कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कर्मचारी अभावले बिरामीलाई सास्ती

तनहुँ — सदरमुकामस्थित दमौली अस्पतालमा रहेको प्रयोगशालामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा बिरामीले सास्ती झेल्नुपरेको छ । बिरामीलाई सामान्य रगत परीक्षणका लागि पनि घण्टौं समय बिताउनुपर्ने बाध्यता छ । 

यतिबेला मौसमी फ्लुका बिरामी बढेका छन् । अस्पतालमा दैनिक करिब १ सय देखि २ सय ५० जनासम्म बिरामी आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनील पौड्याल बताउँछन् । बिरामीले अस्पतालमा डाक्टर भेट्नेदेखि रगत, दिसापिसाबलगायत परीक्षण गर्न घण्टौं समय खर्चनुपर्ने अवस्था छ ।


अझ ग्रामीण क्षेत्रबाट आउने बिरामीले समयमै ल्याब परीक्षणको रिपोर्ट नपाउँदा २/३ दिनसम्म खर्चनुपर्ने बाध्यता छ । ‘भिड भएका कारण ढिला हुने होला भनेर बिहानै ९ बजे नै अस्पताल आएको डाक्टर नआएर १२ बजेतिर बल्ल जँचाउन पाइयो,’ व्यास नगरपालिका–५ का चित्रबहादुर दरैले भने, ‘स्वास्थ्य परीक्षण र ल्याबमा पालो कुर्दैमा दिन बित्ने गरेको छ ।’


व्यास–१२ कलेस्तीबाट आमाको सुगर परीक्षणका लागि आएकी चन्द्रकला कार्कीले ल्याब रिपोर्ट आउन बढी समय लाग्ने बताइन् । ‘पहिले पोखरा जान्थ्यौं । जिल्लामै राम्रो सेवा पाइन्छ भन्ने सुनेर आएका हौं,’ कार्कीले भनिन्, ‘पोखरा जाने आउने भाडा मात्रै जोगियो । समय यतै बढी लाग्यो ।’


प्रयोगशालाकी ल्याब असिस्टेन्ट हेमकुमारी दरै बिरामीलाई समयमै रिपोर्ट दिन नसकेको स्विकार्छिन् । ल्याबमा पानीसमेत नहुँदा कार्यालय सहयोगी रुपा भट्टले बाल्टीमा ल्याएर काम चलाउँछिन् । ‘चैतदेखि ल्याबमा पानी छैन,’ उनले भनिन्, ‘प्रत्येकपटक टेस्टट्युब सफा गर्नुपर्छ । पानी पर्याप्त नभएकाले टेस्टट्युबमा सेतो दाग बस्ने भएकाले बिरामीको रगतलगायत अन्य बायोलोजिकल टेस्ट गर्दा रिपोर्ट गलत आउँछ । त्यसलाई पुनः परीक्षण गर्नुपर्ने हुन्छ ।’


यसले सेवाग्राहीलाई समयै रिपोर्ट दिन नसकिएको र ल्याबमा आवश्यक तापक्रमको पनि व्यवस्था नहुँदा समस्या झेल्नुपरेको उनले बताइन् ।


ल्याब टेक्निसियन इन्चार्ज सुशीला कार्कीले २ जना ल्याब टेक्निसियन आवश्यक भए पनि एक जनाले मात्रै काम गर्दा ढिला भएको बताइन् । यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराए पनि सुधारका लागि काम नभएको उनको भनाइ छ । ‘ल्याब जस्तो अवस्थामा हुनपर्ने हो, त्यो पनि छैन,’ उनले भनिन्, ‘पानी अभाव छँदै छ । गर्मीमा तापक्रम धेरै र जाडामा कम हुँदा लिएको नमुना बिग्रने जस्ता समस्या झेल्नुपरेको छ ।’


अस्पतालमा दरबन्दीअनुसार कर्मचारी नहुँदा भिडियो एक्स–रे पनि नियमित प्रयोगमा आउन सकेको छैन । सातामा मंगलबार र बिहीबार मात्र भिडियो एक्सरे हुन्छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?