बजेट आउँछ, फिर्ता जान्छ

संघीय र प्रदेश सरकारबाट विकास निर्माणमा बजेट विनियोजन गरिएको हुन्छ । स्थानीय तहले स्टिमेटसमेत गर्दैनन् ।
प्रकाश बराल

बागलुङ — गत वर्ष संघीय सरकारले १७ लाख रुपैयाँ विनियोजन गरेर बहुलाहाखोलामा पुल निर्माण थाल्ने योजना बनायो । बागलुङ नगरपालिका–९ तित्याङ र वडा १० भकुण्डेको सीमाको खोलामा पुलका लागि नगरपालिकाले लागत स्टिमेट बनाउनुपर्नेमा बनाएन । बजेट सबै फिर्ता भयो । 

बागलुङको काठेखोला गाउँपालिका वडा– २ र ४ जोड्ने डुडिया खोलामा जोखिम मोलेर जिप तर्दै । तस्बिर : प्रकाश/कान्तिपुर

बजेटबारे जानकारी गराउन पटकपटक नगरपालिका पुगेका संविधानसभाका सदस्य नरबहादुर थापाले हैरानी खेपेको बताए । ‘लागत स्टिमेट गराइदिनुपर्‍यो भनेर पटकपटक भने, सुनुवाइ भएन,’ थापाले भने, ‘कति बजेट कुन शीर्षकमा आउँछ भन्नेसमेत नहेर्ने प्रवृत्ति रहेछ ।’ जनप्रतिनिधि र कर्मचारीको चासो नभएर फ्रिज भएको उनले बताए ।

चालु वर्ष पनि फेरि सोही स्थानको पुलका लागि ३६ लाख रुपैयाँ विनियोजन भएको छ । यसका लागि दसैंअघि नगरपालिकाले लागत स्टिमेट बनाएर ठेक्कामा जानुपर्ने प्रावधान छ । तर अहिलेसम्म सुनुवाइ नभएको थापाले बताए । ‘कहिले हाकिमलाई भेट्ने त कहिले लेखा शाखामा पुगेको छु,’ थापाले भने, ‘हुन्छ भन्दै आलटाल गरिरहेका छन् ।’ दबाब नदिई काम गरौं भन्दा नहुने अवस्था आएको उनले टिप्पणी गरे । यस वर्ष पनि बजेट फ्रिज भयो भने अर्को पटकदेखि नपाइने खतरा रहेको उनले बताए । केन्द्रमा मन्त्री र सचिवकोमा धाएर बजेट विनियोजन भएको हो । पुल नहुँदा वर्षातमा यात्रा गर्न कठिन हुन्छ ।

भकुन्डे पर्यटकीय गाउँ भएकाले दैनिकजसो पर्यटक घुम्न जान्छन् । तर सडक अप्ठ्यारो भएकाले जिप र बसमा सास्ती खेप्नुपर्छ । पर्यटकले सास्ती खेपेको होमस्टे सञ्चालक खिमबहादुर थापाले बताए । ‘पुल र सडक बनाउने काम नगरपालिकाको हो,’ उनले भने, ‘सहजै आउने अवस्था भए दोब्बर पर्यटक भित्र्याउन सकिन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले आन्तरिक लेखापरीक्षण र महालेखाको टिम आएकाले लेखा शाखा व्यस्त भएको बताए । रकमको खोजी गरेर ठेक्काको काम थाल्ने उनले जनाए । कुँवरले भने, ‘प्राविधिक जनशक्तिको व्यवस्थापनले काममा केही समस्या आएको हो, छिट्टै समाधान हुन्छ ।’
यस्तै सास्ती प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले पनि खेपेका छन् । गत वर्ष ६ वटा पक्की पुलको कामै नभएको उनले बताए । पुलको काम नहुँदा प्रारम्भिक चरणकै करोड रकम फिर्ता भएको उनले बताए । ‘कर्मचारी संयन्त्र र ठेकेदार मिलेपछि काम गर्न कठिन हुनेरहेछ’ सापकोटाले भने, ‘बल्लबल्ल लागत स्टिमेट गराएको, ठेकेदार मिलेर ठेक्का नै हालेनन् ।’

एक वर्षको कसरतपछि चालु वर्षका लागि काठेखोला गाउँपालिकाको बिहुँदेखि रेश जाने भुँदीखोलाको एक्लेघाट र बिहुँदेखि नै भीमापोखरा जोड्ने काठेखोला पुलका लागि ठेक्का गएको छ । भीमापोखरादेखि तंग्राम जोड्ने डुँडियाखोला र पालादेखि सिगाना जोड्ने चनौटे घाटमा भने अझै ठेक्का भएको छैन ।

ठूलो रकमका काममा प्रक्रियामा भन्दै कर्मचारी संयन्त्रले ढिलाइ गरेको वडा ७ का अध्यक्ष प्रेम लामिछानेले बताए । प्रदेश सरकारको बजेट मार्फत यी पुलको ठेक्का लगाइने कार्यक्रम छ । ‘डीपीआर प्रतिवेदन लिन पटकपटक गएको छु,’ लामिछानेले भने, ‘एक वर्षमा मात्र प्रतिवेदन हात परेको थियो ।’

