई ‘पदमै’ भनिन्छ । यहाँ सांख्य दर्शनका महामुनि कपिलले तपस्या गरेको र होमकुण्डको अवशेष अझै रहेको विश्वास छ । पौराणिक मान्यताअुनसार लंकाका राजा रावणले यहाँ धार्मिक यात्रा गरेका थिए ।


पुलस्त्य ऋषिको आ श्रमको स्वरूप प्रस्ट नभए पनि प्राचीन सम्पदा ‘पुलाहा श्रम’ अहिले आरसीसी ढलानयुक्त रंगीन मन्दिर बनेको छ । ‘विस १५७०–८० तिर राजा डिम्पको दरबारमा आगलागी भएपछि यो ढोलठानामा दरबार बनाएको किंवदन्ती छ । यहाँ खन्दा पुराना इट्टाका टुक्रा भेटिन्छन् । ‘कसैले यो स्थलको संरक्षण पहल नगरेपछि अहिले खुला चौर बनेको छ’ स्थानीय चित्रबहादुर शाहीले भने, ‘पुराना इट्टाको महत्त्व हुन्छ भन्छन्, पुरातत्त्व विभागले चासो राखेर खोजे हामी संरक्षणमा सहभागी हुन्थ्यौं ।’


गुमनाम बन्दै प्राचीन स्मारक तथा सम्पदा

५ सय मिटर चौडा र करिब दुई किमि लम्बाइ क्षेत्रफलमा लम्पसार परेको बेनीमा ३ वटा एतिहासिक मन्दिर छन् । दुर्गा भगवतीको कोटमन्दिर, बेनीशिवालय र बालमुक्तिेश्वर महादेव । मन्दिर करिव ३ सय वर्ष पुराना हुन् । तर बालमुक्तेस्वर महादेव मन्दिर रैथाने जेठो पुस्ताबाहेक बेनीबासी अनभिज्ञ छन् ।


कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा अवस्थित शिव/महादेव मन्दिरका छुट्टाछुट्टै विशेषता र पहिचान छन् । तत्कालीन पर्वतका राजा मल बमले १७५४ मा मन्दिर बनाएको लिखत छन् । बेनीकोटमन्दिर मल्ल राज्यको हिउँदे राजधानी बेनीको टक्सार पनि हो । मन्दिर इँट्टाले बनेको छ ।


शिवालय मन्दिरहरू पाञ्चायन शैलीमा निर्मित छन् । मन्दिरभित्र शिवलिंग, गणेश, नारायण, भगवती आदिका शिलामूर्ति छन् । बेनीशिवालय मन्दिर खुल्लामञ्च छेउमा छ । अन्नपूर्ण गाउँपालिका–६ कालढुंगास्थित कालीगण्डकी नदीमा मिसिने उत्तरगंगा (घारखोला) को दोभानमा समकालीन पाञ्चायन शैलीमा निर्मित अर्को जलेश्वर शिवालय मन्दिर छ ।


बेनी–जोमसोम सडकको ट्रयाक खन्न ०६२–०६४ मा पोखरेमा क्याम्प गरेको नेपाली सेनाले प्राचीन मन्दिरलाई ओझेल पारेर सटाएर सिमेन्टको दुर्गा भगवतीको मन्दिर बनाइदिएको छ । सम्पदा र सभ्यताको संरक्षणले समाज अझ परिस्कृत हुन्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्दत गर्छ ।


तर, समुदायले यस्ता विषयको महत्त्व नबुझ्दा र पुरातत्त्व विभागसहित राज्यको ध्यान नपुग्दा प्राचीन स्मारक नासिन थालेका हुन् । प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घन्टालगायत महत्त्वपूर्ण सामग्री हराएका छन् । नेपाल सम्पदा सूचीमा जिल्लामा ताकमकोट (भुरे राजाको दरबार एरिया), बेनीशिवालय, बालमुक्तेश्वर महादेव मन्दिर, कोट भण्डार, जगन्नाथमन्दिर, घतान कोट र ढोलठान समेत ८ वटा मन्दिर तथा स्थानलाई प्राचीन स्मारक तथा पुरातत्त्वक वस्तुमा सूचीकृत छन् ।

प्रकाशित : भाद्र २०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?