कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै ठाउँको गुरुयोजनामा दुई स्थानीय तहको लगानी

प्रतीक्षा काफ्ले

गण्डकी — पर्यटकीय गन्तव्य बन्दै गएको स्याङ्जाको भालुपहाडको गुरुयोजना तयार पारिएको छ । पुतलीबजार नगरपालिकाले बुधबार गुरुयोजना सार्वजानिक गरेको हो । यसअघि गत असोज १३ मा फेदीखोला गाउँपालिकाले गुरुयोजना तयार पारेको थियो । 

एउटै ठाउँको गुरुयोजनामा दुई स्थानीय तहको लगानी

पुतलीबजार–४ र फेदीखोला–२ को सीमानामा पर्ने भालुपहाडमा दुवै स्थानीय तहले आ–आफ्नो दाबी गरेका छन् । पुतलीबजारले आफ्नो क्षेत्राधिकारमा पर्ने दाबी गरे पनि फेदीखोलाले सिमाना भएकाले दुवै तहको समन्वय हुने बताएको छ ।


पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको भालुपहाडको विकास अत्यावश्यक रहेको बताउँदै फेदीखोला गाउँपालिकाले एक वर्षअघि नै गुरुयोजना तयार पारेको थियो । पोखरामा सार्वजानिक गरिएको गुरुयोजनाका चौतर्फी विरोधसमेत भएको थियो ।


सोही योजनालाई लिएर दुई तहबीचको दुरी बढ्दै गएको छ । फेदीखोलाले विना समन्वय आफूखुसी अर्काको क्षेत्रको योजनालाई अगाडि बढाएको बन्दै पुतलीबजारले असहयोग गर्दै आएको थियो । भालुपहाड सबैको रोजाईमा पर्ने र सिद्धार्थ राजमार्गसँगै जोडिएकाले पनि सरकारबीच नै विवादित भएको स्थानीयको बुझाई छ । स्थानीयले गुरुयोजना भन्दा पनि विकास निर्माणका काममा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।


पुतलीबजारले दुई वर्षमा सक्ने गरि गुरुयोजना तयार पारेको छ । १८ करोड १९ लाख २० हजार यसको लागत रहेको पुतलीबजारका योजना शाखाका ताराचन्द्र ढकालले बताए । उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा निर्माण गरिने हो ।


अन्य दाताले पनि सहयोग गर्न सक्ने उनको भनाई छ । पुतलीबजारको गुरुयोजनामा भालुको आकार आउने गरि पार्क निर्माण हुने छन् । पैदलको लागि रुट, खुला स्थानमा सभाहल, दुईवटा थुम्का जोड्नको लागि झोलुङ्गेपुल, रिर्सोट, मोडल वाटर, वाटर फाउन्टेन र सेल्फी स्टेशन निर्माण हुने छ ।


फेदीखोला गाउँपालिकाले भालुपहाडमा पूर्वाधार बनाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयार गुरुयोजनाको लागत २४ करोड २७ लाख रुपैयाँ छ । भालुपहाड पोखराबाट २८ किलोमिटर दक्षिण भैरहवा जोड्ने सिद्धार्थ राजमार्गमा पर्छ ।


तीनतिर सेती खोलाले घेरिएको पहाड सुतेको भालुको जस्तो आकारको भएकाले भालु पहाड भनिएको किंवदन्ती छ । उक्त स्थानबाट विभिन्न हिमालको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय चलचित्र छायांकन, पिकनिक, पारिवारिक भ्रमण बढ्दै गएकाले पर्यटकीय पूर्वाधारको आवश्यकता देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले काठमाडौंको ड्रिम डेभलपर्सलाई ‘भालुपहाड पर्यटनस्थल’ को परियोजना प्रस्ताव तयार गर्ने जिम्मा दिएको थियो । भालु पहाडको ५ दशमलव ४ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने छ ।


फेदीखोलाको गुरुयोजनामा पार्कसम्म पुग्न सिद्धार्थ राजमार्गबाट १ सय ७५ मिटर लामो अत्याधुनिक झोलुंगे पुल बनाइने, एकातर्फबाट २ सयदेखि २ सय ५० खुड्किलाको सिढी, विभिन्न संस्कृति झल्कने गरी पार्कको सजावट गरिने, हिन्दु र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्न २३ र २३ फिट अग्ला शिव र बुद्धका विशाल मूर्ति राख्ने, दुई मूर्तिलाई जोड्न कंक्रिट र काठ प्रयोग गरिएको पुल बनाइने, प्रवेशद्वार, बालउद्यान, वाटर फाउन्टेन, कोसेली घर र चमेना गृह पार्कमा हुनेछन् ।


दृश्यावलोकनका लागि विभिन्न स्थानमा ब्लक निर्माण हुनेछन् । ‘लुम्बिनी र मुक्तिनाथ जोड्ने बाटो सिद्धार्थ राजमार्ग भएकाले ‘ट्रान्जिट पर्यटन’को लाभ भालुपहाडले लिन सक्छ,’ गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन, ‘यसले फेदीखोलाका स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याउँछ ।’ गुरुयोजना कार्यान्वयन भए बालबालिका, युवा, ज्येष्ठ नागरिक, हिन्दु र बौद्ध धर्मावलम्बीको आकर्षण बन्ने उनको भनाई छ ।


सेती खोलामा स्टिमर चलाउने, जिप लायर, मिनी रिसोर्ट खोल्ने, वरपरका गाउँमा होमस्टे विकास गर्ने पनि योजना छ । भालुपहाड पर्यटन स्थलसहित उक्त एकीकृत परियोजनाको अनुमानित लागत भने ४५ करोड रुपैयाँ रहेको सुवेदीले बताए ।

साढे तीनवर्षको बहुवर्षीय योजना बनाएर गुरुयोजना कार्यान्वयन गर्ने गर्ने उनले बताए । उनले विमस्टेकमासमेत बुद्ध सर्किटको कुरा उठेकाले लुम्बनी–मुक्तिनाथ तीर्थयात्री नै लक्षित पर्यटक भएको बताए । ‘यो परियोजना फेदीखोलाको लागि विकासको कोसेढुंगा साबित हुने छ’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?