जसलाई तीजले छोएन

कास्की — एक हातले चर्खा घुमाइरहेकी छन् । अर्को हातमा धागो छ । देशभर तीजको रमझम चल्दा मेखमाया तामाङलाई भने नारीको यो तीजले छोएन । अघिपछि जस्तै तीजको दिन बिहानै २ वर्षका छोरालाई लिएर दिनभरि चर्खा घुमाइन् । 

जसलाई तीजले छोएन

धादिङ घर भई पोखरा लामाचौरमा बस्दै आएकी तामाङ चर्खा नघुमाई बिहान बेलुकी हातमुख जोडन नपाउने सुनाउँछिन् । उनले पोखरा बगरदेखि एक पसलबाट ऊन किनेर लान्छिन् र चर्खाबाट धागो बनाउँछिन् ।


‘एकदिन खाली रह्यो भने आफैंलाई घाटा हुन्छ, जति धरै चर्खा घुमायो, त्यति नै पैसा आउँछ,’ तामाङले भनिन्, ‘तीजले खासै छोएको छैन, एक दिनभरि भनेको मेरो लागि धेरै समय हो, त्यो समयमा मैले एक दुई केजी धागो बनाउन सकें भने, कमसेकमा दुई छाक त टर्छ ।’


उनका श्रीमान्ले ज्यामी काम गर्छन् । दुवै जना भएर काम गरेको पैसाले घरपरिवार हेर्न र आफूहरू खान ठिक्क भएको उनी सुनाउँछिन् । आफैं काम नगरी मुखमा माड नपर्ने ज्यामी काम गरेकी भाइशुभा गुरुङ बताउँछिन् । गोरखा घर भई पोखरा बगालेटोल बस्दै आएकी गुरुङ तीजको दिन बिहानैदेखि बेल्चा हातमा लिएर घर बनाउन मसला मुछ्दै थिइन् ।


‘यति नगरी खान पाइँदैन, नाचगान हेरेर बेलुकी के खाने,’ गुरुङ भन्छिन्, ‘छोराछोरी पाल्नैपर्‍यो, सानसान्,ै आफैं काम गरेर खान सक्दैनन् ।’ उनका श्रीमान् दोस्रो बिहे गरी पोखरामै बसेका छन् । श्रीमान् त्यसरी बसेपछि गुरुङले दैनिक रूपमा बिहानदेखि बेलुकीसम्म ज्यामी काम गरेरै गुजरा गर्दै आएकी छन् ।


‘एक्लै भएको भए रमाइलो हेर्न जान हुन्थ्यो,’ गुरुङसँगै काम गरेकी रोल्पा घर भएकी चन्द्र रोका भन्छिन्, ‘खाने मुख धेरै छन्, एकैछिनको रमाइलोले बेलुका छाक टार्नै गाह्रो । चाडबाड त नआए नि हुने हो ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?