खाल्डाखुल्डीले यात्रामा जोखिम

सम्झना रसाइली

तनहुँ — सडक बनेको २४ वर्ष भयो । स्तरोन्नति नहुँदा सडकभरि खाल्डाखुल्डी छन् । तिनमा पानी भरिँदा यात्रा जोखिमपूर्ण बनेको छ । २०५२ मा ट्रयाक खोलिएको शुक्लागण्डकी नगरपालिकाको ३ र ६ वडामा पर्ने दुलेगौंडा–हर्कपुर मोटरमार्गको अवस्था दयनीय छ ।

सडकभरि खल्डैखाल्डा छन् । हिउँद होस् वा बर्खा सडक हिलाम्य हुन्छ । सडक मर्मतमा कुनै निकायले चासो नदेखाउँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय बलराम घिमिरे बताउँछन् । उनले भने, ‘मोटरमा होस् या पैदल यात्रा, सधै असुरक्षित यात्रा गर्नुपरेको छ ।’ उनका अनुसार सडक बीचमा पोखरी नै भन्न मिल्ने खालका खाल्डाखुल्डी छन् । चाडपर्व नजिकिएका बेलामा तत्काल सडक मर्मत गर्नुपर्ने उनले बताए ।

बिग्रिएको सडकखण्डका कारण दुलेगौंडादेखि उदेनढुंगासम्म पुग्न पनि निकै कठिन भएको स्थानीय गोकर्ण पुंवर बताउँछन् । ‘पिच नभएका कारण समयसमयमा सडक खण्ड बिग्रिंदा गाउँले आफ्नै खर्चले सडक मर्मत गरिआएका थियौं,’ उनले भने, ‘चालु वर्षमा प्रदेशको बजेट परेको र तत्कालै काम भइहाल्छ भनी वडा कार्यालयले कुनै बजेट विनियोजन नगर्दा समस्या विकराल बन्दै आएको छ ।’ दुलेगौंडादेखि कालिमर्‍याङसम्म जसोतसो जिप पुग्छन् ।

जिपमा यात्रु हत्तपत्त चढ्न खोज्दैनन् । ठाउँ ठाउँमा सडक खण्ड बिग्रिएको हुनाले यात्रुहरू सहज रूपमा सवारी साधनमा यात्रा गर्न नपाएको पुंवर बताउँछन् । उनले भने, ‘जिपमा यात्रा गरे तापनि ठाउँठाउँमा यात्रुहरू झर्नुपर्ने हुन्छ । सडकको अवस्था साह्रै नाजुक छ ।’ सवारी चालक पनि त्रासैत्रासमा चलाउनु परेको गुनासो गर्छन । ‘यो सडकमा गाडी चलाउन निकै कठिन छ,’ जिप चालक गोपाल श्रेष्ठ भन्छन्, ‘बाटोको दुरवस्था कारण गाडी बिग्रेको बिग्रै हुन्छ । यही महिना मात्र गाडी मर्मत गर्दा ४५ हजार खर्च भो । जनप्रतिनिधि आएपछि बाटोको सुधार होला भनेको केही भएन ।’ ७ किमि सडक पार गर्न एक घण्टासम्म लाग्ने उनले बताए ।

वडा ३ का अध्यक्ष रामकुमार श्रेष्ठले छिट्टै सडक मर्मत गर्ने बताएका छन् । यसअघि पनि एक हप्ताभित्रै मर्मत सुधारको काम गर्ने भनिए तापनि जेसीभी नपाउनले समयमै काम हुन नसकेको श्रेष्ठले बताए । ‘नगरको जेसीभी शुक्लागण्डकी–१२ मा गएको छ,’ उनले भने, ‘आन्तरिक स्रोतबाट बाटो मर्मतका लागि बजेट उपलब्ध गराउन कार्यपालिकामा माग गरें तर सुनुवाइ भएन । कार्यपालिकाले आवश्यकभन्दा पनि अनावश्यक क्षेत्रमा बजेट विनियोजन गरेको छ ।’

सधैं बस/जिप गुड्ने सडकमा वडाबासी लामो समयदेखि भारी बोकेर हिँड्नुपर्ने अवस्था आउँदा आफू पनि चिन्तित भएको वडा ६ का अध्यक्ष कृष्णबहादुर पौडेल बताउँछन् ।

गत वर्ष सडक बोर्डबाट परेको ५ लाख रुपैयाँ उपभोक्ता समितिले हिनामिना गरेका कारण सडकको यो अवस्थामा आएको भन्दै वडाध्यक्ष पौडेलले नियमसंगत काम गर्न समितिलाईसचेत गराए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

