कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनिनसक्दै भासियो स्वास्थ्यचौकी भवन

दिप्ती सिलवाल

पर्वत — स्थानीयबासीको बिरोध हुँदाहुँदै कमजोर जग्गामा निर्माण गरिएको कार्कीनेटा स्वास्थ्यचौकी भवन भासिएको छ । फलेबास नगरपालिका–१ कार्किनेटास्थित खाल्टाथरमा निर्माणाधीन भवन जमिनसहित भासिन थालेको हो । 

डेढतले ९ कोठाको भवन करिब ३ रोपनी क्षेत्रमा अढाई करोड लागतमा निर्माणाधीन थियो । स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण हुन लागेको हो ।


नयाँ भवन बनेपछि सेवासुविधासमेत थप हुने आशामा रहेका स्थानीयवासी भवन निर्माण नहुँदै दुबै तर्फको जमिन भासिन थालेपछि निराश छन् । निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग धस्सिएको छ । चारैतर्फ पानी तर्काउन बनाइएको नाली र बरन्डा धस्सिएपछि भवनको मुख्य संरचनासमेत भत्किने खतरामा पुगेको छ ।


०७४ वैशाखमा निर्माणको काम थाल्ने बेलैमा स्थानीयले कमजोर जग्गामा नबनाउन भन्दै विरोध जनाएका थिए । अन्यत्र विकल्प हुँदाहुँदै यहाँ बनाउन उपयुक्त नभएको विषय पटकपटक सुझाएको स्थानीय भूपेन्द्र पोख्रेलले बताए । जग्गा छनोट समितिले दुईतर्फी सडकको बीचमा धाँजा फाटेको र निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माणको निर्णय गरेको स्थानीयको आरोप छ ।


यही कमजोर जमिनमा भवन डिभिजन कार्यालयले समेत अख्तियारी दिएपछि भवन नबन्दै पनि पहिरोले पुरेको थियो । ‘हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौं,’ स्थानीय एकप्रसाद श्रेष्ठले भने, ‘उतिबेला कसैले सुनेनन् । अहिले यस्तो अवस्था भयो ।’


भवनको जग खन्ने समयमै जमिनको तलमाथि दुवैतर्फ पहिरो गएको थियो । गत सातादेखिको वर्षाले भवन आसपासको चारैतिर पहिरो गएको छ । भवनकै विभिन्न स्थानमा क्षति पुगेपछि अगाडि र पछाडिको भागमा ग्याभिन जाली लगाइएको थियो ।


भवन निर्माण नहुँदै निरन्तर पहिरो गएपछि स्थानीयले अन्तै बनाउन माग गरेका थिए । स्वास्थ्यचौकीको भवनभन्दा तलमाथि दुवैतर्फ बस्ती भएकाले पनि पहिरो खस्दा दुवैतर्फको बस्तीलाई थप क्षति पुर्‍याउने स्थानीय शिव पौडेलले बताए ।


केही राजनीतिक व्यक्तिले आफूलाई पायक पार्ने गरी कमजोर जमिन छनोट गरेको आरोप स्थानीयको छ । दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले जोखिम भएको जग्गा छनोट गरेको पोख्रेलले बताए । ‘डाँडाबारीमा जग्गा हुँदाहुँदै सीमित व्यक्तिको स्वार्थमा यहाँ बनाइयो । उतिबेला हुँदै हुन्न भनेर विरोध गरेकै हो,’ पोख्रेलले भने, ‘अहिले बल्ल देखियो ।’


निःशुल्क जग्गा पाउँदापाउँदै तत्कालीन गाविसबाट रकम विनियोजन गरेर जग्गा किनेको उनले जनाए । उनका अनुसार स्थानीय नारायण शर्मा, शालिग्राम शर्मा, एकनारायण शर्मालगायतले निर्माणाधीन भवनदेखि करिब ४ सय मिटर टाढाको जग्गा स्वास्थ्यचौकीलाई निःशुल्क उपलब्ध गराउने वाचा गरेका थिए तर राजनीतिक पहुँचका आधारमा कमजोर भूबनोटको जमिन छनोट गरेको नारायण शर्माले बताए ।


भवन निर्माण जिम्मा पाएको नयाँबाटो सूर्योदय जेभीका सञ्चालक कुलराज पोख्रेलले कमजोर जमिन र समयमा काम गर्ने वातावरण नहुँदा क्षति भएको बताए । ‘गत भदौमै हस्तान्तरण गर्नुपर्ने हो,’ उनले भने, ‘सुरुमै जमिन खार्न नदिएर एक वर्ष काम रोकियो,’ उनले भने, ‘कुनैबेला स्थानीयको विवादले गत हिउँदमा बजेट नभएर काम रोकियो । बर्खा लागेपछि बजेट आयो, अहिले पहिरोले बिजोग छ ।’


भवन डिभिजन कार्यालय कास्कीले उक्त भवनको क्षति प्राकृतिक कारणले भएको भन्दै पुनः स्टमेट गर्न लागिएको जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?