जीर्ण फलामे पुलको संरक्षण हुने

प्रताप रानामगर

दमौली — तनहुँको भिमादस्थित सेतीनदी माथि जीर्ण अवस्थाको फलामे झोलुङ्गे पुलको संरक्षण हुने भएको छ । करीव ३ सय वर्ष पहिले ढोरफिर्दीको मिनाम खानीबाट फलामको धाउ निकालेर पुल बनाइएको थियो ।

पछिल्लो समय जीर्ण बन्दै गएपछि संरक्षण गर्न लागिएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।

‘पुल जीर्ण बर्न्दै गएको छ,’ उनले भने, ‘अध्ययन केन्द्र र पर्यटकीय दृष्टिकोणले पुलको संरक्षण गर्न लागिएको हो ।’ पुरातात्विक र ऐतिहासिक पुल भीमादको गहनासमेत भएकाले संरक्षण गर्न आवश्यक रहेका उनले बताए । पुलको दायाँबायाँ रहेको फलामको साङ्गलोको लठ्ठा राम्रै छ । तर, पुलमा बिच्छाएको काठको फ्ल्याक कुहिएर झरेको छ ।

पुलबाट आवतजावतका लागि भन्दा पनि पुरातात्विक सम्पदा एउटा गहनालाई सम्पत्तीका लागि संरक्षण गर्न लागएिको उनले बताए । पुल संरक्षणका लागि विस्तृत अध्ययनका लागि गतवर्ष नगरपालिकाले बजेटको व्यवस्था गरेको थियो । पुलको डिपिआर, स्वागत गेट, मन्दिर परिसरको संरक्षणका लागि अघिल्लो बर्ष ६० लाख रुपैयाँ बजेट विनयोजन गरेको उनले बताए । ‘यस वर्ष प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘बजेट पुगेन भने नगरपालिकाले थप्नेछ ।’

जीर्ण पुलको संरक्षण गर्न दशकदेखि स्थानीयले माग गर्दै आएका थिए । पुल संरक्षणको प्रक्रिया थालिएकोमा खुसी लागेको स्थानीय हरि थापाले बताए । ‘लामो समयसम्म पुल संरक्षणका लागि आवाज उठाएका थियौं,’ उनले भने, ‘अब हाम्रो माग पूरा होला जस्तो छ ।’ भिमाद घुम्न आउनेले गाडी रोकेर पुल हेर्ने र फोटो खिचेर जाने गरेको उनले बताए । स्थानीय ठाउँको खानीबाट फलामबाट पुल निर्माण गरेकाले बाहिरबाट आउने मानिसले सोधपुछ गर्छन । संरक्षण गरी पुलको इतिहास तथा दस्ताबेज राख्न सके पर्यटकलाई जानकारीका लागि सहज हुने थियो ।

तत्कालीन राजा सुरेन्द्रविरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाका पालामा पुल बनेको थियो । राजा सुरेन्द्रविक्रमले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७ सय रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए । त्यही गुठीबाट उनले झोलुङ्गे पुल निर्माण गरेको तथ्य छ ।

शिलापत्र अनुसार उत्खनन गरेका काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको हो । पुलमा जडान गरिएका सम्पूर्ण धातुहरू कुनै मेसिन र कलकारखानाबाट उत्पादित बस्तु नभई हातको सीप प्रयोग गरिएको देखिन्छ । वि.स २०२२ सालमा आएर गुठी सम्हाल्ने जुक्तराज शाहीले पुल फराकिलो बनाउन लगाए ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

५ करोडको योजना १५ करोड पुग्यो

हरिराम उप्रेती

गोरखा — समयमै काम सकिएको भए कुन्दुरटार सिंचाइ आयोजना झन्डै दशकअघि निर्माण भइसक्थ्यो । गोरखा नगरपालिका–१०, ११ र १२ वडाको ५ सय ५० हेक्टर जमिनमा बाह्रैमास सिंचाइ उपलब्ध हुन्थ्यो । बाँझो जमिन हराभरा हुन्थ्यो । पाखोबारी खेत बन्थ्यो । बजेट पनि ५ करोड भए पुग्थ्यो । 

तर, ०५८/०५९ मा सुरु आयोजना निर्माणको काम अलपत्रै छ । नहरको डोब कतै पुरिइसकेको छ । कतै झाडीले ढाकेको छ त कतै नहरमाथि घर बनेका छन । अब फेरि नयाँ योजनै बनाउनु पर्ने अवस्था छ । लागत बढेर १५ करोड पुगेको छ । सरासर काम भएको भए आयोजना आब ०६८/६९ मा सकिन्थ्यो ।

