२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मध्यपहाडीको काम सुचारु

सडक साँघुरो भएपछि जिल्ला प्रशासन, प्रहरी, व्यवसायी, उद्योग वाणिज्य संघलगायतले सडकको काम सुचारू गर्न दबाब दिएका थिए
दिप्ती सिलवाल

पर्वत — मनसुनको असर, निर्माण सामग्री, कामदार अभावलगायत कारण देखाउँदै काम रोकेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) निर्माण कम्पनीले रोकिएको काम थालेको छ ।

मध्यपहाडीको काम सुचारु

सडक विस्तारका क्रममा भत्किएको पहिरो र खाल्डाखुल्डी पुर्नसमेत आनाकानी गरेको लामा कन्स्ट्रक्सनले केही दिनयता ठूला पहिरो पन्छाउने र सडकका खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको हो ।


विभिन्न प्राविधिक कारण देखाउँदै कम्पनीले गत असारको पहिलो सातादेखि काम रोकेको थियो । सडक फराकिलो पार्न व्यवसायीले सबैतिर एक्साभेटर लगाउँदा पर्वत खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर एकतर्फी यात्रा पनि जोखिमपूर्ण बनेको थियो ।


नयाँ पुलदेखि मालढुंगासम्म करिब दुई दर्जन पहिराले सडक साँघुरो भएपछि जिल्ला प्रशासन, प्रहरी, व्यवसायी, उद्योग वाणिज्य संघलगायतले सडकको काम सुचारु गर्न दबाब दिएका थिए । स्थानीयको दबाब व्यवसायीले नटेरेपछि संघीय सांसद पदम गिरीले संसद्मा समेत यो विषय उठाएका थिए । गिरीले धौलागिरीको मेरुदण्डका रूपमा रहेको लोकमार्गको काम रोकिँदा दुर्घटना हुन सक्ने भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको मागसमेत गरेका थिए ।


चौतर्फी दबाबपछि लामा कन्स्ट्रक्सनले गत सातादेखि काम अघि बढाएको छ । कम्पनीका पर्वत प्रतिनिधि गोविन्द भुसालले अहिले सबैतिर काम अघि बढेको बताए । ‘वर्षाको केही समय मौसमले काम गर्न नदिएर रोकेकै हो,’ भुसालले भने, ‘बजारमा हल्ला गरेजस्तो सडक बिगारेर सम्पर्कविहीन भएको होइन । तोकिएको समयमा सक्दा हामीलाई नै फाइदा हुन्छ ।’ पर्वत खण्डको सडक दुई लेनको बनाउने गरी लामा कन्स्ट्रक्सनले ०७४ वैशाखमा ३ वर्षको समय लिएर सम्झौता गरी काम अघि बढाएको हो ।


यता मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वतस्थित कार्यालयका अनुसार बीचमा केही समय काम रोकेर ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेको स्विकारेको छ । कार्यालय प्रमुख आशिष थापामगरका अनुसार वर्षाको कारण देखाएर निर्माण व्यवसायीले केही समय काम रोक्दा सर्वसाधारण मर्कामा परे ।


‘निर्माणको बेला यातायात सहज गराउन निर्देशन दिएकै हो,’ उनले भने, ‘निर्देशन बमोजिम काम हुन सकेन । अहिले उहाँहरू तात्नुभएको छ । काम फुल फेजमा अघि बढेको छ ।’ उनले असार र साउनमा काम रोकिए पनि सम्झौता अनुसारको लक्ष्य हासिल भएको दाबी गरे ।


मालढुंगा–बेनी ८ घण्टा अवरुद्ध

कुस्मा–१ पाङको अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बांगेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा मालढुंगा–बेनी सडक दैनिक साढे ८ घण्टा अवरुद्ध भएको छ । कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलका लठ्ठा तन्काउनेलगायत पूर्वाधारको काम गर्नुपर्ने भएकाले सडक विभिन्न समयमा गरी अवरुद्ध गर्नुपरेको सम्बद्ध पक्षले जनाएको छ ।


पर्वत प्रशासनमा बसेको सर्वपक्षीय बैठकले निर्माणाधीन पुलको पर्वत खण्डमा लठ्ठा तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने भएकाले सडक बन्द गर्ने निर्णय गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । आगामी शुक्रबारसम्म सडक अवरुद्ध हुनेछ ।


पुलको लठ्ठा राख्ने भाग खन्नका लागि १२ दिन दैनिक १२ घण्टा माग्नुभएको थियो,’ प्रजिअ नेपालले भनिन्, ‘तीजको समय भएकाले मागे जति समय दिन सकिएन । तीज सकिएपछि थप समय उपलब्ध गराउने सहमति भएको छ ।’ भीरबाट ढुंगा पल्टिने हुनाले सम्भावित दुर्घटना रोक्न सवारी रोकिएको हो ।


बिहान ७–९ बजे र बिहान १० देखि अपराह्न ४ः३० बजेसम्म कुस्मा–१ मालढुंगादेखि जलजला गाउँपालिका–८ दमाखोलासम्मको सडक अवरुद्ध हुनेछ । सडक हुँदा पर्वतको मालढुंगा, जलजला हुँदै म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीलाई बागलुङ बजार र म्याग्दीको रत्नेचौर हुँदै बेनी पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सूचना गरिएको छ । साना र हलुका सवारी पर्वतको सहस्रधाराबाट पाङ हुँदै दमुवाखोलासम्मको वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिने सूचनामा भनिएको छ ।


यातायात व्यवसायीले भने दिउसोको समयमा एक घण्टा सडक खोल्नुपर्ने माग गरेका छन् । हिमशिखर कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पाङ–बागलुङ झोलुङ्गे पुलको अहिले फाउन्डेसनको काम भइरहेको छ । सिंगल स्पानको यो झोलुङ्गे पुल मुलुकमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको छ । पुलको लम्बाइ पाँच सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?