१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बागलुङ 'मुक्तिनाथको गेट’

प्रकाश बराल

बागलुङ — होटल व्यवसायीले बागलुङलाई ‘मुक्तिनाथको गेट’ नाम दिएका छन् । भारतीय र आन्तरिक पर्यटक यही बाटो भएर मुक्तिनाथ जान थालेपछि व्यवसायीले पर्यटक आर्कषणका लागि नामाकरण गरेका हुन् । 

मुस्ताङ घुम्ने पर्यटकलाई कम्तिमा एकदिन अड्याउन नारा दिएको उनीहरू बताउँछन् । नारासँगै पर्यटनका कार्यक्रम पनि बनाएका छन ।


मुक्तिनाथ हिंडेका पर्यटकलाई कम्तिमा एक दिन बसालेर यहाँको कालिका भगवती मन्दिर, पञ्चकोट, ढोरपाटन, गलकोट, भकुण्डे लगायत क्षेत्र घुमाउन पहल गर्न गेटको नाम दिएको होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताए । त्यसका लागि जिल्लामा पर्यटक अड्याउने पूर्वाधारसमेत बनेको उनले बताए । ‘सदरमुकाममा दैनिक ३ हजारसम्म पाहुना राख्न सकिन्छ,’ राजभण्डारीले भने, ‘हामीले अझै धेरै प्याकेज बेच्न सकेका छैनौं ।’ केही बर्षदेखि आन्तरिक पर्यटकले बागलुङका अधिकांस होटल खचाखच भइरहन्छन् ।


ठूलो आकारका होटल थपिएपछि पर्यटक बढेको उनीहरूको बुझाई छ । ‘प्रचार गर्न नसक्दा कालिका मन्दिरमा आएका पाहुनालाई अझै बजारमा भित्राउन सकिएको छैन,’ अर्का व्यवसायी अर्जुन चोखालले भने, ‘पाहुना आर्कषित गर्न सरसफाई र खानाको गुणस्तर सुधारको काम भएका छन् ।’


अधिकांस होटलले कार्यक्रम हल बनाउन थालेका छन् । प्याकेज तथा बस रिर्जभ गरेर आएका पाहुनाले सास्कृतिक कार्यक्रम, अन्तरक्रिया र छलफल गर्न चाहने भएकाले सबै होटलमा हलको व्यवस्था गरिएको उनले बताए ।


बागलुङदेखि मुक्तिनाथका लागि सिधा यातायातका साधन पाउन थालेपछि देशभरका पर्यटकको रोजाई बढ्न थालेको हो । ‘यसरी आएका पाहुनालाई केही दिन बस्ने वातावरण हामीले बनाउन खोजेका हौं,’ राजभण्डारीले भने, ‘राजधानीका ट्राभल एजेन्सीले पनि प्याकेजमा पाहुना पठाउन थालेका छन् ।’ यहाँका होटलले पनि मुक्तिनाथ जाने जिप र बसका लागि सम्पर्क गराउने काम गर्छन् ।

बागलुङमा दर्जनबढी सहकारी छन् ।


तीनको अबलोकनका लागि पनि दैनिक २ सयसम्म भ्रमणमा आउने गरेका छन् । ‘हामीले बचत तथा ऋण, उत्पादन, कृषि र पशुपालन सहकारीका केही नमूना बनाएकाले अवलोकनकर्ता दैनिक आउने गर्छन्’ जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले भने, ‘पर्यटन प्रवर्द्धनमा पनि उनीहरू सहयोगी भएका छन् । अन्य प्रयोजनका लागि आएपनि बागलुङ कालिकाको दर्शन र पञ्चकोट भ्रमण उनीहरूको पहिलो रोजाई बन्ने गरेको हो ।


पाहुना बढ्न थालेपछि होटल व्यवसायीले लगानीसमेत थपेका छन् । चोखालले एक करोड लगानीमा कालिका मन्दिर नजिकै समिट रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । अध्यक्ष राजभण्डारीले पनि झण्डै डेढ करोड लगानी थपेर भवन बनाए ।


रेड एप्पल होटलले शुरुमै ५ करोड लगानी गरेको थियो भने राजन होटलमा ३ करोड लगानी भएको संचालक राजन शाक्यले बताए । ब्राउन आईजकी संचालक मीना श्रेष्ठले भनिन्, ‘ठूलो पार्टीलाई अब पोखरा पुग्न पर्दैन । पार्किङ, फ्रि वाईफाई, सरसफाई र गीतसंगीतको व्यवस्थापनले होटलमा कार्यक्रम गर्ने चलन बढेको छ ।’


व्यवसायीले गर्ने मेला महोत्सवले होटल व्यवसायमा लगानी र व्यवसाय बढेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताउँछन् । ‘महोत्सवमार्फत पर्यटक भित्राउने पहल भएको छ,’ उनले भने, ‘सामाजिक संस्थाले पनि राष्ट्रियतहका सम्मेलनमा बागलुङ रोज्न थालेका छन् ।’

प्रकाशित : भाद्र १०, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?