कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकमार्ग दैनिक ८ घण्टा बन्द

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । खहरे, अक्षेतेलगायतका स्थानमा पहरा फोड्ने र बाटो चौडा पार्न दैनिक यातायात बन्द गर्नुपरेको आयोजनाका प्रमुख आशिष थापाले बताए । 

हरेक दिन बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म २ घण्टा र दिउसो साढे १० देखि बेलुकी ५ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।


आकस्मिक सेवाका एम्बुलेन्स आएमा बिकल्प दिने गरी ट्रयाक खोलेर नियमित काम गरिने उनले बताए । यस खण्डमा ठूला पहरा छन् । ‘पहरो फोड्नका लागि सडक बन्द गरेर काम गर्दा एक महिनाभित्र ट्रयाक खोल्न सकिन्छ,’ भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीका इन्जिनियर मिहिर सिंहले भने, ‘बस र ट्रकका लागि भने बिहान र बेलुकीको समय मात्र यात्रा गर्न पाउनेछन् ।’


वर्षौंदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले आयोजना प्रमुखलाई बोलाएर काम गर्न भनेका थिए । बुधबारदेखि असोज १७ सम्म एक महिना काम गरेर पहरो फोड्न निर्देशन उनले दिएका छन् ।


सडक बन्द गर्दा आउने सुरक्षा चुनौतीका लागि जिल्ला प्रहरीले टोलीसमेत खटाउनेछ । सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधेको २५ किमि खण्ड अहिले पनि जीर्ण छ । यहाँ एकतर्फी सवारीसाधन चल्नसमेत सास्ती खेप्नुपर्छ । यहाँ ठेक्का लिएका दुइवटा कम्पनीले काम छाडेर हिंडेपछि वर्षौंदेखि सडक अलपत्र परेको थियो ।


गत वर्ष ठेक्का लिएका कम्पनीले भने प्रशासनिक सहयोग अभाव, मुआब्जा विवाद र खानेपानी आयोजनाको अवरोधका कारण काम गर्न नसकेको बताएका थिए । सदरमुकामका लागि आएको खानेपानी पाइप सार्न आयोजनाले ३३ लाख रुपैयाँ दिएको थियो ।


‘उक्त रकम लगेको एक वर्षसम्म पाइपलाइन नसारिएकाले काम गर्न कठिन भएको हो,’ आयोजनाका इन्जिनियर रामप्रसाद सुवेदीले भने, ‘स्टिमेटअनुसारको रकम गएकाले तत्काल पाइपलाइन सार्न पनि भनेका छौं ।’ आगामी फागुनसम्म कालोपत्रे गरिसक्ने गरी आयोजना र निर्माण कम्पनीले काम थाल्ने उनले बताए । यो सडक खण्डको शून्य मानिएको बागलुङको उपल्लाचौर खण्डमा पनि प्रशासनिक झमेला र मुद्दाले काम रोखिएको थियो । ती समस्या सुल्झेपछि काम थालिएको हो ।


आयोजनाले सडकको दायाँबायाँ २५ मिटर चौडामा संरचना बनाउन रोक लगाएको छ । यो खण्ड दसैंअघि नै सडक चाक्लो बनाउने काम सक्ने र त्यसपछि ग्राभेल थाल्ने आयोजना प्रमुखले प्रतिबद्धता जनाए । ‘काममा अब ढिला हुँदैन,’ थापाले भने, ‘पहरा फोड्दा यातायातमा अवरोध हुन नदिन डाइभर्सन पनि बनाइएको छ ।’


बागलुङ नगरपालिका–३ को खहरे र काठेखोला गाउँपालिका–१ को पालातर्फको खण्डमा हुने अवरोध हटाउन विकल्पको बाटो निर्धारण गरिएको उनले बताए ।तीन वर्षअघि ट्रयाक खोल्न ठेक्का लिएको एमके कन्स्ट्रक्सन प्रालिले कैयौं स्थानमा कामै नगरी भुक्तानी लिएर काम छाडेपछि गत वर्षदेखि अर्को ठेक्का लगाइएको थियो ।


‘काम नगरेको खण्डमा कालो सूचीमा लैजानेसम्मको अधिकार भए पनि बोलाएर काम गर्न लगाएका छौं,’ इन्जिनियर रामप्रसाद सुवेदीले भने, ‘चाडपर्वमा आउने जोखिम न्यूनीकरण र दैनिक आवागमनमा असर नपार्न पनि भनेका छौं ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?