कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पहिरोमाथिको सडकले दिनहुँ सास्ती

दिप्ती सिलवाल

पर्वत — कुश्मा–३ घुम्तीदेखि लाम्पाटा हुँदै कुश्माकै वडा नम्वर २ खुर्कोट र वडा १ पाङ जोड्ने सडक २०६५ मा राजनीतिक पहुँचका आधारमा जबरजस्ती खनियो । उतिबेला पाङ जोड्न कांग्रेस, एमाले, माओवादी र राप्रपाले छुट्टाछुट्टै सडक खनेका थिए । खुर्कोट र पाङबासीले दशकअघि सडक खन्नेक्रममै बिरोध गरेका थिए ।

पहिरोमाथिको सडकले दिनहुँ सास्ती

उतिबेला पनि दम्भाखोलादेखि लाम्पाटासम्मको वनक्षेत्रमा ठूलो पहिरो खसेको बुढापाका स्मरण गर्छन् । ‘पहिला जंगलमा ठूलो पहिरो खसेको थियो,’ स्थानीय हरिनारायण पाध्याले भने, ‘हामीले बाउसोकोदालोले खनेर हिंड्न मिल्ने बनाएका थियौं । यही सडक खनेपछि झन् बढी जोखिम भयो ।’


सडक न्यूनतम मापदण्ड पनि नपुर्‍याई खनेका कारण सवारी आउजाउ गर्न समेत मुस्किल पर्ने भिरालोमा घुम्ती बनाइएको उनले बताए । स्थानीयका अनुसार कालोपत्रेको चरणमा रहेको यो सडकमा हिजोआज पनि दिनहुँ पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो खसिरहेपछि दिनहुँ कुश्मा लगायत जिल्लाबाहिर पुग्नुपर्ने सर्वसाधारणलाई पैदल हिंड्न निकै मुस्किल परेको छ ।


यो सडक तत्कालीन सडक डिभिजन कार्यालय बाग्लुङमार्फत कालोपत्रे शुरु भएको ४ वर्ष बितिसकेको छ । डबल लेनको कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । सम्झौता अनुसार काम सुरु भएर पनि यही पहिरोका कारण सम्झौता मिति सकिएको एक वर्ष बितिसक्दा समेत काम अघि बढ्न सकेको छैन ।


कालोपत्रे ठेक्का लिएको जयबाबा गोरख ओखलढुङ्गा इन्जिनियरिङ कम्पनीले पहिरोकै कारण काम अघि बढ्न नसकेको जनाएको छ । कम्पनीका सञ्चालक डिबी तामाङका अनुसार सडकमा नाली र मेसिनरी वाल लगाएर अन्तिम चरणमा पुगेपछि ठूलो पहिरो खसेर क्षती पुगेको छ । ‘सम्झौताअनुसार बजेट नआएर एक वर्ष विभागबाटै काम रोकियो,’ तामाङले भने, ‘अब केही दिनमै कालोपत्रे सुरु गर्ने तयारी थियो । पहिरोले ५० लाख बढीको क्षति भयो । अब त्यो सक्न महिनौं लाग्छ ।’ ठूल्ठूला ढुङ्गासहितको पहिरोले ४० मिटर मेसिनरी वाल भत्किएको उनले बताए ।


सडक कालोपत्रे गर्न २०७२ फागुनमा सम्झौता भएको थियो । घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका–८ स्थित दम्भाखोलामा जोड्ने योजना छ । योजनाअनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टमेट सडक डिभिजन कार्यालयले गरेको थियो ।


२२ किलोमिटर सडक डबल लेनको १२ मिटर चौडा कालोपत्रे, ३–३ मिटर सेडब्याक, दुईतर्फी नालीको स्टमेट भएको सडक डिभिजन कार्यालय बाग्लुङका तत्कालीन डिभिजन इन्जिनियर थानेश्वर खत्रीले जानकारी दिएका थिए । तर, उक्त स्टमेटमा फेरबदल भएपछि सडकको चौडाइ घटेर ५ मिटर मात्रै चौडाइको कालोपत्रे सम्झौता भएको निर्माण व्यवसायी तामाङ बताउँछन् ।


सम्झौता अनुसार नै कुश्मा २ खुर्कोटस्थित रिठेखोलामा पक्कि पुल, अन्य ससाना खोल्सामा कल्भर्टसहितको योजनाअनुसार काम अघि बढेको ४ वर्ष पुगिसक्दा पनि सर्वसाधारणले सवारीसाधनको यात्रा परैको कुरा, पैदलै हिंड्नसमेत सकेका छैनन् । ‘पहिरालेले बाटो हिंड्नै सकिएको छैन,’ गंगादेवी शर्माले भनिन्, ‘त्यो बाटो नहुँदा २ घण्टा घुमेर केटीचौर हुँदै आउजाउ गर्नुपरेको छ ।’


कालोपत्रेको ठेक्का सुरु भएदेखि नै तत्कालीन सडक डिभिजन कार्यालयले चासो नदिंदा समस्या भएको स्थानीयको गुनासो छ । ‘सडक खन्दा खेतबारी बेचेर चन्दा हालियो,’ खुर्कोटका लक्ष्मण क्षत्रीले भने, ‘अहिले भएको सडक पनि भत्काएर बिजोग छ ।’ स्थानीय भगवती पौडेलले सडकमा पहिरोले ठूल्ठूला ढुंगा थुप्रिएपछि पैदल हिंड्न समस्या भएको बताइन् ।


संघीयता कार्यान्वयनसँगै सडक डिभिजन कार्यालय खारेज भएपछि अहिले यो सडक कालोपत्रेको जिम्मेवारी पूर्वाधार विकास कार्यालय पर्वतमा सरेको छ । पूर्वाधार विकास कार्यालयले चासो दिएपछि काम तदारुकतासाथ अघि बढेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारी बताउँछन् ।


‘पहिला रोकिएको रहेछ,’ अधिकारीले भने, ‘हाम्रो जिम्मामा आएपछि धेरै छिटो काम अघि बढेको छ ।’ काम गर्दागर्दै पहिरोले क्षति भएका संरचनाबारे केही स्टिमेट बढाउन सकिने भए पनि धेरै झन्झट हुने उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?