२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जनप्रतिनिधिको विदेश मोह

बागलुङ — बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल चीन भ्रमणमा निस्केका छन् । नगर कार्यपालिकाको बैठकको निर्णयबिना उनी त्यता लागेका हुन् । उनी विदेश गएको उपप्रमुख र वडाध्यक्षहरूलाई औपचारिक जानकारी छैन ।

किन र के प्रयोजनका लागि चीन गए भन्ने थाहा नभएको वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘व्यक्तिगत कामका लागि जानु भएको होला, हामीलाई थाहा भएन,’ सुवेदीले भने, ‘सुविधाको राहदानी भएकाले व्यक्तिगत काममा तत्काल आवश्यक परेर जानु भएको हुन सक्छ ।’ किन गएको, कहिले फर्कन्छन् भन्ने कार्यालयमा जानकारी नभएको उनले बताए ।


पौडेल यसअघि पनि चीन गएका थिए । किन र कसरी गए भन्ने उनले जनप्रतिनिधि र कर्मचारीलाई जानकारी समेत गराएका छैनन् । केही जनप्रतिनिधिले चीनको सहयोगमा निर्माण गरिने केही पूर्वाधारका लागि अध्ययनमा गएको बताए । ‘चीनको सहयोगमा खानीको उत्खनन गर्ने कुरा थियो त्यसका लागि अध्ययनमा होकी ?’ वडा सदस्य अर्जुन घिमिरेले भने, ‘त्यस्तो काम भए औपचारिक निर्णयबाटै जान मिल्थ्यो ।’ केही समयअघि नगरको ९ र ११ वडामा फलाम र तामाखानी उत्खनन गर्न सकिने सर्भे भएको थियो ।


पौडेल गतवर्ष कोरिया भ्रमणमा पनि गएका थिए । कार्यपालिकाको बैठकको निर्णयबिनै उनी विदेश गएर फर्केपछि खर्च भराउने निर्णय गराएका थिए । भ्रमणको विरोध भए पनि उनले खर्च लिएरै छाडे । उनले ९ लाख खर्च माग गरे पनि कार्यपालिकाले १ लाख ७० हजार रुपैयाँ खर्च व्यहोरेको सुवेदीले बताए । यसपटकको भ्रमणबारे कार्यालयमा कोही पनि जानकार छैनन् । दैनिक हाजिर गर्नु नपरेकाले गए नगएको, आए नआएको पनि थाहा नभएको सुवेदीको भनाइ छ । ‘विदेश जानै पर्ने कारण केही थिएन, किन जानु भयो बुझौला,’ उपप्रमुख सुरेन्द्र खडकाले भने, ‘कार्यवाहक कसलाई दिएको भन्ने पनि थाहा छैन ।’


विदेश भ्रमणमा जाने धेरैजसोले स्थानीय तहबाट खर्च भराएका छन् । केहीले व्यक्तिगत खर्च गरेको दाबी गरे । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अमेरिका पुगेर फर्केका छन् । उनले व्यक्तिगत खर्च गरेको दाबी गरे । जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलसहित वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोली जापान पुगेर फर्क्यो ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?