गण्डकी भ्रमण वर्ष : लमजुङमा उत्साह कम

आश गुरुङ

(लमजुङ) — होमस्टेको जिल्लाको रूपमा परिचित लमजुङमा पर्यटकको आवागमन न्यून छ । गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको यस वर्ष बर्खायाममा पर्यटक खासै आएनन् ।

गण्डकी भ्रमण वर्ष : लमजुङमा उत्साह कम

गण्डकी प्रदेशले पर्यटकीय क्षेत्रमा राखेको १ सय १२ स्थान जिल्लाका १० गन्तव्य परेका छन् । प्रदेशका २ सय ७३ होमस्टेमध्ये लमजुङमा स्मार्ट भिलेजउन्मुख घलेगाउँसहित २३ छन् । घलेगाउँमा छानो फेर्नेलगायत कार्यक्रममा २९ लाख ६४ हजार विनियोजन गरेको थियो । अन्य होमस्टे गाउँमा पूर्वाधार निर्माणका लागि १०/१० लाख बजेट दियो । यसबाहेक होमस्टे प्रवर्द्धन, प्रचारप्रसार, पर्यटकलाई ल्याउने वातावरण, सडक, बिजुलीलगायत क्षेत्रमा गण्डकी प्रदेश सरकारको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।


प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रूपमा घोषणा गरेको छ । साथै सन् २०२२ सम्म पर्यटन वर्षको रूपमा मनाउने भनेको छ । तर, भ्रमण वर्ष र सरकारी गतिविधिबारे कतिपय होमस्टे सञ्चालक तथा पर्यटन अगुवाले अनभिज्ञ प्रकट गरेका छन् । ‘भ्रमण वर्ष, यसको काम, समितिबारे औपचारिक थाहा छैन,’ सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव उमरबहादुर गुरुङले भने, ‘वर्ष सकिनै लाग्यो, सुरुबाटै प्रचारप्रसार र गतिविधि गर्नुपर्थ्यो ।’ जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गरेको समेत थाहा नभएको उनले बताए । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले पूर्वाधार विनाको भ्रमण वर्ष मनाउन लागेको बताए । ‘सडक र बिजुली राम्रो छैन । तयारी पनि छैन,’ उनले भने, ‘वर्षको अन्तिमतिर जिम्मा दिइएको छ ।’


डिभिजन वन अधिकृत मोहन काफ्लेले इन्जिनियरिङ सुविधाका कार्यालयले पर्यटन प्रवर्द्धनका कार्यक्रमका लागि बजेट आएका गाउँमा योजना सञ्चालन गर्दा सहज हुने बताए । ‘हामी वन वातावरणमा काम गर्ने कार्यालयलाई पर्यटनको जिम्मा दिइएको छ । इन्जिनियरिङ सुविधाबाहेक हामी हेर्न सक्दैनौं । सबै हामीमा आएर ठोक्किन आउँछ, कार्यसञ्चालनमै समस्या छ ।’ दीर्घकालीन रूपमा पर्यटनसम्बन्धी कामहरू वन कार्यालयले गर्न नसक्ने उनले बताए ।


पर्यटन समिति गठनमा असन्तुष्टि

पर्यटन वर्ष सुरु गरेको प्रदेश सरकारले करिब ८ महिनापछि जिल्लास्तरीय उपसमिति गठन थालेको छ । आन्तरिक भ्रमण वर्ष र पर्यटन वर्षलाई सफल बनाउन जिल्ला र स्थानीय तहमा उपसमिति गठन गर्न थालेको हो । जिल्ला तहमा गठन गर्ने समितिमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, समन्वय अधिकारी सदस्य सचिव, प्रमुख जिल्ला अधिकारी र उद्योग वाणिज्य संघका अध्यक्षलाई सदस्य तोकेको छ । अन्य ४ जना अध्यक्षले तोक्ने कार्यविधि तयार पारेको छ ।


सदस्यमा नपारेको भन्दै होमस्टे सञ्चालक, पत्रकार महासंघ, दलित समुदायका प्रतिनिधिले आपत्ति जनाएका छन् । उपसमिति असमावेशी भएको उनीहरूको ठहर छ । पर्यटन व्यवस्थापन समिति काउलेपानीका अध्यक्ष देवबहादुर गुरुङले पर्यटन वर्षलाई सफल बनाउने भन्दै सवै लागिपरेको सन्दर्भमा समितिमा सीमित मान्छेलाई मात्रै राखिनु र पर्यटनका अग्रणी होमस्टेका प्रतिनिधिलाई नराखिदिनु दुखद् भएको बताए । जिल्ला समन्वय समितिका सदस्य नन्दराम विकले सधैं हेयको दृष्टिले हेर्ने दलित समुदायलाई जिल्लाको यति ठूलो समितिमा पनि नअटाइएको गुनासो गरे । ‘जुनसुकै ठाउँमा पनि हामीलाई राखिदिनुपर्‍यो कहिलेसम्म भन्ने ? समिति समावेशी बनाइनु नपर्ने हो ?’ उनले भने । पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान ‘संगीत’ नेपालीले पर्यटन प्रवर्द्धनको मुख्य आधार प्रचारप्रसार भए पनि पत्रकार महासंघलाई संस्थागत रूपमा नसमेटिएको भन्दै आपत्ति जनाए ।


‘भ्रमण वर्ष सफल पारौं’

भ्रमण वर्ष कार्यक्रम संयोजक जुद्धबहादुर गुरुङले प्रदेशस्तरमा १५१ सदस्यीय मूल समिति गठन भएको र जिल्लामा उपसमिति गठन भइरहेको बताए । उनले स्थानीय स्तरमा पनि उपसमिति बनाइने बताए । ‘हाम्रो प्रदेश, स्वभावैले पर्यटन प्रदेश । पर्यटनबाटै प्रदेशले समृद्धि खोजेको छ’ उनले भने, ‘भ्रमण वर्षलाई सबै मिलेर सफल बनाउँ ।’ गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य विष्णु बरालले पर्यटन तथा भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न समितिले सरोकारवाला निकायसँग समन्वय गर्ने, प्रचारप्रसारका कार्यक्रम गर्ने बताए ।

प्रकाशित : भाद्र १४, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?