१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बेनी–दरबाङ सडकमा प्रगति न्यून

घनश्याम खड्का

म्याग्दी — बेनीदेखि पश्चिम मंगला गाउँपालिका केन्द्र बाबियाचौर, मालिका गाउँपालिका केन्द्र दरबाङ जोड्ने बेनी–दुखुखोलासम्मको १९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुस्त छ । 

योजना नियमन गर्ने निकाय जिल्ला प्राविधिक कार्यालयका अनुसार ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नुपर्ने योजनाको साउन मसान्तसम्म भौतिक प्रगति ३६ प्रतिशत मात्र छ । ७ मिटर चौडा ग्राभेड सडकलाई ९ मिटर चौडाई बनाई ग्राभिटी स्तरको पिच गर्न लागिएको हो ।


काठमाडौंको लामा समान्तर जेभीले ०७४ असोज ४ गते ३० महिनाभित्र बेनी–दरबाङ सडक कालोपत्रे योजना सम्पन्न गर्ने गरी ४५ करोड ५३ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकदार कम्पनीले हालसम्म ५ करोड ८० लाख पेस्कीबाहेक १२ करोड ९९ लाख ३४ हजार रुपैयाँ भुक्तानी लगेको छ ।


‘सडक कालोपत्रे गर्ने तयारी कता हो कता सडक चाक्लो पार्ने, ड्रेन बनाउने समेतका काम नै भएको छैन । ठेकदार कम्पनीलाई हामीले पटक–पटक मौखिक, लिखित ताकेता गर्‍यौं तर अटेर गरेका छन,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुंगानाले भने, ‘हिउँदभरी ड्रेन समेतका काम गर्न सके ६ महिना म्याद थपेर पनि पीच गराउन सकिन्थ्यो ।’


प्राविधिक कार्यालयले भने ०७७ असार मसान्त भित्र योजना सम्पन्न गर्ने गरी योजनाकालागि थप बजेट निकासा मागेको जनाएको छ । ४५ करोड ५३ लाख ठेक्का रकम मध्य ठेकदारले लगेको मोबिलाइजेसन समेत १९ लाख बाहेक कामको भुक्तानी गर्न आवश्यक पर्ने २३ लाख बढी रकम निकासा गर्न प्रदेश मन्त्रालय मार्फत संघीय सडक विभागमा लेखिपठाएको कार्यालयले जनाएको छ ।


संघीय सरकारको सडक विभागले ठेक्का लगाएको योजनाको बजेट पनि उसैले ब्यवस्था गर्ने नीति अनुसार प्रदेश मातहतको कार्यालयले हेरिरहेको योजनाको बजेट संघीय सरकारलाई मागिएको हो । साविकको सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो योजना कार्यालय समायोजन भै प्रदेश मातहतको जिल्ला प्राविधिक कार्यालयमा सारिएको हो । कार्यालय समायोजन प्रकृया र कस्ले हेर्ने अन्यौलले गर्दा ठेकदारले ६ महिनासम्म काम गर्न नपाएको गुनासो गर्दै आएका छन् ।


सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा सम्पर्क गर्न कार्यालयले उपलब्ध गराएको ठेकदार दयाराम थापा र सडकको साइट हेर्ने म्यानेजर गोविन्द भुषाल दुवैले फोन रिसिभ गरेनन् । ठेकदार थापाले फोन पटक–पटक काटे भने म्यानेजर भुषालले घन्टी गएपछि स्वीच अफ गरे ।


त्यसैबीच बेनी–दरवाङ २४ किमी सडकमध्ये बाँकी दुखुखोला–दरवाङ ६.८ किलोमिटर खण्ड गण्डकी प्रदेश सरकारको सहयोगमा कालोपत्रे गर्न काम सुरु भएको छ । २२ करोड लागतमा सडक कालोपत्रे गर्ने काम बिहीबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले साउन ३० गते संयुक्त शिलन्यास गरे ।


विरुवा क्याराभान कन्स्ट्रक्सनले २४ महिना भित्र नाली सहित ७ मिटर चौडा सडकमा कालोपत्रे गर्ने ठेक्का लिएको हो । ‘गाउँपालिका केन्द्रसम्म सडक पीच गर्न सीमा क्षेत्रबाट सुचारु गरेका छौं । दुई वर्षभित्र ७ मिटर पीच सहित नाली र ड्रेनसहितको पक्की सडक जोड्छौं,’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘सडकमा काम गर्ने कुनै अवरोध नल्याउन गाउँपालिकाले पुरै सहयोग गर्छौं ।’


०५४ देखी साविक जल्ला विकास समिति, गाविसको लागतमा निर्माण सुरु गरिएको उक्त सडक एसियाली विकास बैंकको रिण सहयोगमा कृषि सडक विभागद्वारा सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम र सडक डिभिजन कार्यालय बागलुङबाट ग्राभेलस्तरमा निर्माण गरेको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?