२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जोसिला कृषक

प्रतीक्षा काफ्ले

गण्डकी — उमेरले ४६ वर्ष पुगे । कृषि उनको पेसा । कुखुरा पोल्ट्री फार्ममा लामो समयसम्म काम गरेका उनी आफ्नै व्यवसायमा लागेको २ वर्ष भयो । 

जोसिला कृषक

व्यावसायिक रूपमा बाख्रा र कुखुराको फार्म खोलेका पोखरा महानगरपालिका–३१ का विष्णुप्रसाद बास्तोलामा कृषि काम गर्ने छुट्टै जोस छ । कृषिमै ठूलो सपना देखेका उनले ०७५ वैशाखदेखि खर्का बाख्रा फार्म दर्ता गरी सञ्चालनमा ल्याएका छन् । १०५ बाख्रा छन् । ६० लाख रुपैयाँ लगानी गरेका उनले ६० माउबाख्रा, सानाठूला गरी २५ वटा वोका, पाठापाठी २० वटा रहेको बताए । भन्छन्, ‘देशकै नमुना फार्मको कृषक बन्ने रहर छ ।’


फार्मभित्र बाख्रालाई डोरी लगाएर राखिँदैन । वनभित्र घाँस एकै दिन हुँडलिन्छ भनेर चराउनसमेत लैजाँदैनन् । ‘घाँस काटेर ल्याउँछौं र खुवाउने हो,’ उनले भने, ‘यो ठाउँमा व्यावसायिक रूपमा फार्म चलाउने कोही छैनन् । गाउँका मान्छे बजार झरिसके । जसको घाँस काटे पनि हुन्छ । खरबारी जंगल परेको छ ।’ बाख्राको लागि घाँस किन्नु नपर्ने उनले बताए । उनकोमा खरि, जमुना, रेड र पियोर बोयर जातका बाख्रा छन् । बोयर जातका ३२ बोका अस्ट्रेलियाबाट ल्याएका हुन ।


बोयर बोकालाई ५० प्रतिशत लोकलसँग क्रस गराएर उत्पादन गर्छन् । जिउँदो बाख्राको किलोलाई हेरेर बिक्री गरिने उनले बताए । उनका अनुसार ५० प्रतिशत क्रसलाई १ हजार, ७५ प्रतिशत क्रसलाई १५ सयमा बिक्री हुन्छ । पियोर बोयरको पाठापाठीलाई भने बिक्री नगरी घरमा नै उत्पादनका लागि प्रयोग गरिएको उनको भनाइ छ ।


बाख्रा खरिद, फार्म निर्माण, मेसिन औजार खरिदका लागि खर्का फार्मलाई प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १० लाख रुपैयाँ अनुदान दिएको छ । बाख्राले ९० प्रतिशत घाँस खान्छन् । मकै, भट्ट, पिना र कहिलेकाहीं तयारी दाना डेढ सय ग्रामको दरले खुवाउने गरेको उनको भनाइ छ । सुपर नेपिएर, राई खनियो, जै घाँस, पाखुरी, काउरो, सुमी, बकाइनो, कटुस र ठेट्ने जातका घाँस खुवाइन्छ ।


बाख्रा बेचेर साढे १४ लाख रुपैयाँ आम्दानी गरेको बताउँदै उनले भने, ‘बाख्राबाट आम्दानी गर्ने बेला आइसकेको छैन् । साना पाठापाठी बेचेको छु । जति उत्पादन बढाउन सकिन्छ त्यति नै फाइदा हुँदै आउने हो ।’ फार्मबाट ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ०४८ सालमा एसएलसी पास गरेका बास्तोलाले ०५१ सालमा ब्याचलर गरेका थिए ।


रोजगारीको सिलसिलामा धेरै भौतारिएपछि पासपोर्ट बनाए । दुवई जान भिसा लगाएका उनी एकाएक फेरिएर कृषिमा हात हालेको अनुभव सुनाए । ‘पढेर पनि रोजगारी पाउँथे भने अहिले म कृषक हुने नै थिइनँ’ उनी भन्छन्, ‘विदेश गएर पनि दुःख गर्नुपर्छ बरु त्यही मेहनत मेरै ठाउँमा गर्छु भनेर जान मन लागेन । एक वर्ष विद्यालयमा पढाए पनि । अरूको पोल्ट्री फार्ममा ११ वर्ष काम गरें ।’


यसो त उनकोमा २७ सय बोइलर कुखुरा छन् । खोरसहित २२ लाख रुपैयाँ लगानी गरेका उनी कुखुरा बेचेरै १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उनको परिवारमा आमा, श्रीमती र छोराछोरी छन् ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?