२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

घलेगाउँमा संग्रहालय आकर्षण

आश गुरुङ

लमजुङ — घलेगाउँ भनेपछि जो पनि हुरुक्कै हुन्छन् । घलेगाउँ पुगेपछि के हेर्ने भन्ने सबैको मनमा हुन्छ । गाउँबीचैको संग्रहालय पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

घलेगाउँमा संग्रहालय आकर्षण

गाउँको लगभग बीच भागमा पर्ने सार्क भिलेज पर्यटन संग्रहालय पछिल्लो समय अध्ययन अनुसन्धानको केन्द्र बनेको छ । स्वदेशी तथा विदेशी पर्यटक संग्रहालय हेर्न मात्रै होइन, अध्ययन गर्नसमेत आउने गरेका छन् । गुरुङ संस्कृति र इतिहास अध्ययन तथा अनुसन्धान गर्नेसमेत संग्रहालयमा आउने गरेका पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर

विकले बताए ।


‘गुरुङ समुदायले परापूर्वकालदेखि दैनिक कामकाजमा प्रयोग गर्ने प्रायः सबै सामग्री संग्रहालयमा छ । यही संग्रहालय हेर्न देशीविदेशी आउँछन्,’ उनले भने, ‘घलेगाउँ आफैंमा एउटा संग्रहालय हो । यहाँका हरेक घर संग्रहालय हुन् । घरमा अहिले प्रयोग नहुने र परापूर्वकालमा प्रयोग भएका सामग्रीलाई एकै ठाउँमा राखेका छौं ।


यसको अध्ययन तथा अनुसन्धानका लागि देशीविदेशी आउने गर्छन् ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), साविक उत्तरकन्या गाविस, जिविस, पर्यटन समिति तथा स्थानीयको सहयोगमा करिब १५ लाख रुपैयाँमा स्थानीयले संग्रहालय बनाएका थिए । हाल क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने संग्रहालय २०७३ माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।


‘यो संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मरणकार्यसम्म चाहिने सबै सामग्री, अन्य दैनिक जीवन र कामकाजमा प्रयोग हुने, पौराणिक, हस्तकलाका सामग्री राखेका छौं,’ उनले भने । संग्रहालयमा गुरुङ वेशभूषा, लत्ताकपडा, हस्तकलाका सामग्री, बाँसको चोयाबाट निर्मित सामग्री, ऊनबाट निर्मित राडीपाखी लगायत सामग्री राखिएका छन ।


सार्क भिलेज हुँदै ‘स्मार्ट भिलेज’ को रूपमा अघि बढेको घलेगाउँमा पर्यटकको आगमन बढेको छ । पर्यटन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार गाउँमा आउने पर्यटकको मुख्य रोजाइ संग्रहालय बनेको छ । ‘गाउँ आउने पर्यटक संग्रहालयमा पुग्छन् । फोटो र सेल्फी खिच्नेको भीड हुन्छ,’ उनले भने । पछिल्लो समय घलेगाउँ आउने पर्यटक १५ देखि २० प्रतिशत अध्ययन अनुसन्धानका लागि आउने गरेको उनले बताए ।


हराउँदो संस्कृति र परम्परालाई जीवन्त राख्न संग्रहालय बनाएको क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन समितिका अध्यक्ष घलेले बताए । उनका अनुसार संग्रहालय अवलोकन गर्ने आन्तरिक पर्यटकसँग २५ रुपैयाँ र विदेशी पर्यटकबाट ५० रुपैयाँ शुल्क लिइन्छ । गाउँका ३४ घरमा होमस्टे सञ्चालन गरिएको छ । हिउँदको समय घलेगाउँमा दैनिक ३ सय बढी पर्यटक पुग्छन् ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?