पानी सञ्चयका लागि अध्ययन

दिप्ती सिलवाल

(पर्वत) — यसपटक मनुसुनी वर्षा न्यून भयो । बेसीका किसानले धान रोप्न पाएनन् । लेकमा कोदो सप्रिएन । यी र मौसमसँग सम्बन्धित कारण खोज्दै प्राविधिक टोली यतिबेला जिल्लाको लेकाली बस्तीमा पुगेको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयले लेकाली जमिनमा पानीको सतह व्यवस्थापन तथा पानीको पुनर्भरण पोखरी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । लेकाली खर्कका सिमसार क्षेत्रमा पानीको स्रोत व्यवस्थापन गरी पोखरी निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन थालिएको हो । लेकाली डाँडाका टुप्पामा परेको वर्षातको पानी अडिन नपाउँदा तल्लो क्षेत्रमा पानीका मुल सुक्ने, पानीका नियमित स्रोत हराउँदै जाने, मुल सर्नेजस्ता समस्याले जलवायुमा नकारात्मक असर पुर्‍याएको छ ।

प्राविधिकको टोलीले जिल्लाको जलजला र मोदी गाउँपालिकाका लेकाली क्षेत्रका सिमसार क्षेत्रमा पानीका स्रोत व्यवस्थापनबारे अध्ययन गरेको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार पछिल्ला वर्षमा डाँडामा सडक खन्ने क्रममा प्राकृतिक संरचना खल्बलिएका छन् । डोजरले जमिन भत्काउँदा प्राकृतिक रुपमा रहेका पानीका स्रोत सुक्ने र सर्ने क्रम बढेको छ । त्यति मात्रै होइन । सडकका कारण पहाडमा परेको पानी जमिनमा सोस्न नपाएर सरासर खोलामा बगेको छ । ‘सडक खन्ने क्रममा धेरै चौतारा पोखरी नास भए । सतहमुनिको पानीको निकास पद्धति खल्बलियो,’ घिमिरेले भने, ‘जलाधार क्षेत्रको तल्लो तटीय क्षेत्रमा असर परेको छ । यसले पानीका मुहान सुक्ने र सर्ने क्रम बढ्नथालेको छ ।’ माथिल्लो क्षेत्रमा रहेको प्राकृतिक तथा कृत्रिम पोखरी नासिँदा प्राकृतिक सन्तुलन खल्बलिएको उनले बताए ।

सडक सञ्जाल पुग्नुअघि लेकाली खर्कमा भैंसी र भेडापालक किसानले पानी पोखरी बनाउँथे । वर्षातको पानी जम्मा हुने यस्ता पोखरीमा हिउँदभर भैंसी आहाल बस्थे । ‘पहिला यो क्षेत्रमा थुप्रै पोखरी थिए,’ जलजला–५ का चक्रबहादुर पुनले भने, ‘मोटरबाटो खन्दा धेरै नासिए । अहिले भैंसी आहाल बस्न एउटै पोखरी छैन ।’ सोही ठाउँका मोतीलाल खोरजाले पुराना पोखरी र चौतारा नासिँदा भैंसी गोठाला शीतल बस्ने र भैंसी आहाल बस्ने बिसौनी लोप भएको बताए ।’

लेकाली बस्तीका सिमसार क्षेत्रको व्यवस्थापनमा व्यवस्थापन गर्न सकिने प्राविधिकले बताएका छन् । कुवापोखरी जलाधार तथा सिमसार क्षेत्रमा पानीको पुनर्भरण पोखरी बनाउन जलाधार कार्यालयले पहल सुरु गर्ने जनाएको छ । ‘जलाधार क्षेत्रमा पानी जमाइदिएपछि तल्लो भागमा मूल फुट्छ,’ सव इन्जिनियर प्रकास बस्नेतले भने, ‘त्यसले जलाधार क्षेत्रको समृद्धि हुन्छ । तल्लो भागमा पानीको व्यालेन्स स्वत: मिल्छ ।’ माथिल्लो क्षेत्रमा पानीका पुनर्भरण पोखरी बनाउँदा जलवायु परिवर्तनमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । पछिल्ला केही वर्षयता खानेपानी र सिंचाइको समस्या पनि यस्तो व्यवस्थापनले कम हुने प्राविधिकको दाबी छ ।

लेकाली खर्क र फाँटमा
भएका पानीका स्रोत व्यवस्थापनमा चासो नदिए केही वर्षमै गाउँमा पानीको संकट पर्ने जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले बताए । ‘पानीका स्रोत व्यवस्थापनमा हामीले प्रयास नगरेको होइन,’ जिसीले भने, ‘सानो स्रोतले समाधान गर्न समस्या छ । सरोकारवाला निकायले यो विषय प्राथमिकतामा राख्दैनन् ।’ प्रदेश र केन्द्र सरकारलाई वातावरणीय सन्तुलनका लागि पानीपोखरी निर्माणका लागि आग्रह गरिएको उनले बताए । लेकाली बस्तीमा निर्माण हुने यस्ता पानीपोखरीले पर्यापर्यटनमा पनि सहयोग गर्ने उनको दाबी छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

