कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नियम पालना गर्दैनन् चालक

कास्की — पोखरामा दिनहुँ सवारी साधन थपिइरहेका छन् । तर सडक, पार्किङस्थल जस्ता पूर्वाधार भने थपिएका छैनन । यसले ट्राफिक जाम हुन थालेको छ । मोटरसाइकललगायत अन्य सवारी चालकले ट्राफिक नियमको उल्लंघन गर्दा समस्या झन थपिँदै गएको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न व्यस्त चोक तथा सडकमा नो पार्किङ स्टयान्ड, रोड डिभाइडर (ट्राफिक कोण) समेत राखिएको छ । तर, धेरैजसो चालकले नियम पालना गर्दैनन् । सडकमा प्रायः चालकले नोपार्किङ लेखिएकै स्थानमा मोटरसाइकल, स्कुटर, पानी बोक्ने गाडी, सामान बोक्ने भ्यान लगायतका साधन रोकेका हुन्छन् । कतिले जानेर रोक्छन् भने कतिले नजानेर रोक्ने ट्राफिक प्रहरीको भनाइ छ ।


‘धेरै जसो चालकले ट्राफिक नियमबारे बुझेर पनि अनुशासनहीन र लापारबाही गरेको पाइन्छ,’ जिल्ला ट्राफिक प्रहरीका निरीक्षक मुरारी मिश्रले भने, ‘जबसम्म चालकले ट्राफिक नियम पालना गर्दैन तबसम्म ट्राफिक जाम हुने दुर्घटना निम्त्याउने हुन्छ ।’ उनका अनुसार पोखराका विभिन्न चोकबाट नोपार्किङ स्ट्यान्डमा रोक्ने, गलत साइडमा रोक्ने, मापसे गरेर चलाउने लगायतका नियम पालना नगर्ने चालकलाई पक्राउ गरी जरिवाना तथा नियमअनुसार कानुनी कारबाही भइरहेको छ । नियमविपरीत रोकिने दैनिक डेढसयदेखि २ सयभन्दा बढी सवारी साधन पक्राउ पर्छन् ।


ट्राफिक व्यवस्थापनको नियमबारे लेखिएको बोर्डको चालकले ख्याल नगर्नाले दुर्घटना र सडक जामको समस्या आएको पोखरा महानगरपालिकाका ट्राफिक महाशाखा प्रमुख सुरेन्द्र पौडेलले बताए । ‘बोर्डको ख्याल राखिदिए त्यसमा ट्राफिक प्रहरीको आवश्यक पर्दैन,’ पौडेलले भने, ‘दुर्घटना र जाम हुने समस्या समेत आफैं हटेर जान्छ ।’ बस बिसौनीमा समेत अरू साधन रोकेको पाइन्छ । त्यसले समेत समस्या आएको नगरबस चालकको गुनासो छ । ‘यात्रु ओराल्ने ठाउँमा रोक्न भनेर ल्यायो त्यस ठाउँमा बाइक र स्कुटर हुन्छ, अनि कसरी हामीले रोक्ने ?,’ बसचालक कमल गुरुङले भने, ‘नियम सबैले पालना गरे समस्या आउँदैन ।’


न्युरोडमा भेटिएकी काहुँखोलाकी गीता केसी भन्छिन्, ‘खाली ठाउँ देखेर रोकें, बोर्डमा ध्यानै गएन, हतार थियो, एकैछिनमा हुन्छ भनेर बैंकमा पसेकी हुँ तर, समय लाग्यो ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?