२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पृथ्वीराजमार्ग मर्मत

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकीको गाछेपानी–कोत्रे सडक खण्ड मर्मत थालिएको छ । डेढ वर्ष अघिनै मर्मतको काम सक्नुपर्नेमा ठेकेदार रोशन सिद्धगढी जेभीले राजमार्गको मर्मत गरेको थिएन । 

पृथ्वीराजमार्ग मर्मत

मर्मत नहुँदा राजमार्गको ३ किमि खण्ड नाजुक अवस्थामा पुगेको थियो । पटकपटक दबाब दिए पनि काम नभएपछि केही समयअघि स्थानीयले डिभिजन सडक कार्यालय घेराऊ गर्दै कार्यालय प्रमुखलाई कार्यकक्षमै थुनेका थिए ।


त्यसपछि बल्ल सडक डिभिजनले ठेकेदारलाई काम सम्पन्न गर्न ताकेता गरेको थियो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी सचिन श्रेष्ठले ठेक्का लिएको लामो समयपछि बल्ल मर्मत सुरु भएर ८५ प्रतिशत काम सकिएको बताए । मर्मत ०७४ कात्तिकसम्ममा काम सक्नुपर्ने भए पनि ठेकेदारले काम गरेको थिएन ।


२०७४ चैत २५ मा ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर कालोसूचीमा राख्ने चेतावनीसहित स्पष्टीकरण मागिएको थियो । एक साताभित्र ठेकेदार कम्पनीले स्पष्टीकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु गरेन । सडक डिभिजन कार्यालय दमौलीले २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्नुपर्ने नत्र कारबाही गरिने ठेकेदारलाई पुनः चेतावनी दिएको थियो ।


ठेकेदारले काम नगरेपछि स्थानीयवासीले भदौ ४ मा डिभिजन कार्यालयका प्रमुख सहित इन्जिनियरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएका थिए । त्यसपछि राजमार्गको मर्मत सुरु भएको हो । पृथ्वीराजमार्गको गाछेपानी कोत्रे सडकखण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोग्दै आएको स्थानीय हरि रिमालले बताए ।


‘राजमार्गकमो दुरावस्था देख्न नसकेर स्थानीय जागेका हौं,’ उनले भने । जीर्ण सडकका कारण सवारी दुर्घटना पनि बढेका थिए । सडक अवरुद्धदेखि डिभिजन प्रमुखलाई दबाब दिएका कारण ढिलै भए पनि राजमार्ग मर्मत भएको उनले बताए ।


सडक डिभिजनले पुनःस्थापना कार्यअन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रेको सम्झौता गरेको थियो । श्रेष्ठका अनुसार २ करोड ७१ लाख ८८ हजार ८ सय २ मा ठेक्का दिएको हो ।


ठेक्का संयुक्त भएकाले मर्मतमा समस्या भएको ठेकेदार कम्पन्नीले बताएको छ । दुवै जनाले निर्माण कन्ट्रक्सन प्रालिबाट ठेक्का हालेको ठेकेदार संजय गुप्ताले बताए । ‘पार्टनरले धोका दिए,’ उनले भने, ‘यसले काममा ढिलाइ भएको हो ।’

प्रकाशित : भाद्र १९, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?