२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

धौलागिरी पदमार्ग सञ्चालनमा

प्रारम्भिक चरणमा बागलुङ बजारदेखि पञ्चकोट, संसारकोट, थाल्ले, बेलढुंगादेखि धम्जादेउरालीसम्मको पदमार्ग रेखांकन गरिएको छ

बागलुङ र गोरखा — बागलुङका ६ स्थानीय तह समेट्ने गरी नयाँ पदमार्गका रेखाङकन र संचालन गरिएको छ । हिमाली शृंखला देखिने, विभिन्न संस्कृतिको संरक्षण र होमस्टे विस्तार गर्न धौलागिरी चक्रपथ पदमार्ग रेखांकन सञ्चालनमा ल्याइएको हो । 

धौलागिरी पदमार्ग सञ्चालनमा

गोरखामा भने भूकम्पसँग जोडेर भूकम्प ट्रेकिङ ट्रेल बनाउने योजना सुरु भएको छ । धार्चेको जोङकाङकोट डाँडामा भूकम्पमा १४ जनाले ज्यान गुमाए ।


गुम्दास्थित यामगाउँका ९ परे भने लापुका ४ जनाले ज्यान गुमाए । कोटको ८३ मिटर जमिन भूकम्पले धसिँदा ज्यान गुमाउनेहरू सबै वस्तु चराउन गएका गोठाला थिए । दुई सय ६५ गाईबस्तु मरे । भूकम्पले डाँडा भासिएर गोठाला पुरिएको र गाईबस्तु पनि मरेको तीन किलोमिटरको दुरीलाई स्थानीयले भूकम्पसँग जोडेर प्रचार अभियान थालेका हुन् ।


बागलुङका सगरमाथा आरोही कृष्ण केसी, धौलागिरी पर्यटन प्रवर्द्धन समिति र जनप्रतिनिधिले झन्डै ५० किमि फेरो पर्ने पदमार्गको व्यवस्थापन र सञ्चालन थालेका हुन् । प्रारम्भिक चरणमा बागलुङ बजारदेखि पञ्चकोट, संसारकोट, थाल्ले, बेलढुंगादेखि धम्जादेउरालीसम्मको पदमार्ग रेखाङन गरिएको हो । यो खण्ड झन्डै १५ किमि लामो छ ।

धम्जादेउरालीदेखि घोडाबाँधे, बिहुँको रामकोट, भकुन्डे, भैरवस्थान हुँदै बलेवा एयरपोर्टसम्मको पदमार्गको बृहत् खाका तयार पार्न मिनी धौलागिरी चक्रपथ रेखाङन थालिएको केसीले बताए । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले यो पदमार्गको अपनत्व लिनेछन् । काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिका पनि सहभागी बन्नेछन् ।


पदमार्गलाई ताराखोलादेखि म्याग्दीको रुम, बागलुङको तमानखोला हुँदै ढोरपाटनसम्मको ट्रेकिङ मार्ग बनाउन सकिने बेलढुंगा सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर पुनले बताए । बागलुङ बजारदेखि ढोरपाटनसम्मको पदमार्ग ३ दिनमा सकिने गरी बनाउन अभियानकर्ता लागेका छन् । अभियानका लागि गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटनमन्त्री विकास लम्सालले साथ दिने बताए ।


‘धौलागिरी हिमालको छायाँमा बनाइने पदमार्गले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्नेछ,’ लम्सालले भने, ‘यहाँका धार्मिक, सांस्कृतिक, कला र पर्यटकीय क्षेत्रको संरक्षण हुनेछ ।’ बागलुङ बजार नजिकै निर्माणाधीन शालीग्राम संग्रहालय, पञ्चकोट, संसारकोटजस्ता स्थान धार्मिक रूपमा महत्त्वका छन् । त्यस्तै साहसिक पर्यटन र प्राकृतिक दृश्यावलोकनका लागि समेत यो मार्ग उत्तिकै महत्त्वको भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।


