कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुराँसको जंगल बनाउन बिरुवा रोपिँदै

नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरगढीमा लालीगुराँसको जंगल बनाउन ५ हजार बिरुवा रोपिने भएको छ । गाउँपालिकाको २५ लाख रुपैयाँ लगानीमा वृक्षरोपण गर्न लागिएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले शुक्रबार वृक्षरोपणको सुरु गर्नेछन् । हुप्सेकोट–५ र ६ वडाको रुद्रपुरगढीमा वन बनाउन लागिएको हो । कवानपुरको नर्सरीवाट बिरुवा ल्याइसकिएको र यतिबेला खाडल खन्ने काम भइरहेको छ ।


उक्त स्थानमा दुई दशकअघि गुराँसको बाक्लो जंगल थियो । स्थानीयले अदुवाको सुठो बनाउने क्रममा धूवाँ कम आउने भएकाले गाउँलेले गुराँस काटेर सखाप पारेका थिए । तिनै गाउँलेहरू यतिबेला पर्यटक लोभिने गुराँसको वन बनाउन लागेका हुन् । अहिले त्यो नांगो डाँडा छ ।


महाभारत पहाड शृंखलाअन्तर्गत धौवादीको रुद्रपुर, राम्चे, पोखरी, नाम्जाकोट, तारेभञ्याङ, श्रीपोखरीलगायत क्षेत्रमा लालीगुराँसको वन निर्माण गर्न लागिएको हो । उजाड बनेको यस क्षेत्रलाई जिल्लाकै नमुना पर्यटकीय स्थल बनाउन गाउँपालिकाले एक विद्यार्थी, एक गुराँस कार्यक्रम ल्याएको हो ।


गाउँपालिकाभित्रका ४५ विद्यालयको नाममा छुट्टाछुट्टै ब्लक बनाई गुराँस रोप्न लागिएको हो । यस्तै जिल्लाका ८ स्थानीय तह, विभिन्न संघसंस्थाको नाममा समेत करिब ७० ब्लक निर्धारण गरिएको छ । संरक्षणमा सहयोग पुर्‍याउन छुट्टाछुट्टै ब्लक निर्माण गरी रोप्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए ।


गण्डकी प्रदेश सरकारको पर्यटक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत श्रीपोखरी–दारे भञ्ज्याङ–रुद्रपुर गढी–देवचुली–मुकुन्दसेन दरबार हुँदै गैंडाकोटको मौलाकालिकासम्म पदमार्ग निर्माणको प्रस्तावित कार्ययोजना छ । यसले पनि पर्यटकीय हिसाबले वन महत्त्वपूर्ण हुने विश्वास रहेको छ । यसै क्षेत्रमा रहेको सेनकालीन रुद्रपुर गढीको प्रचारप्रसारमा समेत लालीगुराँसको वन निर्माणको योजनाले विश्वास सबैको छ ।


गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले गतिलो पर्यटकीयस्थल बनाउन वृक्षरोपण गर्न लागिएको बताइन् । ‘पहिले आफैंले मासेर लालीगुराँस सकियो । यतिबेला आफैं फेरि वन वनाउन लागेका छौं,’ अध्यक्ष पाण्डेले भनिन्, ‘पर्यटकीय क्षेत्र बन्छ, पर्यटकहरू आउँछन् ।’ रुद्रपुर गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सेनाहरूले परेड खेल्ने टुँडिखेल छन् ।


साथै गढीमै हावाबाट बिजुली निकालिएका कारण हरेक दिन सयौं व्यक्ति हेर्न पुग्छन् । रुद्रपुरगढी सदरमुकाम कावासोतीबाट २४ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?