२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३ दशकमा पनि बनेन पुल

दिप्ती सिलवाल

पर्वत — सिमखेतबासीले मल्याङीखोलामा झोलुंगे पुल माग्न थालेको ३ दशकभन्दा बढी भइसक्यो । कुश्मा नगरपालिका–१० पिपलटारी र फलेबास नगरपालिका–३ शंकरपोखरीलाई जोड्न् पुल नहुँदा स्थानीय काठ तेर्स्याएर वारपार गरिरहेका छन् ।

३ दशकमा पनि बनेन पुल

सार्वजनिक मञ्च, तत्कालीन जिविस, सम्बन्धित सरकारका विभाग र मन्त्रालयसहित पुग्नुपर्ने ठाउँमा धेरै पटक आवाज पुर्‍याए । तर, कतैबाट सुनुवाई भएन ।


खोला हिउँदमा सुख्खा हुन्छ । वर्षाका ५ महिना भेल उर्लिन्छ । पीपलटारी र शंकरपोखरीबासीको वारपार नङमासुको साइनो छ । खोलाकिनारमा दुवै तर्फका बासिन्दाको खेतबारी छ । वर्षाकै समयमा धानकोदो रोप्न र घाँसदाउरा गर्न वारपार गर्नुपर्छ । त्यति मात्रै होइन, शंकरपोखरीतर्फको जनसहयोगी माविमा अध्ययन गर्ने विद्यार्थी पीपलटारीतर्फका विद्यार्थी धेरै छन् । कक्षा ११ र १२ पढ्न शंकरपोखरीतर्फका विद्यार्थी पीपलटारीको पूर्णेश्वर मावि पुग्न पनि यही बाटो प्रयोग गर्नुपर्छ ।


सिमखेतबासीको दैनिकी मल्याङीखोला पार नगरी चल्दैन । तर, खोलामा पुल नहुँदा पुस्तौंदेखि काठ तेर्स्याएर बनेको जोखिमपूर्ण साँघुबाट वारपार गर्नुको विकल्प छैन । ‘यहाँ पुलको माग गर्दागर्दै हाम्रा पुस्ताले जीवन बिताए,’ अगुवा मनरुपा सुवेदीले भनिन्, ‘अब ढिला भइसक्यो । दुवैतर्फ सडक जोडिएको छ । मोटरेबल पुल बनाउनुपर्छ ।’ मोटरेबल पुल भए हालसम्मको कष्ट बिर्सिने उनले बताइन् ।


दुई वडालाई सुविधा हुने गरी पुल माग्दामाग्दै थाकिसकेको स्थानीय बताउँछन् । ‘बागलुङको अञ्चलाधीश कार्यालयमा समेत पुलमाग्दै बुवाहरू पुग्नुभएको थियो,’ स्थानीय रतन गिरीले भने, ‘अहिलेसम्म पाइनएन । हामीलाई पानीजहाज र रेल चाहिँदैन । पुल भए पुग्छ ।’


२०५० सालसम्म सिसाठाँटी धौलागिरिकै चर्चित ठाउँ हो । सिद्धार्थ राजमार्ग नबन्दै स्याङ्जा र बुटवल नुन बोक्न जाने बटुवा बास बस्थे । फलेबास–३ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘उतिबेला यहाँका छाप्रामा व्यवसाय चलाउने अहिले पोखरा र काठमाडौंमा सफल व्यवसायी छन् ।’ सिसाठाँटीमा ०५० सालसम्म सय भन्दा बढी होटल भएको उनले सम्झिए । पोखरा बागलुङ राजमार्ग खुलेसँगै सिसाठाँटीको महत्त्व घटदै गयो । स्थानीयले पुरानो अवस्थामा फर्काउने गरी गणेश मन्दिरको जीर्णोद्धार गरेका छन् ।


मन्दिरका संरक्षक महेन्द्रबहादुर कार्कीका अनुसार अरु संरचना स्थानीयले निर्माण गरेको भए पनि खोलामा पुल नहुँदा दुवै गाउँका बासिन्दा निकै सास्ती भोग्न बाध्य छन् । ‘यहाँको रौनक हुनेबेला पनि पुलको माग नभएको होइन,’ कार्कीले भने, ‘०३६ सालमा ज्ञादीको कुलो उद्घाटनमा राजा आउँदा पुल मागेका थियौं । राजाले लठ्ठा बोक्नसके पुल बनाइदिने बोल्नुभएको थियो । लठ्ठा बोक्न आँट्ने कोही भएन ।’


खोलामा पुल नहुँदा वर्षामा निकै त्रास हुनेगरेको स्थानीय सारदा अधिकारीले बताइन् । ‘केटाकेटी, बुढाबुढी बढी जोखिममा छन्,’ उनले भनिन्, ‘हरेक दिन कतिबेला के हुने भन्ने त्रास हुन्छ ।’ वर्षाको समस्या टार्न बर्सेनि रूख काटेर साँघु बनाउँछन् । वर्षा सुरु हुनुअघि बनाएको साँघुले अर्को वर्ष काम गर्दैन । साँघुमा तर्न जोखिम हुन्छ ।


मंगलबार स्थानीय सिमखेत युवा क्लबले आयोजना गरेको तीज मेलामा पुगेका फलेबास नगरपालिकाका प्रमुख र कुश्मा नगरपालिकाकी उपप्रमुखले पुलको आवश्यकता महसुस गरेको बताए । ‘पुलको आवश्यकता राम्रोसँग महसुस भएको छ,’ फलेबासका प्रमुख पदमपाणि शर्माले भने, ‘दुइतर्फी सडक भएकाले अब पक्की पुल आवश्यक छ । पहल गर्छु ।’


कुश्माकी उपप्रमुख सीता काफ्ले लामिछानेले पक्की पुल भए कुश्मा र फलेबासबीचको सम्बन्ध नजिक हुने बताइन् । ‘पुलले दुई गाउँबीचमा मात्रै होइन । दुई नगरको विकास समेत हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?