कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्लिम समुदायलाई अन्तिम संस्कारमा सास्ती

बागलुङ — हरेक समुदायको बस्ने बास र मृत्यु हुँदा अन्तिम संस्कार गर्ने घाट हुन्छ । जिल्लाको मुस्लिम समुदाय भने यी दुवैबाट वञ्चित छ । 

आफ्नो घर नभए पनि भाडामा बस्न सकिन्छ । तर मृत्यु संस्कारका लागि भने स्थायी घाट चाहिन्छ । गलकोट नगरपालिकाको हटिया र हरिचौरका मुस्लिमको भने बस्ने घर पनि छैन, घाट पनि नभएर अन्तिम संस्कारमा सास्ती खेप्न बाध्य छन् । नेपालका अधिकांश जातजातिले खोला, नदीको बगरमा लगेर अन्तिम संस्कार गर्छन् । तर यहाँका अस्थायी बसोबास गरेका मुस्लिमलाई दाहसंस्कारका लागि जग्गा नहुँदा सास्ती भएको हो ।


आफ्नै घाट नभएपछि ५० किमि पश्चिमको गलकोटका मुस्लिमले सदरमुकामस्थित कालीगण्डकी नदीमा ल्याएर अन्तिम संस्कार गर्न बाध्य छन् । अस्थायी बसोबास भएकाले अहिलेसम्म गलकोट नगरपालिकाको हटिया र हरिचौरमा बस्ने मुस्लिमले घाट नपाएका हुन् । घाट नपाएपछि गाडीमा शव बोक्नुपर्ने र आफन्त जिप चढेर आउनुपर्दा एक जनाको संस्कार गर्दा ५० हजारभन्दा बढी खर्च हुने गरेको उनीहरूको गुनासो छ ।


तोकिएको भाडा नदिएसम्म शव बोक्ने गाडी नपाउने, मलामीले पनि नियमितभन्दा दोब्बर भाडा तिरेपछि मात्र यात्रा गर्न पाउने भएपछि खर्च बढेको स्थानीय रहमत हकिमले बताए । उनीहरूले कालीगण्डकी नदी किनारमा शव गाड्दै आएका छन् । ‘वर्षौंदेखि हामीले घाट मागे पनि दिइएनन्,’ हकिमले भने, ‘खोलाछेउ, पाखो जे भए पनि हुन्छ भनेका हौं, तर वास्तै गरिएन ।’ पोखरा–बागलुङ राजमार्गको मालढुंगा नजिकै ल्याएर उनीहरूले अन्तिम संस्कार गर्छन् । यहाँ पनि व्यवस्थित घाट छैन । मुस्लिमले शवलाई गाड्छन् । हिउँदमा गाडेको शव वर्षातमा बाढीले उत्रिन्छ । आर्थिक रूपमा सम्पनहरूले शव गाडेर सिमेन्ट लगाएर छाड्छन् । विपन्नले ढुंगाले छोपेर छाडा वर्षातमा शव उत्रने गरेको हो । गलकोटमा ३३ वर्षअघि मुस्लिम गएर बस्न थालेका थिए । हटिया बजारमा २० घर छन् । उनीहरू खोलाछेउमा छाप्रो बनाएर बसेका छन् ।


एउटै छाप्रोमा २ देखि ३ परिवार बस्छन् । उनीहरूको ३ देखि ७ सम्म बालबालिका छन् । ३० बालबालिकाका लागि छाप्रोमै बारेर मदरसा बनाएका छन् । मदरसा व्यस्थापन र परिचयपत्र लगायत काममा नगरपालिकाले सहयोग गरेको छ । ‘हामीले परिचयपत्र बनाएर चाडपर्वलगायतमा सहयोग गरेका छौं,’ गलकोट–३ का वडाध्यक्ष वीरजंग भण्डारीले भने, ‘अन्तिम संस्कारका लागि नगरभित्र सार्वजनिक जमिन नभएकाले व्यवस्थापन गर्न सकिएन ।’ बजार छेवैको खोला र बगर नभएकाले शव गाड्ने अनुमति दिन नसकेको उनले बताए ।


नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा खोजी रहेको र पाइए उनीहरूको मृत्यु संस्कारका लागि पनि जग्गा दिन सकिने नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘समस्याबारे हामी गम्भीर छौं, तर नगरको फोहोर व्यवस्थापनका लागि समेत जग्गा पाउन सकिएको छैन,’ गैह्रेले भने ।


वर्षौंदेखि बसेकाले उनीहरूको अन्यत्र पनि जग्गा र घर नभएको मदरसा व्यवस्थापन समितिका सदस्य कमालदिन मियाले बताए । पुर्ख्यौली घर भने बलेवाको अमलाचौर हो । यहाँका अधिकांशले छाता बनाउने, चुरा बेच्ने र कस्मेटिक सामानको खुद्रा व्यवसाय गर्छन ।


प्रकाशित : भाद्र १५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?