कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक र पैदलमार्ग असुरक्षित

हरिराम उप्रेती

गोरखा — बर्खे भेलले पैदलमार्ग ठाउँ–ठाउँमा भासिएको छ । लापुकी निरमायाँ गुरुङ घुमाउरो बाटोको प्रयोगबाट पहिरो छल्दै सोती पुगिन् । भन्छिन, ‘बाटोको अवस्था देख्दा अत्यास लाग्छ, हिँड्नै पर्ने काम, सधैं दुःख पाइने भयो ।’ 

सडक र पैदलमार्ग असुरक्षित

धार्चे गाउँपालिका–७ भिरकुनास्थित फुन्क्यु खोलामा साताअघि गएको पहिरोले सडक भासिएको छ । ‘सबैभन्दा गाह्रो फुन्क्यु खोलामा छ,’ उनले भनिन्, ‘वैकल्पिक बाटो पनि सारै अप्ठेरो, हात नटेकी पार गर्न गाह्रो छ ।’ फुन्क्युले झन्डै १५ मिटर सडक बगाएको छ । धार्चे र चुमनुब्री गाउँपालिकावासी उक्त मार्ग भएर आउजाउ गर्छन् ।


साउन अन्तिम साता मध्यरातमा खसेको पहिरोले सडकसँगै खानेपानीको पाइप बगाएको स्थानीय व्यापारी पालमाया गुरुङले बताइन् । ‘ठूलो आवाज आयो, झिसमिसे उज्यालोमा हेर्न जाँदा ठूलो पहिरो गएको रहेछ,’ उनले भनिन्, ‘खानेपानीको पाइप पनि बगाएको छ, अहिले खोलाको पानी प्रयोग गरेका छौँ, हिँड्ने मान्छेले तलको बाटो प्रयोग गरेका छन् ।’ मनास्लु पदमार्गअन्तर्गतको आर्खेतदेखि माछाखोलासम्म ठाउँठाउँमा पहिरो खसेको छ ।


आरुघाट गाउँपालिकाको सोतीबाट धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म गत पुसबाट सवारी चल्न सुरु भएको थियो । बर्खा लागेसँगै सवारी आवागमन ठप्प छ । पहिरो अघि सोतीका सवारी तलमाथि जान सकेका छैनन् ।


‘तल जाने ठाउँ पनि छैन, माथि जानै कुरै आएन, गाडी सोतीमै रोकिएको एक साता भयो,’ मंगलटारका कितृमान थापामगरले भने, ‘सडक विभागले हेरेन, अब टुरिस्ट आउने सिजन, बाटो अत्यावश्यक छ ।’ जमुना खोलामा गएको पहिरोले आर्खेतबाट सवारी अघि बढ्न नसकेको उनले बताए । ‘ग्याबिन जाली पनि बगायो, सडक आधा जति भासियो, फेरि माटो कमजोर भएको छ, बलजफ्ती गर्ने कुरो पनि रहेन,’ सवारी चालक मगरले भने । यात्राको क्रममा भीरबाट ढुङ्गा खस्ने डर उस्तै रहेको खोर्लाका आशबहादुर सुनारले सुनाए । ‘कतिखेर पहिरो जान्छ पत्तो छैन,’ उनले भने, ‘ढुङ्गा खस्छ कि भीरमा हेर्दै कुद्ने हो ।’


मनास्लु पैदलमार्गको केही ठाउँमा बाटो सुधारको आवश्यकता देखिएको खच्चड व्यवसायी रविन आलेमगरले बताए । बाटो अप्ठारो हुँदा ५ दिनको पैदलयात्रामा पुगिने सामागाउँ पुग्न ७–८ दिनसम्म लाग्ने उनले गुनासो गरे ।


बर्खाको समयमा जोखिम मोलेरै यात्रा गर्ने बाध्यता रहेको अर्का खच्चड व्यवसायी मुक्त मगर बताउँछन् । ‘टुरिस्टको सिजन सुरु भइसक्यो, अप्ठ्यारो ठाउँमा मर्मत थालिहाल्नुपर्छ,’ उनले भने । आर्खेत सोती सडक अवरुद्घ हुँदा उत्तरी गोरखामा दैनिक उपभोग्य सामग्री खरिदमा पनि समस्या परेको छ ।


बर्खाअघि माछाखोलासम्म सवारीमा लगेको उपभोग्य सामग्री खच्चडमा बोकाएर उत्तरी गोरखा ढुवानी हुँदै आएको थियो । अहिले आर्खेतबाटै खच्चडमा बोकाएर लैजाँदा दूरी बढेको स्थानीयको गुनासो छ । सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘बाढीले केही समस्या बनायो, सडकका प्राविधिक गएर स्थलगत निरीक्षण गरिसकेका छन्,’ उनले भने, ‘गाउँपालिका अध्यक्षसँग समन्वय गरेर बाटो खुलाउने प्रयास हुँदै छ ।’


राङरुङ–बारपाक सडक खण्डका ठाउँ/ठाउँमा पहिरो खसे पनि जोखिम मोलेर सवारी आउजाउ गरिरहेका छन् ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?