कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गाईखुरे झरनामा क्यानोइङको मज्जा

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–७ की सवनम तामाङ करिब ११० मिटरको झरनाबाट डोरीको सहयोगमा झरिन् । पहरामा टेक्न मिल्ने जुत्ता, टाउकोमा सेतो हेलमेट अनि कम्मरमा सुरक्षापेटी बाँधेर झरिरहेकी उनलाई बीचमा आएपछि फर्किन मन लाग्यो ।

गाईखुरे झरनामा क्यानोइङको मज्जा

तर, साहस बटुलेर झरिन् र लामो सास फेरिन् । ‘मलाई यस्तो लागिरहेको थियो कि, सजिलै फेदमा झर्छु । तर, सुरुमा २/४ पाइला तल जाँदैमा डराएँ । सबैले सक्ने कुरा मैले किन सक्दिन भनेर साहस गरेकाले सफल भएँ,’ उनले भनिन् । बेंसीसहर–१ उदिपुरको आकाशेभीर नजिकै गाईखुरे झरनामा डोरीको सहयोगबाट झरेको देख्ने थुप्रैले जिब्रो टोके । ‘साँच्चिकै साहसिक रहेछ,’ बेंसीसहर–७ का वसन्त अधिकारीले भने, ‘मुटु दह्रो बनाउनुपर्छ ।’


उनले क्यानोइङ हेरेर मजा लिएको बताए । चितवनबाट आएका इशान श्रेष्ठका अनुसार सुरुमा क्यानोइङ गर्दा निकै डर लाग्छ । तर, पानीसँगै झर्दा मज्जा लाग्छ । उनी क्यानोइङ खेल्न र फोटो खिच्न बेंसीसहरको उदिपुरस्थित गाईखुरे छहरामा आएका हुन् । ‘धेरै ठाउँमा क्यानोइङ खेलेको छु । यहाँको मज्जा छुट्टै छ,’ उनले भने, ‘सरकारी तवरबाटै प्रचार हुन सके यस्ता ठाउँको विकासमा सहयोग पुग्थ्यो ।’ क्यानोइङ गर्न प्रत्येकले ३ हजार रुपैयाँ तिरे ।


बेंसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले गाईखुरे झरनामा क्यानोइङ प्रवर्द्धनका लागि साढे ६ करोड रुपैयाँ लाग्ने लागत अनुमानसहित डीपीआर तयार पारेको बताए । ‘हामीले बाह्रै महिना क्यानोइङ गर्न मिल्ने बनाउन लागेका छौं । यसका लागि मर्स्याङ्दीको पानीलाई मोटर मार्फत तान्ने योजना छ’ उनले भने ।


छिटै टेन्डर आह्वान गरी कार्यक्रम अघि बढाइने उनले बताए । उनका अनुसार जिल्लामा क्यानोइङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङलगायतका साहसिक खेल आयोजना गर्ने धेरै ठाउँ छन् । ‘हामीले गाईखुरे झरनाको प्रवर्द्धनात्मक कार्यक्रमको सुरुआत गरेका छौं । अब यस ठाउँलाई पर्यटन हबको रूपमा विकास गरिनेछ,’ उनले भने ।


तीन वर्षअघि पर्यटन व्यवसायीको सक्रियतामा क्यानोइङ भएको थियो । त्यसयता हरेक वर्ष क्यानोइङ हुँदै आएको छहरामा यस पटक शुक्रबार र शनिबार प्रथम क्यानोइङ महोत्सवको आयोजना गरियो ।


बुङ छहरामा पर्यटकको आकर्षण

जब हिउँद सकिएर बर्खा लाग्छ, मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेबाट पारिपट्टिको बुङ छहराले झरनाको रूप लिन्छ । हिउँदमा केही सानो गरी बग्ने छहरामा हरेक दिन देखिने इन्द्रेणीले पर्यटक लोभ्याउने गर्छ । मर्स्याङ्दी–५ घेर्मुमा पर्ने छहरा नजिकै पुगेर अन्नपूर्ण पदमार्गमा हिँड्ने पर्यटक अडिन्छन् । फोटो र सेल्फी खिचेर रमाउँछन् ।


स्थानीय होटल व्यवसायी बाबुराम तामाङका अनुसार पदमार्गमा हिँड्ने र सवारी साधनबाट आवतजावत गर्ने सबैले छहरा नजिकै झरेर फोटो नखिची गन्तव्यमा जाँदैनन् । ‘पर्यटकीय सिजनमा ३ सय पर्यटक हिँड्छन् । सवै यहाँ झरेर फोटो खिच्छन् र जान्छन्,’ उनले भने, ‘यही कारण मैले होटल सञ्चालन गरें ।’


मर्स्याङ्दी–४ का अध्यक्ष सुमन गुरुङका अनुसार बुङ छहराले वारिपट्टिको पर्यटन प्रवर्द्धनसमेत गरेको छ । छहरानजिकै होटल व्यवसाय सञ्चालन गर्ने बढेका छन् । पदमार्गका कतिपय जोखिम ठाउँ पार गरेका पर्यटकले छहरामा आएपछि आनन्दको सास लिने वडा ५ का अध्यक्ष लेखमान गुरुङले बताए । उनका अनुसार छहराले मात्रै नभएर नजिकैका पहरामा भीर मौरीका गोलाहरू छन् । यसले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।


गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पर्यटक लोभ्याउने धेरै झरनामध्ये बुङ एक रहेको बताए । ‘चक्रीय अन्नपूर्ण पदमार्गको वरपर धेरै छहरा छन् । यस्ता झरनाले यहाँको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याएको छ,’ उनले भने, ‘अब झरना हेर्ने मात्रै होइन, झरना वरपर पर्यटकीय संरचना बनाएर पर्यटकलाई टिकाउन आवश्यक छ ।’

प्रकाशित : भाद्र ८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?