१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लिफ्ट प्रविधिले ५० घरमा पानी

प्रकाश बराल

बागलुङ — बिहानको ३ बजे उठेर पधेंरामा लाइन बस्नुपर्थ्यो । एक गाग्री भरेर घर आइपुग्दा ३ घण्टा लाग्थ्यो । त्यसले बिहानको खाना पकाउनै ठिक्क । त्यसपछि दिउँसो पनि लाइन, बेलुकी पनि लाइन बसेर दैनिक खानेपानीको जोहो गरेको उनले अझै भुलेकी छैनन् ।

लिफ्ट प्रविधिले ५० घरमा पानी

बागलुङ नगरपालिका–४ पाखाथरकी ७२ वर्षीया हेमन्तकुमारी सापकोटाले ती दुःखका दिन गएको अनुभव गरेकी छन् । बिहानभरि खानेपानीकै लागि धाउनु परेपछि छोराछोरी समयमा विद्यालय पठाउन नपाएकी सीता सापकोटाले अहिले घरको काम भ्याएर बजारमा जागिर खान थालेको बताइन् ।


वर्षौंदेखिको दुःख अन्त्य भएको पनि उनले बताइन् । सदरमुकाम नजिकै भए पनि ५० घरले खानेपानीको सास्ती खेपेका थिए ।

वर्षौंदेखिको समस्यालाई गाउँलेकै अगुवाईमा हटाएका छन् । समस्या हटाएका स्थानीयले लोपोन्मुख राइँलोको नामबाट योजनाको नाम राखेका छन् । राइँलो खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेर आयोजना निर्माण भएको हो ।


एकैघरका दाजुभाइ धेरै हुँदा राइँलो सम्म पुग्थ्यो । थोरै सन्तान भएपछि साइँलो, काइँलो, राइँलो जस्ता नाम लोप भएकाले आयोजनाको नाम राखिएको उपभोक्ता समितिका अध्यक्ष वासुदेव उपाध्यायले बताए ।


आयोजना निर्माणमा बागलुङ नगरपालिकाले साथ दिएको छ । बस्तीदेखि ३ सय मिटर तलको मुललाई संकलन ट्यांकी बनाएर लिफ्ट प्रविधिमार्फत डाँडामा पानी लगिएको छ । उक्त स्थानमा ५० हजार लिटरको अर्को ट्यांकी बनाएपछि गाउँभरि पानी वितरण गरिएको उपाध्यायले बताए ।


स्थानीयले प्रतिघर २० हजार रुपैयाँ नगदै संकलन गरेपछि नगरपालिकाले विनियोजन गरिदिएको २० लाख ७३ हजार रुपैयाँमा ४ लाख रुपैयाँको श्रमदान पनि थपेर उनीहरूले खानेपानी योजना सम्पन्न गरेका हुन् । योजना २ वर्षमा सकिएको हो । एक जनाले ४५ दिनसम्म श्रमदान गरेका छन् । ३ हजार मिटर पाइपलाइन बिच्छ्याएर अहिले ४५ घरमा पानी वितरण भइसकेको छ । छुटेका घरमा पनि छिटै पुग्नेछ ।


योजनाबाट घरघरमा चौबिसै घण्टा पानी आउन थालेको छ । ‘गाईभैंसीलाई पानीकै नजिक पाल्ने र घरमा गाग्रीमा खेपेको पानीले चलाएका थियौं, अहिले चाहिएपछि मात्र गाग्री थापिन्छ,’ सापकोटाले भनिन्, ‘कतिपय घरले ड्रम र गाग्री थन्क्याएका छन् ।’ पानी खसेको दुई महिना मात्र भयो ।


गाउँमा पानी आएपछि स्थानीयले घरघरमा गाईभैंसी पाल्न पनि थालेका छन् । ‘चाहिएका बेला पानी आउने भएपछि घरघरमा गाई भैंसी पाल्न थालेका छौं,’ स्थानीय हरिनारायण उपाध्यायले भने, ‘पानी बोक्ने सास्ती हटेको छ, घाँसपात प्रशस्त भएकाले पशुपालनबाट फाइदा पनि लिन सकिन्छ ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?