सुरुवाती चरणमा आयोजनास्थलको मुहान निर्माण तथा ३ किमि नहर खन्नमात्र ९५ लाख ५० हजार खर्च भएको थियो । ०६२/६३ देखि ०६८/६९ सम्म काम सम्पन्न गर्न भन्दै पुन ४ करोड ८८ लाख ३३ हजार रुपैयाँ तत्कालीन सिंचाइ मन्त्रालयले विनियोजन गर्‍यो । कुल ५ करोड ४५ लाख ८८ हजार बजेट स्वीकृत भएर खर्च पनि भयो । तर आयोजना भने अलपत्र भयो ।

जरेवरदेखि कुन्दुरटारसम्मको १७ किमि मध्ये ७ किमिमा मुस्किलले पानी चल्छ । ‘एक किमिमा नहर बने पनि पानी बग्ने अवस्था छैन,’ गोरखा नगरपालिका–१० छेवेटारका पुष्प रानाले भने, ‘नहरको केही भागमा पहिरो गएको छ । मर्मत नगरी पानी खसाल्न मुस्किल छ ।’ बाँकी ९ किमिमा दशक अघि खनिएको नहरको डोव कतैकतै देख्न सकिन्छ ।

७ किमिमा सरसफाई तथा मर्मत गरेर पानी चलाउन ०७५/७६ मा १० लाख ८३ हजार खर्च भएको छ । नहरको ७ किमि खण्ड झाडीले ढाकेकोमा मर्मतपछि वोहोरावेसी, सिमलपानी, वेनिखोलाको २ सय हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुगेको स्थानीय दयाराम धितालले बताए । नहर माथिबाट खसेको बर्खे भेलको गेगर्‍यानले अहिले पुन जरेवरस्थित मुहान नजिकैको केही नहर पुरेको उनले बताए ।

निर्माण सामाग्री र ज्यालदर महंगिएकाले अहिले लागत वढेको छ । आयोजनालाई मुर्तरुप दिन गतवर्ष केन्द्रिय सरकारको जलस्रोत मन्त्रालयमातहत रहने गरि पालुङटार कुन्दुरटार सिंचाइ आयोजनाको कार्यालय स्थापना भएको छ । अलपत्र आयोजनाको निर्माण शुरु गर्न पुन डिपिआर तयार पारिएको आयोजना प्रमुख देवनारायण शाहले बताए ।

आयोजनालाई ३ वर्षभित्र पुर्णता दिने गरि काम शुरु गरेको उनको भनाइ छ । ‘डिपिआर तयार भइसक्यो, विभागीय स्वीकृती हुन वाँकी छ,’ उनले भने । अव भने आयोजना सम्पन्न गर्न १५ करोड लाग्ने उनले बताए । एक वर्षको अवधिमा डिपिआरसहित ७ किमिको मर्मत, छेवेटार वजार क्षेत्रमा ढकनसहितको नहर बनाउने, उपभोक्ता समिति गठन लगायतको काम भएको उनको भनाइ छ ।

गत आबमा ३ करोड ३८ लाख विनियोजन भएकोमा २ करोड फिर्ता गएको छ । छेवेटारमा ७६३ मिटर कभर्ड क्यानल वनाउन दुई करोड ६० लाखमा ठेकेदार कम्पनी मेगा गोरखासँग ठेक्का सम्झौता भएको थियो । तर समयमै काम हुन नसक्दा रकम फ्रिज भएको उनले बताए । ‘म्याद सकिन अझै ११ महिना छ,’ उनले भने, ‘वस्तीको विच भागमा वन्ने नहरको ठाउँ–ठाउँमा खाली छाडेर पानी तान्न मिल्ने खालको बनाउन लागेका हौँ ।’

जरेवरस्थित दरौदी नदिबाट पानी ल्याएर गोरखा नगर क्षेत्रको वोहोरागाउँ, छेवेटार, सिर्दि, ओख्ले, छापगाउँ, रानीटार, कुन्दरटार र अढाइ गाउँसम्म सिंचाइ सुविधा उपलब्ध गराउन आयोजनाको निर्माण शुरु भएको हो । छेवेटार कुन्दुरटार खण्डको नौ किमिको ठाउँ–ठाउँमा नहरको डोव पनि छ ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्