यी पुल बनेपछि मात्र काठेखोला गाउँपालिकाभित्रका ग्रामीण सडकमा बाह्रै महिना सवारी चल्न सक्छन् । सडक स्तरोन्नतिका लागि स्थानीय बजेट परिचालन गरे पनि पक्की पुलका लागि भने प्रदेश र संघकै भर पर्नुपर्ने बाध्यता भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

काम थालिएपछि क्रमागत बजेट मार्फत काम गर्न सकिन्छ । तर पटक–पटक दबाब र फलोअप हुनुपर्ने थापाले बताए । ‘एक वर्ष बजेट आयो भनेर ढुक्क हुने अवस्था छैन,’ थापाले भने, ‘हरेक वर्ष बजेटका लागिलड्नुपर्ने बाध्यता छ ।’

प्रकाशित : भाद्र १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

उजाडिँदै कोठियाघाट

‘व्यापार, व्यवसाय सुकेसँगै स्थानीयले विकल्प खोज्न थालिसकेका छन् । कोही बाख्रा पाल्न थाले । कोही बसाइँ सरेर अन्यत्रै गए ।’ 
ठाकुरसिंह थारु

कोठियाघाट, बर्दिया — कर्णालीका माछाका लागि प्रख्यात । २ वर्षअघिसम्म झकिझकाउ बजार । ग्राहक उत्तिकै झुम्मिन्थे । पालो कुरेर माछाका परिकार खान्थे । वर्षौंसम्म गुल्जार यो बजार अहिले उजाड बनेको छ ।

कोठियाघाटको सुनसान बजार । तस्बिर : ठाकुरसिंह/कान्तिपुर

कर्णालीको पूर्वी किनारमा बजार बसेको थियो । यहाँ डुंगा र स्टिमरबाट आउजाउ गर्ने भएकाले यसको नाम कोठियाघाट रह्यो । यहाँ हिउँदमा पन्टुन (ड्रम) पुल जोडिन्थ्यो । वर्षाका समयमा स्टिमर र डुंगा सञ्चालन गरिन्थ्यो । राजापुरबाट आउजाउ गर्नेहरू यहाँ खाजा खान्थे । सवारी साधन त्यही बजारमै रोकिन्थे ।

माछाका परिकारसँग खाना र खाजा खानेको भीड हुन्थ्यो । कर्णालीमा पुल निर्माणपछि बजार सुकेको छ । सवारीसाधन रोक्ने स्थान छैन । पुल निर्माण गर्दा हुलाकी सडक निकै अग्लो भएको छ । बजार निकै तल परेको छ । सवारीसाधन रोक्नै नमिल्ने भएपछि बजार सुनसान भएको हो । बजार सुकेपछि होटल व्यवसायी विस्थापित हुन थालेका छन् ।

पहिले यहाँका ४७ होटल ग्राहकले खचाखच हुने स्थानीय विष्णु गिरीले बताए । ‘अहिले त ग्राहक आउनै छोडिसके । पुल बनेपछि सवारी साधन रोक्ने ठाउँ मासियो,’ उनले भने, ‘व्यवसाय धरापमा परेपछि स्थानीयले विकल्प खोज्न थालिसकेका छन् । कसैले बाख्रा पाल्न थाले । केही अन्यत्र गए ।’

सामुदायिक वनछेउमा रहेको बजार प्राकृतिक रूपमा रमणीय छ । कर्णाली नदी बजार छेउबाटै बगेको छ । कर्णाली नदीका माछा खानैका लागि नेपालगन्ज र राजापुरबाट ग्राहक पुग्थे । त्यसो त कर्णालीमा पुल बनेपछि अर्को इतिहास बनेको छ । उक्त पुल मुलुककै लामो मानिन्छ ।

पुल हेर्न आउनेको नजर पनि बजारमा परेको छैन । हुलाकी सडकबाट बजार पुग्न बाटो छेकिएको छ । ‘बजार पूर्ण रूपमै सुकिसक्यो । आक्कल–झुक्कल मात्रै ग्राहक आउँछन् । व्यापार चौपट बनिसक्यो,’ स्थानीय बासिन्दा गिरीले भने, ‘हाम्रो बाध्यता कसैले बुझिदिएको छैन ।स्थानीय सरकारलाई अवस्थाबारेजानकारी गराएका छौं ।’

कोठियाघाट पुल पार गरेपछि राजापुर नगरपालिका सुरु हुन्छ । कर्णालीपारि राजापुर प्रवेशद्वारमा भने नयाँ बजार चम्किएको छ । पुल बन्नुअघि त्यहाँ बजार थिएन । अहिले कटेज र साना होटल सञ्चालनमा आएका छन् । उक्त बजारले माछाका परिकारका लागि चर्चा पाउन थालेको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्