बेनी–दरबाङ सडकमा प्रगति न्यून

घनश्याम खड्का

म्याग्दी — बेनीदेखि पश्चिम मंगला गाउँपालिका केन्द्र बाबियाचौर, मालिका गाउँपालिका केन्द्र दरबाङ जोड्ने बेनी–दुखुखोलासम्मको १९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुस्त छ । 

योजना नियमन गर्ने निकाय जिल्ला प्राविधिक कार्यालयका अनुसार ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नुपर्ने योजनाको साउन मसान्तसम्म भौतिक प्रगति ३६ प्रतिशत मात्र छ । ७ मिटर चौडा ग्राभेड सडकलाई ९ मिटर चौडाई बनाई ग्राभिटी स्तरको पिच गर्न लागिएको हो ।

काठमाडौंको लामा समान्तर जेभीले ०७४ असोज ४ गते ३० महिनाभित्र बेनी–दरबाङ सडक कालोपत्रे योजना सम्पन्न गर्ने गरी ४५ करोड ५३ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकदार कम्पनीले हालसम्म ५ करोड ८० लाख पेस्कीबाहेक १२ करोड ९९ लाख ३४ हजार रुपैयाँ भुक्तानी लगेको छ ।

‘सडक कालोपत्रे गर्ने तयारी कता हो कता सडक चाक्लो पार्ने, ड्रेन बनाउने समेतका काम नै भएको छैन । ठेकदार कम्पनीलाई हामीले पटक–पटक मौखिक, लिखित ताकेता गर्‍यौं तर अटेर गरेका छन,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुंगानाले भने, ‘हिउँदभरी ड्रेन समेतका काम गर्न सके ६ महिना म्याद थपेर पनि पीच गराउन सकिन्थ्यो ।’

प्राविधिक कार्यालयले भने ०७७ असार मसान्त भित्र योजना सम्पन्न गर्ने गरी योजनाकालागि थप बजेट निकासा मागेको जनाएको छ । ४५ करोड ५३ लाख ठेक्का रकम मध्य ठेकदारले लगेको मोबिलाइजेसन समेत १९ लाख बाहेक कामको भुक्तानी गर्न आवश्यक पर्ने २३ लाख बढी रकम निकासा गर्न प्रदेश मन्त्रालय मार्फत संघीय सडक विभागमा लेखिपठाएको कार्यालयले जनाएको छ ।

संघीय सरकारको सडक विभागले ठेक्का लगाएको योजनाको बजेट पनि उसैले ब्यवस्था गर्ने नीति अनुसार प्रदेश मातहतको कार्यालयले हेरिरहेको योजनाको बजेट संघीय सरकारलाई मागिएको हो । साविकको सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो योजना कार्यालय समायोजन भै प्रदेश मातहतको जिल्ला प्राविधिक कार्यालयमा सारिएकोहो । कार्यालय समायोजन प्रकृया र कस्ले हेर्ने अन्यौलले गर्दा ठेकदारले ६ महिनासम्म काम गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा सम्पर्क गर्न कार्यालयले उपलब्ध गराएको ठेकदार दयाराम थापा र सडकको साइट हेर्ने म्यानेजर गोविन्द भुषाल दुवैले फोन रिसिभ गरेनन् । ठेकदार थापाले फोन पटक–पटक काटे भने म्यानेजर भुषालले घन्टी गएपछि स्वीच अफ गरे ।

त्यसैबीच बेनी–दरवाङ २४ किमी सडकमध्ये बाँकी दुखुखोला–दरवाङ ६.८ किलोमिटर खण्ड गण्डकी प्रदेश सरकारको सहयोगमा कालोपत्रे गर्न काम सुरु भएको छ । २२ करोड लागतमा सडक कालोपत्रे गर्ने काम बिहीबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले साउन ३० गते संयुक्त शिलन्यास गरे ।

विरुवा क्याराभान कन्स्ट्रक्सनले २४ महिना भित्र नाली सहित ७ मिटर चौडा सडकमा कालोपत्रे गर्ने ठेक्का लिएको हो ।‘गाउँपालिका केन्द्रसम्म सडक पीच गर्न सीमा क्षेत्रबाट सुचारु गरेका छौं । दुई वर्षभित्र ७ मिटर पीच सहित नाली र ड्रेनसहितको पक्की सडक जोड्छौं,’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुलेभनिन, ‘सडकमा काम गर्ने कुनै अवरोध नल्याउन गाउँपालिकाले पुरै सहयोग गर्छौं ।’

०५४ देखी साविक जल्ला विकास समिति, गाविसको लागतमा निर्माण सुरु गरिएको उक्त सडक एसियाली विकास बैंकको रिण सहयोगमा कृषि सडक विभागद्वारा सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम र सडक डिभिजन कार्यालय बागलुङबाट ग्राभेलस्तरमा निर्माण गरेको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

हिलाम्मे सडक, जोखिमको यात्रा

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडको बेनी–घाँसा ४० किमि खण्डमा जोखिम मोलेर सवारी सञ्चालन हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ । सडकको दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधन घन्टौं फस्छन् ।

सवारी यात्राभन्दा पैदल यात्रा छिटो र सहज हुन्छ । मनसुनले गर्दा सडक झन् जोखिमपूर्ण भएको छ । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ ।

हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ । ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी परेको ७६ किमि सडक छिचोल्न ठूला बसलाई ७ घण्टासम्म लाग्छ । फोर ह्वील साना गाडीलाई पनि ४ घण्टासम्म लाग्छ ।

सडक खण्डको बेगखोलामा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ । बेगखोलामाथि भएको बेलीब्रिज तीन वर्षअघि बाढीले बगाएपछि जोखिम मोलेर सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । बलपूर्वक खोलामा हाल्दा मोटरसाइकल र ट्याक्सी बग्ने गरेका छन् ।

बेनी–जोमसोम सडक स्तरोन्नति गर्ने काम भइरहे पनि सडक विभागले बेगखोलामा कस्तो प्रकारको पुल बनाउने भन्ने डिजाइनै बनाउन सकेको छैन । ‘सडक निर्माणक्रममै भएकोले केही समस्या आएको हो । नाली खन्ने र भित्तामा सपोटिङ वाल उठाउन बाँकी भएकाले सडक हिलाम्मे हुनु स्वाभाविक हो,’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले भने, ‘पहिरोग्रस्त क्षेत्रमा छुट्टै डोजर परिचालन गरेका छौं । यो वर्ष पानी कम परेकाले पूरै बर्खा यातायात अवरुद्ध भएन, हिलाम्मे भए पनि सडकमा सवारी चलेका छन् ।’

बेनी–घाँसा खण्डको चमेरे, बैंसरी, तिप्ल्याङ, महभीर, गुईठे, काप्रे र बाँदरजुँगभीरमा सडक बढी हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्तो डोजरले खनेर छोडेकोले माथिबाट जंगलसहित खसेको सडक हिलाम्मे भएको हो । केही स्थानमा भित्ता काटेर निक्लेको माटो अव्यवस्थित तरिकाले डिलमुनि फालेकोले पहिरो बनेर बग्दा समस्या बनेको हो ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्