२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

११८७ नयाँ उद्योग

गोरखा — आर्थिक वर्ष ०७५/७६ को एक वर्षको अवधिमा जिल्लामा ११ सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । उद्योगतर्फ ६ सय ८८ र र वाणिज्यतर्फ ४ सय ९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा उद्योगतर्फ ६ सय ८६ र वाणिज्यतर्फ चार सय २५ उद्योग दर्ता भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत अवामा नयाँ उद्योग दर्ता गरी सञ्चालन गर्नेको संख्यामा वृद्घि भएको कार्यालयले जनाएको छ ।


उत्पादनमूलक, ऊर्जामूलक, पर्यटन, सेवा र कृषि तथा वनजन्य उद्योगतर्फ दर्ता भएका हुन् । किराना, सप्लायर्स, हार्डवयर वाणिज्यतर्फको उद्योगभित्र पर्छन् । गत आवमा उत्पादनमूलक अन्तर्गत पाउरोटी, ग्रिल, कपास, ब्लक, हाते कागज, जडीबुटी, हस्तकलाको मात्र ५० नयाँ उद्योग दर्ता भएको उद्योग अधिकृत नवराज राउतले बताए ।


होटल मात्र एक वर्षको अवधिमा १ सय ३३ नयाँ दर्ता भए । सेवा अन्तर्गत यातायात, निर्माण, कम्प्युटर सेवा, मोटरसाइकल वर्कसप, ब्युटिपार्लरका एक सय उद्योग नयाँ खुलेको राउतले बताए । कृषि तथा वनजन्यअन्तर्गत पशुपन्छी फर्म, बाख्रा फर्म, कुखुरा तथा बंगुर फर्म, नर्सरी, फलफूलका मात्र ३९४ उद्योग नयाँ दर्ता भएका छन् ।


उद्योग दर्ता गर्दा पुँजी लगानी, वार्षिक क्षमता, रोजगारी पाउनेको संख्या उल्लेख गर्नुपर्ने प्रावधान छ । एक वर्षको अवधिमा खुलेका नयाँ उद्योगको समग्रमा कुल पुँजी ५८ करोड ५७ लाख ४८ रहेको राउतले बताए । उद्योग दर्ताको आधारमा वार्षिक उत्पादन क्षमता ९० करोड २५ लाख ८१ हजार रहेको भनाइ छ । खुलेका नयाँ उद्योगबाट समग्रमा १५ सय ९५ ले रोजागारी पाउने घरेलुले जनाएको छ ।

‘महिलाको नाममा उद्योग दर्ता गरे निवेदन दस्तुरबाहेक अन्य कुनै शुल्क लाग्दैन,’ उनले भने, ‘३ सय ५० उद्योग महिलाको नाममा दर्ता भएको छ ।’


नयाँ उद्योग दर्ता नवीकरणबाट मात्र एक करोड ४१ लाख ९९ हजार ५० रुपैयाँ राजस्व संकलन भएको राउतले बताए । फर्म दर्ता, नवीकरण, पुँजी वृद्घि, जरिवाना दस्तुर र निवेदन दस्तुरबाट कार्यालयले राजस्व संकलन गर्दै आएको छ । कार्यलयमा हालसम्म ४ हजार २ सय ३२ उद्योग दर्ता भएको उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?