नपाक्दै भाँचिए मकै

किसान भन्छन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा कलिलै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थाल्यौं ।’
वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका एवं सन्धिखर्क नगरपालिकाका गाउँलेले मकैका हरिया घोघा नै भाँच्न थालेका छन् । छिप्पिदासम्म बारीमा राख्दा बाँदरले खाइदिने डरले नपाक्दै भाँच्नु परेको छत्रदेव गाउँपालिका ६, ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए ।

‘भाँच्न लागेका मकैका बोट हरियै छन् । घोगाको पोस्कर आधा मात्रै पाकेको छ,’ उनले भने, ‘भित्र मकैका दाना पुरै छिप्पिसकेका छैनन् । नङगाड्दा दूध आउँछ । बाँदरलाई खुवाउनुभन्दा बरू काँचै भाँच्न ठीक लागेर हरियै भाँच्न लागेका हौं ।’

सन्धिखर्क नगरपालिका ४, वाङलाकी मुना अधिकारीको बारीमा वर्षमा ८ मुरी मकै फल्थ्यो । पोस्करसितै सोलीमा राखेर हिउँदमा बल्ल मकै छोडाउँथिन् । फुर्सदका बेला मकैका दाना छुट्याएर सुकाउने र मिलमा लगेर पिसेर आफूहरूले आटो खाने र भैंसीलाई कुँडो खुवाउने गर्थिन् । ‘२ वर्षअघिसम्म असार/साउनसम्म पुराना मकैको आटो खाइन्थ्यो । अहिले त पुस/माघमै सकिन्छ,’ उनले भनिन्, ‘घोगा राम्ररी नपाक्दै भित्र्याएपछि दाना चाउरी पर्छन्, किरा लागेर आधा खाइदिन्छ र आटो, पिठो पनि खाँदा स्वादिलो हुँदैन ।’

घोगा छिप्पिंदासम्म त बारीमा मकै नै रहँदैन । ‘घरमा छोराछोरी र ममात्रै छु, श्रीमान् विदेश हुनुहुन्छ, बिहानभर खाना पकाएर नानीबाबुलाई स्कुल पठाउनै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘बिहानदेखि साँझसम्म बारीमै चौकीदारी गर्दा छोराछोरीको हेरचाह कसले गरिदिने ? बाँदरलाई खुवाएर बारी रित्याउनुभन्दा काँचै घोगा भित्र्याए जितिन्छ भनेर भाँच्न थालेकी हुँ ।’

एउटा/दुईवटा मात्रै बाँदर छैनन् । ठूलै बगाल छ । कति बेला कताबाट पसेर मकै खाइदिन्छ भन्ने चिन्ता छ । बाँदर रुखमा बस्छ । जंगलमा लुकेर बसेको बाँदरलाई लेखेटन सम्भव छैन । ‘बाँदरको बिगबिगीले हैरानै पारेको छ,’ छत्रदेव मढेलचौरका कृष्ण पाण्डेले भने, ‘बारीको छेउमा कपडाको नक्कली मान्छे बनाएर राखेका छौं । झ्याप्पै बारीमा बाँदर पस्न नसकोस् भनेर । बारीमा मान्छे नदेखे पसेर छिनभरमै नोक्सान गरिहाल्छ ।’

यो दुःखबाट आजित भएरै बारीबाट काँचै मकै भाँच्न सुरु गरिएको उनले बताए । असोजतिर भाँच्ने समय हो । त्यतिबेला मकैको बोट पूरै सुकेको हुन्छ । घोघाको दाना छिप्पेको हुन्छ । तर, बाँदरले खाइदिने डरले अहिले नै भाँच्न सुरु गरेको उनको भनाइ छ । घरदेखि टाढा जंगल र खर्‍यानको नजिकका बारीका मकै अहिले नभाँच्ने हो भने असोजसम्म एउटा घोगा पनि देख्न नपाइने उनले सुनाए ।

छिप्पिसकेका दाना घाममा सुकाएपछि किरा लाग्दैन । आधा काँचो मकैमा चिलेसा, ढुसी लाग्ने गर्छ । मकै मात्रै नभएर बारीका फर्सी, सिमी, बोडी, घिरौलालगायत तरकारी पनि बाँदरले नोक्सान गरिदिने वाङलाका भुवन श्रेष्ठले बताए । हिउँदे बाली पनि खाइदिन्छ । वर्षदिन दुःख गरी ६ महिनालाई खान पुग्ने अन्नबाली नै बाँदरको आहारा भएपछि गाउँमा बस्न गाह्रो भएको उनले सुनाए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्