पदमार्गको फेरोका लागि थालिएको कामअन्तर्गत आगामी चैतेदशैसम्म पदमार्गको सामान्य बाटो बनाइसक्ने, संकेत बनाउने, आरामस्थल र खानेपानीको व्यवस्थापन गर्ने लक्ष्य छ । ‘यो खण्डको विकास गर्न सकेमा बर्सेनि हजारौंले यात्रा गर्नेछन्,’ थापाले भने, ‘पदमार्गका लागि युवा आकर्षित छन्, खाने बस्ने व्यवस्थापनका लागि मार्गको आसपासका गाउँमा होमस्टे सञ्चालनको व्यवस्थापन गरिनुपर्छ ।’


बागलुङमा १६ सामुदायिक होमस्टे रहेकोमा प्रस्तावित पदमार्गमा अधिकांश पर्ने होमस्टेहरूको जिल्ला संजालकी सचिव मुना थापाले बताईन् । भकुण्डे, बेलढुंगा, शिवधुरी, ताराखोला र लामेला लगायतका स्थानमा होमस्टेहरू स्थापना भएर सञ्चालनमा आइसकेका छन् ।


केही स्थानमा भने लामो दूरी हिँड्दा पनि बस्ती नभेटिने समस्या भएका स्थानमा बस्ती झर्ने केही मार्ग बनाउनुपर्ने पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खिमानन्द कंडेलले बताए । ‘पहाडको टुप्पोबाट पदयात्रा गर्दा रमणीय र हिमाली दृश्यावलोकन गर्न सकिन्छ, तर जंगल र पहाडमा बस्ती छैनन्’ उनले भने, ‘छोटो दूरीमै रहेका बस्तीमा होमस्टे सञ्चालन गर्न सहयोग गरेर लिंकरोड बनाउन पहल गर्नुपर्छ ।’


बेलढुंगामा स्थापना भएको होमस्टे संचालकले नजिकैको पहाडमा मिनी धौलागिरीको आकर्षण पनि थपेका छन् । एउटै ढुंगाको पहाडलाई स्थानीयले कान्छो धौलागिरीको नामकरण गरेको स्थानीय गोपाल श्रीसले बताए । ‘चुचुरोमा पुग्दा उत्तरतर्फ बेनी बजारसहित म्याग्दीका अधिकांश भूगोल, धौलागिरी हिमाल र कालीगण्डकी देखिन्छ । दक्षिणतर्फ बागलुङ र गुल्मीका खण्ड देखिन्छ ।


पूर्वमा पर्वत र अन्नपूर्ण हिमशृंखला तथा पश्चिममा ढोरपाटनसम्मको दृश्य देख्न सकिन्छ । अभियान सफल पार्न धौलागिरी चक्रपथ पर्यटन समिति गठन भएर सामूहिक लगानी र पर्यटन भित्र्याउने काम थाल्ने अध्यक्ष प्रेम लामिछानेले बताए । गोरखामा रमणीय स्थललाई भूकम्पसँग जोडर भूकम्प ट्रेकिङ ट्रेल बनाउन लागिएको हो ।


भूकम्पको ४ वर्ष बित्दा क्षति पुर्‍याएको पैदल मार्गको केही भागको मात्र मर्मत भएको छ । ‘करिब साढे ७ लाख खर्चेर पैदलमार्गको मर्मत गर्‍यौँ,’ स्थानीय अमर गुरुङले भने । पदमार्ग सुधारका लागि गाउँपालिका र एक गैरसरकारी संस्थाले गत आर्थिक वर्ष रकम छुट्टाएका थिए । पदमार्गको प्रवेशद्वार सातकन्या पोखरीसम्म रेलिङसहितको सिढी निर्माण भएको छ ।


भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पदमार्ग सुचारु गरिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ बताउँछन् । ‘भूकम्पले पैदलमार्ग भत्किएका थिए, सुधार हुँदै छ,’ उनले भने, ‘भूकम्पसँग जोडेर प्रचार गर्नसके पर्यटक नआउने कुरै छैन ।’ चौबिसे राजाको पालामा गुरुङ राजाले राज्य गरेको कोट रहेकाले पनि पर्यटकको आकर्षणको गन्तव्य बन्ने उनको भनाइ छ । ‘८३ मिटर कोटको भाग भूकम्पले धसिएको छ, त्यो अहिले देख्न सकिन्छ,’ उनले भने, ‘भूकम्पपछिको अवस्थाको अध्ययनका लागि पर्यटकको गन्तब्य वन्ने विश्वास लिएका छौँ ।’


गुम्दा गाउँमा होमस्टे सुरु भइसकेकाले पर्यटकलाई बास बस्न कुनै समस्या नरहेको गुरुङको तर्क छ । पदमार्गमा सातकन्या पोखरी, जोङकाङ कोट, हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । २३ सय ३८ मिटर उचाइको उक्त क्षेत्रबाट ५ हिमशृंखलाको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने स्थानीयले बताए । बुद्घ, गणेश, शृंगीलगायतका हिमशृंखला देख्न सकिन्छ ।


‘यामगाउँबाट जुङगाङ गएका पर्यटक भीरकोट हुँदै धार्चे डाँडासम्म पुग्न सक्छन्,’ उनले भने, ‘भूकम्पले भत्किएको पहिरो जस्ताको तस्तै हेर्न मिल्ने ठाउँ हो ।’ जोङकाङ पुगेपछि गुम्दा गाउँ फर्कन पनि सक्ने र सुम्बे हुँदै धार्चे डाँडा वा नौलीखर्क हुँदै ठोड्नेरी खार्चोक भञ्ज्याङ हुँदै गोरखा आउन सकिने उनले बताए ।


गोरखा सदरमुकामबाट माछाखोला पुगेपछि दोस्रो दिन यामगाउँ पुगीने र तेस्रो दिन जोङकाङ डाँडा पुग्न सकिन्छ । ‘धार्चे डाँडाबाट गए सम्वेखर्कमा भरिया घरमा बस्नुपर्छ,’ उनले भने । यमगाउँबाट हिंडेपछि मानव बस्ती नरहेकाले क्याम्प ट्रेल गर्ने पर्यटकको रोजाइमा पर्ने उनको दाबी छ ।


पदमार्ग पुरानै भए पनि भुइँचालोले पैदलमार्गमा क्षति पुर्‍याउँदा पर्यटक आवागमन ठप्पजस्तै छ । यसको सुधार गरेर भ्रमण वर्षमा पर्यटक भित्र्याउने साने बताउँछन् । ‘बाटो सुधार गर्नुपर्नेछ, प्रतीक्षालय पनि बनाउनुपर्‍यो,’ उनले भने, ‘प्रदेश सरकार र गाउँपालिकालाई भनेका छौँ, मर्मत र सुधार गर्न मात्र ३५ लाख लाग्ने अनुमान छ ।’


यामगाउँबाट जोङकाङ ३ घण्टाको पैदल दूरीमा पुगिने भएकाले पनि पर्यटकलाई सजिलो हुने उनको तर्क छ । ‘भूकम्पले भत्काएको पर्यटकीय स्थलहरूलाई समेटेर डकुमेन्ट्री पनि बनाएका छौँ,’ उनले भने । धार्चे–सुम्बेखर्क–लाप्राक नयाँ बस्ती–भीरकोट–यामगाउँ– सातकन्या पोखरी–दारेगौडाँ–लप्सीबोट–माछाखोला–लापुबेंसी–ह्यारी हिल हुदै आर्खेत आरुघाटसम्मको क्षेत्रलाई समेटेर वृत्तचित्र तयार पारिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?