कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेक्का सम्झौता तोडिँदै

एउटै सडक दुई कार्यालयले ठेक्का लगाउन नमिल्ने र ठेकेदारले समयमै काम नगरेपछि सम्झौता तोड्ने प्रक्रिया सुरु 
हरिराम उप्रेती

गोरखा — सम्झौता अवधि गुज्रँदासम्म निर्माण पूरा नभएका २ सडकको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु भएको छ । पालुङटार नगरपालिका–१ खोप्लाङको पन्थडी कटहरे हर्मी र मसानेपाटी–ठाँटीपोखरी सडकको ठेक्का तोड्न लागिएको हो । 

ठेक्का सम्झौता तोडिँदै

मसानेपाटी–ठाँटीपोखरी सडक मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ । एकै सडक दुई कार्यालयले ठेक्का लगाउन नमिल्ने भएकाले ठेक्का तोड्न लागिएको ११ किलो छेवेटार भालुस्वाँरा सडक कार्यालयका प्रमुख रविन्द्रलाल दासले बताए ।


मसानेपाटी–ठाटीपोखरी अन्तर्गत ९ किलोमिटर सडक निर्माणको जिम्मा स्वच्छन्द हिरा एन्ड नमिता जेभीले लिएको छ । २०७० भदौ १५ मा काम सक्ने भन्दै २०६९ जेठ १६ मा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले काम पूरा गरेको छैन । वन विवादमा उक्त खण्डको ३ किलोमिटर सडक कालोपत्रे हुन नसकेको हो । ‘पछिल्ला दुई वर्ष यो सडकलाई पैसा पनि आएको छैन,’ दासले भने, ‘ठेक्का लगाएर मात्र राख्न पनि सान्दर्भिक भएन, ठेक्का तोडेपछि मध्यपहाडीलाई काम पनि सजिलो पर्ने भयो ।’


सम्झौता अवधि सकिएको ६ वर्ष वित्दा उक्त खण्डको ८० प्रतिशत मात्र काम सकिएको छ । चार करोड ४१ लाखमा जिम्मा पाएको ठेकेदार कम्पनीले ३ करोड ३९ लाख भुत्तानी पनी लगीसकेको छ । ‘आवश्यक कागज तयार पारिसक्यौँ, सूचना निकालेर एक दुई दिनमै ठेक्का सम्झौता तोड्छौँ,’ दासले भने । उत्त खण्डमा कालोपत्रे सम्पन्न गरेको क्षेत्रमा पनि खाल्टाखुल्टी पर्न थालेका छन् ।


यसअघि बारपाक सडकअन्तर्गत एघार–किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक योजनाले ९ देखि १७ किलोमिटर कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी नागर्जुन/त्रिशुली जेभि वालाजुसँग ठेक्का सम्झौता तोडेको थियो । उक्त खण्डको निवेलसम्म सडक पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्छ ।


ठेक्का फरफारक गरेर मध्यपहाडीलाई हस्तान्तरण गर्न लागिएको हो । २०७१ असार ३१ मा जेभीले सडक निर्माणको जिम्मा लिएको थियो । ९ करोडमा सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौता अुनसार २०७४ चैतमा निर्माण सम्पन्न सक्नुपर्थ्यो । काम अलपत्र छाडेर ठेकेदार लामो समयसम्म सम्पर्कविहिन वनेपछि कार्यालयले सुचना जारी गरी ठेक्का तोडेको हो ।


मध्यपहाडी अन्तर्गत गोरखामा आरुघाटदेखि पालुङटारसम्म ६४ किलोमिटर सडक पर्छ । ६ प्याकेजमा ठेक्का लगाएर काम भइरहेको राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख रमेश द्रिष्टिले बताए । ‘गोरखामा पर्ने करिव २८ किलोमिटर सडकमा यसअघि ठेक्का लागेको छ, २८ किलोमिटरमा काम शुरु भएको छैन, पत्र लेखेर हस्तान्तरणका लागी भनेका छौँ,’ उनले भने । निवेलबाट पालुङटार क्षेत्रको २८ किलोमिटर खण्डको ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजना अन्तर्गत ठेक्का लागेका सडक हुन् ।


स्वामित्व हस्तान्तरण नभएपनि लोकमार्गमा पर्ने सडकको डिपिआर सर्वेको काम भने भइरहेको उनले बताए । ‘पुरानो ठेक्का नटुङ्गाइ काम थाल्न पनि मिलेन,’ उनले भने । उक्त सडकमा ७ मिटर कालोपत्रे हुनेछ । ‘दुवैतर्फ आधा मिटर छाडेर ७ मिटर कालोपत्रे हुन्छ,’ उनले भने । आरुघाट क्षेत्रमा वुढीगण्डकी डुवानबाट ‘क्रस’ हुने क्षेत्र एकिन हुन नसकेको पनि उनले बताए । आयोजनाले डुबानमा पर्ने ५४५ मिटर क्षेत्रको काम हालसम्म अन्यौलमा पर्दै आएको छ ।


त्यस्तै महालक्ष्मी प्यासाफिक नाना जेभिले २०६९ असार २१ मा सम्झौता गरि पन्थ डि कटहरे हर्मी सडकको स्तरोन्नतीको जिम्मा लिएको थियो । सम्झौताअनुसार उत्त ठेकेदार कम्पनीले २०७० काक्तिक ३० मा निर्माण सम्पन्न गर्नुपर्थ्यो । तर प्रगति म्याद गुज्रिएको ६ वर्ष वित्दा सम्म ६९ प्रतिशत मात्र रहेको कार्यालयका प्रमुख दासले बताए ।


‘दुइ करोड ४० लाख ९७ हजारमा ठेक्का लागेको हो,एक करोड ८० लाख भुक्तानी पनि लागिसक्यो,’ उनले भने, ‘अब म्याद थप गर्न पनि मिल्दैन, सूचना निकालेर ठेक्का तोड्ने अन्तिम तयारीमा छौँ ।’ उत्त सडक भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने भएकाले पनि ठेक्का तोड्न लागिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?