१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

४० युवाद्वारा सामूहिक हलेदो खेती

हरिराम उप्रेती

(गोरखा) — गाउँका बस्ती प्राय: सुनसान छन् । युवा रोजागारी तथा अध्ययनका लागि सहर र विदेश जाने क्रम बढदो छ । गाउँमा वृद्घवृद्घामात्र भेटिन्छन् ।

४० युवाद्वारा सामूहिक हलेदो खेती

श्रमशक्तिको अभावमा जमिन बाँझिने क्रम बढिरहेको छ । गोरखा नगरपालिका–८ कट्टेलडाँडाका युवाले भने गाउँसँग निरन्तर सम्पर्कमा रहन तथा जमिन बाँझिन नदिन नयाँ जुक्ति निकालेर काम थालेका छन ।


अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौं, चितवन लगायत सहरमा रहेका ४० युवा भेला भए । गाउँमा रचनात्मक काम गर्ने योजना बनाए । उत्साहित कृषि उत्पादन समूह गठन गरे । अनि होमिए, हलेदो (बेसार) र अदुवा खेतीमा । ३५ रोपनी जग्गामा लगाएको हलेदोको स्याहारमा प्रत्येक महिनाको अन्तिम शनिबार एक दिन भए पनि युवा गाउँ पुग्छन् । गोडमेल गर्छन, फेरि रोजगारी तथा अध्ययनमा फर्कन्छन् । युवाको यो लगावले पाका पुस्ता पनि खुसी देखिन्छन् ।


गत पुसमा संगठित भएर सामूहिक खेती थालिएको युवा रमण कट्टेलले बताए । ‘गाउँका २० प्रतिशत जमिनमा मात्र खेती भएको होला, अरू सबै बाँझो बस्यो,’ उनले भने, ‘यसरी जमिन बाँझो छाड्न हुन्न केही नयाँ काम गरौं भनेर समूह बनाएर खेती थालेका हौँ ।’ सल्यानको कपुरकोटबाट १० क्विन्टल हलेदो र ४ क्विन्टल अदुवाको बिउ ल्याएर खेती थालेको उनले बताए । भने, ‘२० रोपनीमा हलेदो, १५ रोपनीमा अदुवा लगाएका हौँ ।’ जग्गा भाडाको हो । २८ रोपनीको वार्षीक २९ हजारको दरले भाडा बुझाउनु पर्छ ।


पहिलो वर्षको उत्पादन बिउका रूपमा प्रयोग गर्ने उनले बताए । ‘गत चैतमा लगाएको फागुन अन्तिमतिर खन्छौं,’ उनले भने, ‘यस वर्ष बिक्रीभन्दा पनि बिउका रूपमा प्रयोग गर्ने योजना छ, गाउँमा बाँझिएको जमिनमा अबको वर्ष हलेदो र अदुवा लगाउन जग्गा धनीलाई भन्छौँ, चासो नदिए हामी आफैं जग्गा लिजमा लिएर बाँझो बस्न दिँदैनौं ।’ ८० क्विन्टल हलेदो र १६ क्विन्टल अदुवा उत्पादन गर्ने युवाको लक्ष्य छ । उनले भने, ‘अबको वर्ष डेढ सय रोपनी जग्गामा खेती विस्तारको योजना छ ।’ यसरी ठुलो परिमाणमा उत्पादन गर्दा बिक्रीमा समस्या नरहने उनको बुझाइ छ । ‘गाउँमै बेसार उत्पादन गरेर ब्रान्ड नै बनाउने योजना हो,’ उनले भने, ‘यसका लागि कस्तो प्रविधि चाहिँदो रहेछ बुझ्दैछौं ।’


श्रमशक्तिको अभावमा गाउँमा झन्डै ३ सय रोपनी जग्गा बाँझिएको अनुमान युवाको छ । रातो माटो भएको जमिनमा हलेदो खेती राम्रो हुने उनको भनाइ छ । ‘मकै कोदो लगाउँदा बाँदरको सधैं हैरानी,’ उनले भने, ‘हलेदो र अदुवालाई बाँदरले नोक्सानी गर्दैन, फेरि श्रम पनि कम लाग्छ ।’ हलेदो र अदुवा बाँदरले नखाने भएकाले पनि यो खेती रोजेको उनको कथन छ । अर्का युवा उत्सुक कट्टेलले विउ, कृषि औजार खरिदलगायत काममा २ लाख लगानी भइसकेको बताए । ‘श्रमदान जोडेका छैनौं,’ उनले भने । युवा महिनाको एकदिन आफै श्रममा खटदा अपनत्व बढेको उनले बताए । खेतीसँगै युवाबीच भाइचाराको सम्बन्ध पनि बढेको स्थानीय सुवोद कट्टेलले बताए । ‘गाउँकै साथीभाइ को कहाँ–को कहाँ, यस्तै अवस्था भए काका भतिज पनि नचिन्ने स्थिति आउन सक्छ,’ उनले भने, ‘यसरी गाउँमा युवा फर्केपछि सम्बन्ध बढाउन पनि सहज हुने भयो ।’ बजारमा चाना बनाएको हलेदो प्रतिकेजी तीन सय र अदुवा प्रतिकेजी दुई सय रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?