३३ किलो निरमसीसहित २ पक्राउ

आश गुरुङ

लमजुङ — मर्स्याङदी गाउँपालिका ३ खुदीबजारबाट प्रहरीले ३३ किलो अवैध निरमसीसहित २ जनालाई पक्राउ गरेको छ । लेकमा पाइने निरमसी लोपोन्मुख एवं बहुमुल्य जडिबुटीको रुपमा लिइन्छ ।

३३ किलो निरमसीसहित २ पक्राउ

गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङलाई पक्राउ गरिएको डीएसपी रविन्द्रमान गुरुङले बताए । उनीहरुलाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको उनले बताए । शंका लागेर चेकजाँच गर्दा भेटिएको निरमसी जोख्दा पूर्णबहादुरले बोकोको झोलामा ११ किलो र छमबहादुरले बोकेको झोलामा २२ किलो निरमसी फेला परेको उनले बताए ।


डीएसपी गुरुङका अनुसार यसअघि निरमसी यतिका मात्रामा फेला परेका थिएनन् । उनीहरुले बिना पूर्जी अवैध रुपमा निरमसी संकलन गरेको देखिएको छ । मर्स्याङदी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ । करिब १ महिनासम्म लेकमा बसेर संकलन गरेर ल्याएको निरमसी उनीहरुले विक्री गर्न बेंसीसहर लैजाने क्रममा प्रहरीले फेला परेको हो ।


सुक्दै गरेको निरमसी पुरै सुकेपछि आधा तौल घट्ने प्रहरी बताउँछ । सुकेको निरमसीलाई उनीहरुले ५ हजारदेखि ६ हजारसम्म विक्री गर्दै आएको प्रहरीलाई बताएका छन् । उनीहरुले घनपोखराको जंगलबाट संकलन गरेर ल्याएको भनेको र घनपोखरा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि एक्यापको जिम्मा लगाइने डीएसपी गुरुङले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?