२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पहिरोपीडित विस्थापित

दमौली — सेती नदीको कटानले पहिरो झर्दा तनहुँको भिमाद बजारका दर्जन बढी परिवार विस्थापित भएका छन । बर्सेनि सेतीनदीमा आउने बाढीको कटानले ती घर पहिरोले बगाएको हो । 

नदीले कटान गर्दै जाँदा माथिबाट पहिरो खस्दै गएको छ । नदी र बस्तीको दूरी जम्मा ६० मिटर अग्लो छ । अधिकांशका घरका आधा भाग खसेको छ । प्रकाश कलकल, डिसुवानी बज्यै, करश्वारा बाजे, कान्छी हिराचन, एकबहादुर बाँनिया माइला पौडेल, रेनु वाग्ले, माया हिराचनलगायत १५ परिवार विस्थापित भएको स्थानीय प्रकाश कलकलले बताए ।


‘सेती नदीको कटानले घर पहिरोले लग्यो,’ उनले भने, ‘पहिरोबाट विस्थापित भएका छौं ।’ व्यापार राम्रो हुन्छ भनेर जग्गा किनेर घर बनाएको तर नदीले कटान गरेपछि माथिबाट घरको आधा भाग झरिसकेको उनले बताए । २०६१ सालदेखि पहिरो जान थालेको हो । विस्थापित अन्यन्त्र ठाउँमा घरमा भाडामा बस्दै आएको उनले बताए । ‘घरखर्च चलाउन खाजाघर थियो,’ उनले भने, ‘पहिरोले खाजा घर पनि बन्द भयो ।’ अन्यन्त्र घरभाडामा १५ वर्षसम्म खाजाघर चलाए पनि व्यापार सोचे जस्तो भएन । त्यसैले अहिले केही महिनादेखि पहिरोमा परेको आधा भाग घरमा भए पनि खाजा सेन्टर राखेका उनले बताए । उनले दिउँसो व्यापार गर्न आउने र साँझ बाँस बस्न भाडामा कोठा लिएको जनाए । विस्थापित परिवार कहाँ गए भन्ने थाहा नभएको स्थानीय रेनु वाग्लेले बताइन् । ‘पहिरो जोखिममा मोलेर दिउँसो व्यापार गर्न आउनुपर्‍यो,’ उनले भनिन्, ‘साँझ भने डर लागेर पसल बन्द गरेर जाने गरेका छौं ।’


हिउँदमा केही डर नभए पनि वर्षायाममा भने जहिल्यै पहिरोको डर हुने उनले बताइन् । कुमारचोकदेखि रत्नचोकको सेतीनदी किनारतर्फ करिब दुई सय घर पहिरोको जोखिममा परेका छन् । पहिरो र नदीका कटान रोक्न बर्सेनि कनिका छरे झरै बजेट आउने गरेको स्थानीय माया हिराचनले बताइन । ‘सानो रकम आउँछ,’ उनले भनिन्, ‘त्यसले कुनै काम हुँदैन । तटबन्धनका नाममा ४० वटा जाली भर्ने मात्र काम भएको छ ।’ सेतीनदी किनारबाट घरको जगसम्म मेसिनरी पर्खाल राख्न उनले माग गरिन् । सरकारले आवश्यक बजेट पनि विनियोजन गरिदिनुपर्ने उनको भनाइ छ । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीका अनुसार बजारको कुमार चोकमुनि ०४८ सालदेखि सेतीनदीले कटान गर्न थालेको हो । ०५३ सालतिर बढी मात्र नदीले कटान गर्‍यो । २०६१ सालमा सेतीनदीमा आएको बाढीले लाहुरे र कुमारचोकमा रहेका घर पहिरोमा परेको उनले बताए । पहिरो नियन्त्रण र नदी कटान रोक्न पटकपटक सरकारसँग बजेट माग गरे पनि पूरा नभएको उनले बताए । वर्षमा ५ लाख रुपैयाँ जति बजेट आउने र त्यही बजेट नदी किनारमा ग्याबिन जाली भर्दै आएको छ । ‘अहिले भने प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘यसले नदीको कटान रोक्न केही सहयोग हुन्छ ।’


पहिरो र नदी कटान रोक्न करिब दश करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले पयाप्त बजेट राख्यो भने स्थानीयले पनि १० प्रतिशत रकम उठाउन तयार छन । भिमाद बजारको लाहुरे टोल, कुमारचोक र रत्नचोकसम्मका बस्ती पहिरोबाट नियन्त्रण गर्न सेतीनदीको किनारबाट माथि घरको जगसम्म ढलान गरेर पर्खाल उठाउने पर्ने उनले बताए ।


प्रकाशित : भाद्र १४, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?