ग्रामीण सडकमा सास्ती

बजेट सक्नकै लागि विस्तृत अध्ययनबिना जेठ असारमा निर्मित सडकले हिउँदमा धूलो र बर्खामा हिलो
आश गुरुङ

(लमजुङ) — सरकारले जिल्लामा पठाउने अधिकांश बजेट सडक योजनामा खर्च हुने गरेको छ । जेठ असारमा निर्माण तथा मर्मत गरिएका सडक अहिले प्रयोगविहीन छन् ।

लमजुङको बेंसीसहर–भुजुङ सडकअन्तर्गत बेंसीसहर नगरपालिका ६, पुमागाउँ नजिकै हिलोमा फसेको जिप । तस्बिर : आश/कान्तिपुर

हिउँदमा सामान्य मर्मत गरेर सञ्चालन हुने सडक बर्खायाम अगाडि लाखौं खर्च गरे पनि सञ्चालन हुँदैनन् । हिउँदमा धुले सडक अहिले हिलाम्य छ । पहिरो गएको, बाढीले बगाएको र सडक बिगारेकाले ग्रामीण भेगका अधिकांश सडकमा सवारी सञ्चालन हुन सकेको छैन । पानी परेपछि पहिरो जाने र सवारी चल्दाचल्दै पानीले बगाउने समस्याले तोकिएको समयमा गन्तव्यमा पुग्न नसकेको यात्रु बताउँछन् ।

क्व्होलासोंथर गाउँपालिका–५ सिङदीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार बेंसीसम्म सवारी साधन चलेको छ । बर्खायाममा गाउँमा सवारी साधन आउदैनन । ‘सवारी नचलेपछि तोकिएको समयमा गन्तव्यमा पुग्न सकिँदैन । अप्ठ्यारो सडकले सवारी साधन बिग्रिरहन्छ,’ उनले भने ।

भुजुङका यमबहादुर गुरुङका अनुसार गाउँसम्म सवारी साधन चले पनि घलेगाउँदेखि भुजुङसम्मको सडक बिग्रिएको छ । सडकमा गाडी फस्छन । दोर्दी गाउँपालिकाको नौथर सेरादेखि विकट सिमी र ताँजे जाने अधिकांश सडक हिलाम्य रहेको वडा ६ का अध्यक्ष नन्दराज घलेले बताए । सडक खुलाए पनि पानी परेपछि हिलाम्य हुन्छ । ‘सडकमा नाली छैन । पानीजति सडकमा छ,’ गाउँपालिकाका प्राय: सवैजसो सडकमा नाली नभएको बताउँदै उनले भने ।
मर्स्याङदी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङका अनुसार बेंसीसहरबाट उत्तरी लमजुङका विभिन्न ठाउँ पुग्ने सडक अस्तव्यस्त जस्तै छन । खुदी–सिउरुङ जाने सडक बन्द छ । ‘बाटा अप्ठ्यारा छन् । मनाङ जाने मुल बाटो नै हिलाम्य छ । पछिल्ला समय गाउँघर जाने बाटो त हिलाम्य नै हुने भए । मोटरसाइकल चलाउन समेत कुनै कुनै ठाउँमा मुस्किल छ,’ उनले भने ।

दूधपोखरी गाउँपालिकामा अधिकांश सडकमा सवारी सञ्चालन हुन सकेको छैन । गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङका अनुसार दूधपोखरी २ र ३ वडाबीचको लाङदीखोलासम्म मोटर चलेको छ । ‘हामी दसैंअगाडि ती बाटाहरू खोल्ने प्रयासमा छौं,’ उनले भनिन् । ट्राफिक प्रहरी असई छवबहादुर घर्तीले बर्खाममा पानी पर्ने र यसले अधिकांश ग्रामीण सडकमा क्षति पुगेको बताए । सडकका कारण दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या परेको उनले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीले बर्खायामको समय अधिकांश ग्रामीण सडक अवरुद्ध भएको बताए । कार्यालयका अनुसार जिल्लामा करीब १ हजार ४ सय किलोमिटर सडक छ । यसमा अधिकांश सडक हेर्ने जिम्मा स्थानीय तहलाई छ । कुल सडकमध्ये करीब ४० किलोमिटर मात्र कालोपत्रे छ । करीब ६० किलोमिटर सडक ग्राभेल छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्